काठमाडौं । गायक तथा संगीतकार भविन ढुंगानाको ‘भविन ढुंगाना लाइभ इन कन्सर्ट’ सम्पन्न भएको छ । शनिबार काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा उनले करिब तीन घण्टा प्रस्तुति दिए ।
शास्त्रीय संगीतमा प्रशिक्षित ढुंगानाले कार्यक्रममा पूर्वीय शास्त्रीय, अर्धशास्त्रीय तथा समसामयिक फ्युजन विधाका गीतसंगीत प्रस्तुत गरेका थिए । उनले ‘आफ्नो माटो’, ‘टाढा नजाऊ’, ‘कुसुम जसले छाड्दै’, ‘रङ्गाएर प्रीतका पाना’, ‘बिहान ब्युँझेको’, ‘यो जिन्दगी’, ‘पुतलीका हुलहरू’ र ‘रक्तिम अधर तिम्रो’ लगायतका गीत सुनाए।
आफ्ना सिर्जनासँगै नेपाली संगीतका अग्रज गायक तथा गायिकाका लोकप्रिय गीतहरूलाई समेत उनले आफ्नो प्रस्तुतिमा समेटेका थिए ।
नेपाली संगीत क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय ढुंगाना गायक, संगीतकार तथा गायन प्रशिक्षकका रूपमा परिचित छन् ।
उनी नेपाली तारा सिजन १ का उत्कृष्ट प्रतिस्पर्धीसमेत हुन् । साथै, उनले ‘द भ्वाइस अफ नेपाल’ मा पहिलोदेखि तेस्रो सिजनसम्म गायन सल्लाहकारका रूपमा काम गरेका थिए ।
प्रतिक्रिया 4