
३० भदौ, काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी लगानीको हिमालय एयरलाइन्सले अब अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी)सहित सेवा थालेको छ । कम्पनीका अनुसार अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक जीवनदायी मेसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदय गति सुचारु राख्न मद्दत गर्छ । यस्तो मेसिनसहित सेवा थाल्ने नेपालको एक मात्र कम्पनी बनेको हिमालय एयरलाइन्सको दावी छ ।
नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सका सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा यो मेसिन राखिएको हो । कम्पनीको सेवालाई सुरक्षित, विश्वसनीय र आरामदायी बनाउन यो मेसिन सहयोगी हुने बताएको छ । अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितव्य वा कुनै यात्रुमा श्वासप्रश्वास बन्द हुने वा हृदय गति बन्द हुने जटिल समस्या आउँदा पनि निदान गरी बचाउन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यात्रुको हृदय गति बन्द भए, नाडी बन्द भए वा सास फेन नसके मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दबाव दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनःकायम गराउन सकिने बताइएको छ । विगत केही सातादेखि हिमालय एयरलाइन्सका सबै उडान कर्मचारीलाई यो मेसिनको प्रयोगबारे तालिम दिइएको छ ।
उडानमा रहेका बेला यात्रुको हृदयगति बन्द हुने समस्या आएमा बिरामीको उपचारका लागि जहाज नजिकको विमानस्थलमा आकस्मिक अवतरण गराउनु पर्ने हुन्छ । कम्पनीले यस्ता मेसिन आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ग्राउण्ड ह्याण्डलिङ्ग कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको बताएको छ ।
प्रतिक्रिया 4