
२६ पुस, तनहुँ । व्यास नगरपालिका–५ स्थित मानहुँकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आए पनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिए ।
नगरपालिकाले निजी साझेदारी अवधारणाअनुरुप विभिन्न किसिमका संस्था तथा व्यक्तिसँग लगानी, विकास र यसका सम्भावना चयन गर्ने गरी काम गर्ने सम्बन्धमा गतवर्ष नै निर्णय भएको तर, यही कम्पनीलाई दिने भन्ने निर्णय नभएको उनले बताए ।
नगरपालिकाले छ महिनाभित्र प्रस्ताव पेश गर्न लगानीकर्तालाई आग्रह मात्रै गरेको हो । उनले भने, ‘मानहुँकोटको पूर्वपट्टीको जग्गा व्यास हिल्सले खरिद गर्न पहल मात्रै गरेको हो ।’ उक्त जग्गाको लागि चार अर्ब प्रस्ताव पेश गरेको बताउँदै नगरपालिकाको तर्फबाट के कति दिने भन्नेबारे कुनै घोषणा र निर्णय नगरिएको उनले बताए ।
योजना आयोगका पूर्वउपाध्यक्ष, कम्पनी ऐनका विशेषज्ञसहितको टोली खटाएर अहिले मानहुँ क्षेत्रको अध्ययन गरिरहेको नगरपालिकाले जनाएको छ । ओइलेनी जग्गा नेपाल सरकारको स्वीकृतिबिना नगरपालिकाले मात्रै दिन नमिल्ने हुँदा अध्ययन गरेर नगरपालिकाको हित कसरी हुन्छ त्यसको बारेमा अध्ययन गर्ने कार्य भइरहेको नगरप्रमुख न्यौपानेले बताए ।
सम्बन्धित लगानीकर्तालाई प्रस्ताव पेश गर्न अनुरोध गरिएको छ । उक्त प्रस्ताव प्रस्तुत गर्ने अवशरमा पत्रकार, सरोकारवाला निकाय सबैलाई बोलाएर सार्वजनिक गराइने छ । उनले भने, ‘यस विषयमा नगरपालिकाको कुन कम्पनी या व्यक्तिलाई दिने भन्ने बारेमा कुनै निर्णय भएको छैन् ।’ यदि कानूनले बाधा पुग्दैन भने मानहुँको विकास परियोजनामा लगानीकर्ताका रुपमा व्यास हिल्सले उक्त स्थानको वातावरण अध्ययन गर्ने कार्य गरिरहेको हुँदा उक्त कम्पनीले लगानी गर्न सक्ने उनले बताए ।
प्रतिक्रिया 4