१८ फागुन, काठमाडौं । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् ।
गत पुस २ गते व्यवस्थापनसमक्ष विभिन्न माग राखे पनि हालसम्म सम्बोधन नभएपछि आन्दोलित हुनु परेको कर्मचारीको भनाइ छ ।
प्राधिकरणको आधिकारिक ट्रेड युनियन नेपाल दूरसंचार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अगुवाइमा कर्मचारीहरू आन्दोलित भएका हुन् ।
माग सम्बोधनका विषयमा यही फागुन ५ गतेदेख पुन ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकोले यही फागुन १२ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिनु परेको युनियनका अध्यक्ष विजयकुमार राय यादवले जानकारी दिए ।
प्राधिकरणको सुदृढीकरण हुनुपर्ने, तत्काल जग्गा खरिद गरी आफ्नो भवन निर्माण प्रक्रिया अघि बढाउनु पर्ने, कटौती गरिएको कर्मचारी सेवा सुविधा निरन्तर हुनुपर्ने, दूरसंचार नियमावलीमा भएका व्यवस्था कार्यान्वयन गर्नुपर्नेलगायतका माग कर्मचारीका छन् ।
आन्दोलनअन्तर्गत हातमा कालोपट्टी बाँधेर अध्यक्षको कार्यकक्ष अगाडि धर्ना दिइरहेको युनियनले जनाएको छ ।
माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने युनियनको भनाइ छ । यही फागुन २० गते प्राधिकरणको २४ औं वार्षिकोत्सवसमेत छ ।
प्रतिक्रिया 4