+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
विल्सन विक्रम राईको दशैं सम्झना :

‘मामाघरमा सबैको अगाडि दक्षिणाको खाम खोलिदिन्थें’ 

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १४:३९

काठमाडौं । दशैं भन्ने बित्तिकै नयाँ लुगा र मीठो खाना त्यो पनि मासुको याद आइहाल्छ । कलाकार विल्सन विक्रम राईलाई हरेक वर्ष दशैं आउँदा बुबाले सानो हुँदा किनिदिने गरेको  लुगाको याद आउँछ ।

‘बाउला लामो भएको, अलि ठूलो साइजको पछिसम्मलाई पुग्छ भन्ने हिसाबले बुबाले लुगा किनिदिनु हुन्थ्यो,’ दर्शकमाझ ‘तम्मे बुढा’ उपनामले बढी चिनिने विल्सन सुनाउँछन्, ‘त्यो साइज पनि नमिल्ने लुगा लगाउँदा पनि खुसी हुने पल याद आउँछ ।’

पहिले पहिले स्कुलकै ड्रेस पनि हुने गरी बुबाले बहिनी र उनलाई दशैंको लुगा किनिदिन्थे । अलि पछि भने थानको कपडाको लुगा किनिदिने गरेको उनी सुनाउँछन् । ‘लुगा लगाएर चौतारा, चोकमा जाँदा सबैले अहिलेको फेसबुकमा फोटो हाल्दा आउने लाइक र कमेन्ट चोकमै आउँथ्यो,’ उनी सुनाउँछन् ।

उनको जन्मथलो झापा हो । त्यहाँ सबै जातजातिका मानिसहरुको मिश्रित बसोबास छ । सबैका चाडपर्व सबैले एक ढिक्का भएर मनाउने गरेको विल्सन सम्झिन्छन् । दशैंमा टीका लगाउन जाँदा पाइने दक्षिणाको लोभ त कसलाई नहोला र ? विल्सनको यसमा आफ्नै अनुभव छ । ‘मामाघर जाँदा दक्षिणा खाममा हाल्दिने गर्नुहुन्थ्यो, खाममा कति पैसा छ भनेर हेर्ने उत्सुकता हुन्थ्यो,’ उनी सुनाउँछन्, ‘आफ्नो खाम त हेर्ने, आमाबुबाको समेत खाम सबैको अगाडि खोलिदिन्थें जसले गर्दा पछि मामाघरमा खाममा दिन छाड्नुभयो ।’

दशैंको त्यो माहोल सम्झिंदा अहिले पनि उनको अनुहारमा मुस्कान आउँछ । स्कुलमा दशैंको लामो बिदा, पारिलो घाम, परदेशीहरु आउने जाने क्रम, किरातीहरुको दशैंअघि नै बंगुर र भैंसी काटेर मासु तयार गर्ने प्रचलन मीठो सम्झना बनेर उनको मानसपटलमा आउँछ ।

उनलाई तास खेल्न आउँनथ्यो, तर लंगुरबुर्जा भने खुब खेल्थे । ‘लंगुरबुर्जा जित्ने समयसम्म दंग पर्थें । मामाको छोराले खेलाउँथे, हारेपछि म आँगनमा लडीबुडी गर्दै रुन्थें । दाइले जितेको जितेको पैसा नदिएसम्म रोइरहन्थें,’ विल्सन भन्छन् ।

दशैंमा टीका लगाउँदा पाउने पैसा भन्दा पनि आफन्त वरपरको बीचमा डान्स गर्ने, हँसाउने गरेर पनि विल्सनले बढी पैसा कमाउँथे ।

‘दक्षिणाकै लागि दौडधुप खासै भएन । किनभने कसको घरमा कति दक्षिणा आउँछ भनेर पहिला नै फिक्स थियो,’ उनी सुनाउँछन्, ‘एकपटक त मलाई ठूलै मान्छेको दक्षिणा हात पर्‍यो झुक्किएर त्यो पनि ५५० रुपैयाँ । बल्ल बल्ल पाएको मैले फिर्ता दिइनँ । एकछिन हल्ला भयो, तर त्यो पैसा ममीको रिजर्भ बैंकमा गयो । मैले दिने भन्दा पनि पछिलाई चाहिन्छ भन्दै सबै पैसा खोस्नु हुन्थ्यो भनौन ।’

दशैंमा मामाघर जाँदाको क्षण अझ रोचक छ उनको । ‘मामाघर टाढा, बसमा मान्छे प्याक हुन्थे । आफू सानो ती मान्छे यता हल्लिंदा उता हल्लिदा टीकाजति मेरो अनुहारभरि हुन्थ्यो,’ बिर्सन नसक्ने पल भन्दै विल्सन भन्छन्, ‘मामाघर पुग्दा समेत निधारमा त छँदैछ, टाउकोभर नै अक्षता हुन्थ्यो ।’

आजभोलिको दशैं भने पहिलेको जस्तो लाग्दैन उनलाई । बच्चाबेलामा जस्तो अहिले मनमा दशैंको उल्लास नहुने विल्सन बताउँछन् ।

‘अहिले त बच्चाको बेलाको जस्तो दशैंको अनुभव नै छैन । बुबाले औंला समातेर हिंडाएको आमाले लुगा लगाइदिएको सबै याद आउँछ,’ उनी भन्छन्, ‘आमा सानैमा बित्नुभएको हुँदा हरेक दशैंमा याद आउँछ । अनि आफूले पैसा भएर आमालाई विभिन्न सामान किन्दिन मन लाग्छ । किन्दिन सक्छु, तर आमा हुनुहुन्न ।’

(मनिषा थापासँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?