
६ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले गरेको आयातमा नगद मार्जिन नचाहिने व्यवस्थाको स्वागत गरेको छ । आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउन पैरबी गर्दै आइरहेको भन्दै पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोप्रति स्वागत गरेको छ । यसले आगामी दिनमा अर्थतन्त्र चलायमान हुने विश्वास लिएको चेम्बरले बताएको छ ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र : अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष निजी क्षेत्रका विद्यमान समस्या र सुझावबारे चेम्बरबाट सुझाव प्रस्तुत भएको थियो । त्यस लगत्तै नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा नेपाल चेम्बर अफ कमर्सले आभार व्यक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकले चालु पूँजीकर्जा मार्गदर्शन २०७९ परिमार्जन गरी २०८२ असारसम्म पुर्याइएकोमा समेत नेपाल चेम्बर अफ कमर्सले स्वागत गरेको छ । चालु पूँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरुलाई ४० प्रतिशत नै कायम गर्न र र डबल डिजिटको आर्थिक विकास हासिल गर्न सिंगल डिजिटको ब्याजदर कायम हुनु पर्नेतर्फ पनि चेम्बरले विशेष आग्रह गरेको छ । तरलता व्यवस्थापनका लागि पूँजीगत खर्चमा वृद्धि तथा व्याजदर नियन्त्रण प्रभावकारी हुन सके अर्थतन्त्रले गति लिने अपेक्षा चेम्बरको छ ।
प्रतिक्रिया 4