+
+

स्थलमार्गबाट आउने विदेशी पर्यटकलाई एकद्वार सेवा उपलब्ध गराउन माग 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १४:०४

४ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्थलमार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको सहजताका लागि अन्तर मन्त्रालयबीच समन्वय कायम हुनुपर्ने बताएको छ । अन्तर मन्त्रालय बीच समन्वयको अभावमा नेपाल घुम्न आउने पर्यटकहरुले नेपाल–भारत सीमानाकामा दुःख पाएको भन्दै महासंघले अन्तर मन्त्रालय समन्वय गरी तत्काल समस्याको समाधान गर्ने आग्रह गरेको छ ।

बिहीबार काठमाडौंमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस्को ५४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभिन्न सरकारी निकायहरु बीच समन्वय नहुँदा भारतीय सीमानाकाबाट स्थलमार्गबाट आउने पर्यटकहरुले अनेक किसिमका झमेलाहरु झेल्नु परेको बताए ।

‘अर्थ, गृह र पर्यटन मन्त्रालयहरुबीच समन्वयको अभावमा समस्या परेको देखिन्छ । यो ठूलो समस्या होइन । यसलाई एक दुई दिन वा हप्ता दिन भित्रै समाधान गर्न सकिन्छ । म माननीय मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने यसको तत्काल समाधान गरियोस् । पर्यटकले दुख पाउँदा नराम्रो सन्देश जाने र नेपाल प्रति नकारात्मक धारणा बन्न सक्छ’ उनले भने ।

उनले हरेक प्रदेशमा ठूला र नमूना पर्यटकीय गन्तब्यहरु निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायसँग आग्रह गरे ।

काठमाडौंको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण प्रस्तुत गर्दै उनले यस्तै किसिमका पूर्वाधारहरु सात वटै प्रदेशमा निर्माण गर्न मात्र सके पनि अहिलेको पर्यटक बसाइलाई दोब्बर गर्न सकिने बताए ।

आफूले पनि सात वटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउन पर्छ भनेर अभियन्ताको रुपमा लागेको उनको भनाइ छ ।

उनले नेपाल–भारत सिमानाका नजिक रहेका नेपालका पहाडी गन्तब्यहरु भारतीय पर्यटकको रोजाइका नयाँ गन्तब्य बन्दै गएको बताउँदै सरकारले ती स्थानमा पर्यटन पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्ने बताए ।

कोभिड-१९ महामारीपछि थला परेको पर्यटन व्यवसाय पुनः लयमा आउन लागेको बताउँदै उनले भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलहरुको सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह समेत गरे ।

‘हामीकहाँ दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेका छैनन् । विभिन्न देश र शहरलाई हवाई यातायातमार्फत प्रत्यक्ष जोड्न सकेमा थप विदेशी पर्यटक पनि भित्र्याउन सकिन्छ । यसतर्फ सरकारले ध्यान दिन जरुरी छ’ उनले भने ।

उनले विश्वका धेरै देशहरुमा पर्यटकलाई धेरै भन्दा धेरै खर्च गराउन प्रोत्साहन गर्ने नीति रहेको बताउँदै नेपालमा भने पर्यटकले नगद रुपैयाँ ल्याउँदा अधिकतम सीमा निर्धारण गर्दा खर्च बढ्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?