 
																			२३ असार, काठमाडौं । विज्ञहरुले मानसिक स्वास्थ्यमा परामर्शकर्तालाई लाइसेन्सको व्यवस्था नभएकाले गलत अभ्यास भइरहेको बताएका छन् । नेपालमा मनोपरामर्शमा काम गर्नेहरूको परीक्षा लिने कुनै संयन्त्र नहुनु र उनीहरूको अभ्यास अनुगमन गर्ने प्रणाली पनि नहुनुले गलत अभ्यास भइरहेको विज्ञहरुको भनाइ छ ।
शनिबार ‘पब्लिक हेल्थ डिस्कसन ग्रुप नेपाल’ले आयोजना गरेको कार्यक्रममा मनोचिकित्सक तथा अनुसन्धानकर्ता ऋषभ कोइरालाले मानसिक समस्यामा रहेकाहरु उपचारका लागि सही ठाउँमा पुग्नका लागि मानसिक स्वासिथ्यमा पनि परामर्शकर्ताको लाइसेन्स आवश्यक पर्ने बताए ।
‘कोही समस्यामा परेर जसोतसो आँट गरेर विशेषज्ञकोमा पुगेको हुन्छ तर राम्रो सेवा पाएन भने दोस्रोचोटि उसले मद्दत लिन चाहँदैन । त्यसैले लाइसेन्स जरुरी छ । गलत ठाउँमा पुगेर समस्या बिग्रिएको र कहिलेकाहीं ज्यानको क्षति नै हुने उदाहरण पनि छन्’ उनले भने ।
मनोविद् विजय विजुक्छेले पनि लाइसेन्सको व्यवस्था एकदम जरुरी रहेको बताइन् । उनका अनुसार एकाध व्यक्ति वा संस्थाले राजनीतिक पहुँचले संस्था चलाइरहेका छन् । उनले भनिन्, ‘मानसिक स्वास्थ्य एकदम ठूलो र संवेदनशील क्षेत्र हो । सरकारलाई प्राइभेट सेक्टरसँग हातेमालो गर्न रोकेर कुनै एउटा ग्रुप वा एक दुई जनाले आफ्नो हातमा पार्न खोज्दा लाइसेन्समा जानुपर्ने प्रक्रियामा भइरहेको छैन ।’
उनले लाइसेन्स नहुँदा मनोपरामर्शको काम गर्नेहरुकव वैधानिकमा प्रश्न उठ्ने बताइन् । ‘मनोपरामर्श दिने मान्छे मनसँग खेल्नुपर्ने मान्छे हो । एउटा शब्दले मान्छे बाँच्छ भने मर्न पनि सक्छ । यस्तो संवदेनशील क्षेत्रमा काम गर्नुपर्ने मान्छेको किन अनुगमन छैन?,’ उनले प्रश्न गरिन् ।
बालबालिका तथा किशोरकिशोरी मनोरोग विशेषज्ञ अमित झाले नेपालमा नसर्ने रोगहरुको कारणमा १८ प्रतिशत मानसिक स्वास्थ्यको कारणले हुने बताए । उनकाअनुसार ५ जनामध्ये एक जना बालबालिकामा मानसिक समस्या देखिइरहेको छ ।
मनोचिकित्सक कोइरालाका अनुसार मानसिक स्वास्थ्य एउटाले मात्रै जिम्मा लिने कुरा होइन । उनले भने, ‘जनचेतना आवश्यक छ । यसमा सबैको साथ सहयोग चाहिन्छ । साथीभाइसँग कुरा गर्ने, जीवनशैलीको परिवर्तन, शिक्षकले विद्यार्थीलाई सिकाउने आदि गर्न सकिन्छ ।’
मनोविद बिजुक्छेले रुचिहरु परिवर्तन हुनु, धेरै रिस उठ्नु, रिस उठेको थाहा भए पनि म्यानेज गर्न नसक्नु, राति निद्रा नलाग्नु, बानी व्यहोरा परिवर्तन हुनु, रमाउने मान्छे एक्लो बस्ने, अरु आउँदा पनि दिक्क मान्नेलगायतका लक्षणहरु मानसिक समस्यासँग जोडिने बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4