
७ साउन, काठमाडौं । मौद्रिक नीति २०८०/८१ लाई सेयर बजारले न्यानो स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ । यो २.९२ प्रतिशतको वृद्धि हो ।
साताको पहिलो कारोबार दिन सबै उपसूचकहरु हरियो देखिए । सबैभन्दा धेरै बैक, विकास बैंक, व्यापार उपसूचकको मूल्य बढेको छ । आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ । यसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार किसान लघुवित्त, चन्द्रागिरि हिल्स, लिवेर्टी इनर्जी, स्वरोजगार लघुवित्तसहितका धितोपत्रको सकारात्मक सर्किट लेवलमा कारोबार भयो । ग्लोबल आईएमई बैंक, कालिञ्चोक दर्शन, विशाल बजार कम्पनी, प्रभु बैंकसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।
एनआईबीए ग्रोथ फण्डको मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ । नेपाल बैंक डिभेञ्चर, बीपीडब्लू लघुवित्तसहितका धितोपत्रका लगानीकर्ताले समेत धेरैले गुमाए । शिवम् सिमेन्ट, ज्योती विकास बैंक, ग्लोबल आईएमई बैंकसहितका धितोपत्रको धेरैले कारोबार भएको छ ।
प्रतिक्रिया 4