 
																			८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखिएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भारमा पुनरवलोकन गर्ने बताएको थियो ।
राष्ट्र बैंकको उक्त घोषणापछि २५ लाखभन्दा बढी सबै सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घट्ने विश्लेषणले गर्दा सेयर लगानीकर्ता उत्साहित भए । जोखिम भार घट्दा बैंकले सहज रुपमा ऋण दिने विश्लेषण लगानीकर्ताको थियो । जसले गर्दा आइतबार मौद्रिक नीतिपछि नेप्सेमा उच्च वृद्धि हुँदा ६३.२४ अंकले बढेर २२२७.१६ को बिन्दुमा बन्द भएको थियो । जुन नेप्सेको पछिल्लो ५२ साता यताकौ उच्च क्लोजिङ बिन्दु थियो ।
१७ माघ २०७९ मा २२११.७६ को बिन्दुमा बन्द भएको नेप्से पछिल्लो एक वर्षमा त्यसभन्दा माथि जान सकेको थिएन ।
तर, आइतबार नेप्से बन्द भएपछि नेपाल राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सबै सेयर धितो कर्जाको जोखिम भार घट्ने नभई ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार मात्रै १०० प्रतिशतमा झार्ने जानकारी दिएका थिए । ५० लाखभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार यथातव रहेको उनले बताए ।
सो जानकारी पाएपछि आइतबार उत्साहित भएका लगानीकर्तामा सोमबार उक्त उत्साह कायम रहेन । जसले गर्दा नेप्सेमा ४९.९७ अंकको उतारचढावका बीच २६.६६ अंकको गिरावट भएको छ ।
सोमबार नेप्सेमा गिरावटपछि नेप्से २२००.०५ को बिन्दुमा बन्द भएको छ । लगातार बढ्दो क्रममा रहेको वाणिज्य बैंकहरुको सेयर मूल्यमा नै उच्च गिरावट हुँदा सोमबार नेप्से पनि घटेको छ । वाणिज्य बैंकको बैंकिङ उपसूचक २ प्रतिशतले गिरावट भए पनि सोही समूहको ग्लोबल आईएमई बैंकको सेयरमूलय भने ३.६३ प्रतिशतले बढेको छ ।
सोमबार अन्य र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा विकास बैंक उपसूचक सर्वाधिक ३.५ प्रतिशत र व्यापार उपसूचक २.९२ प्रतिशतले गिरावट भएको छ । यता अन्य उपसूचक २.८७ प्रतिशतले वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक ०.९५ प्रतिशतले वृद्धि भएको हो ।
नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने करिब पौने ५ अर्ब पुगेको छ । लगातार बढेको बजारमा कतिपय लगानीकर्ताले नाफा बुक गरेको विश्लेषण गरिएको छ । सानो कर्जामा मात्रै जोखिम भार घटेको हुँदा बजारको वृद्धि दिगो नहुने विश्लेषणका आधारमा पनि लगानीकर्ताले शेयर बेचेको देखिन्छ। उतारचढावबीच नेप्सेमा कारोबार उच्च भएकाले सेयर खरिदकर्ता पनि सक्रिया रहेको देखिन्छ ।
सोमबार नेप्सेमा लगानीकर्ताको आकर्षण नेपाल पुनर्बीमा कम्पनीमा देखिएको छ । कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशतले वृद्धि भएको छ भने कारोबार रकम पनि सर्वाधिक २५ करोड ५७ लाखको कारोबार हुँदा ग्लोबल आईएमई बैंकको १९ करोड र प्रभु बैंकको १५ करोड २० लाखको कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल २१९ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १६३ कम्पनीको सेयरमूलयमा गिरावट हुँदा ५० कम्पनीकधो सेयरमूल्य बढेको छ । यस्तै ६ कम्पनीको सेयरमूलय स्थिर छ । सोमबार किसान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुादा सर्वाधिक रकमको सेयर किनबेच भएको नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ४.१० प्रतिशतले गिरावट भएको छ ।
एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य सर्वाधिक ६.९३ प्रतिशतले गिरावट हुँदा लिवर्टी इनर्जीको सेयरमूल्य ६.२५ प्रतिशत र विशाल बजार कम्पनीको सेयरमूल्य ५.३३ प्रतिशतले गिरावट भएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4