
१६ साउन, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकार गठनका लागि कुनै पनि दललाई सहयोग नगर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए ।
‘अहिले हामीलाई सत्ता प्राथमिकताको विषय छैन । हामीले कांग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन सुझाव दिएका छौं’ उनले भने, ‘ठूलो बहुमतले भोलिका दिनमा बाधा–अड्चन आउन दिनेछैन । विधेयक पारित गर्दा पनि सहज हुन्छ ।’
९३ सदस्यीय कोशी प्रदेशसभामा ठूलो दल एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक सांसद छन् । माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख छन् ।
केन्द्रमा बनेको सत्तारुढ गठबन्धन र विपक्षमा रहेको एमालेले सहज रुपमा बहुमत जुटाउन नसक्दा कोशीमा राजनीतिक अस्थिरता कायम छ । प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि दिएको समय मंगलबार साँझ ५ बजे सकिंदैछ । तर सत्तारुढ गठबन्धनले बहुमत जुटाउन सकेको छैन । राप्रपाले तत्काल सत्ता गठबन्धनलाई साथ दिन नसकिने प्रष्ट पारेको छ ।
अध्यक्ष लिङ्देनले संविधानको धारा १६८ (२) अनुसार सरकार बनाउन आफूहरुको समर्थन नहुने बताए ।
‘अहिले सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ मा घटनाक्रम चलिरहेको छ । यो श्रृंखला सोही धाराको उपधारा ५ सम्म पुग्ला । त्यहाँसम्म पुग्दा दलहरुले आफैं समाधान निकाल्लान् । त्यससम्म पनि समाधान ननिस्किंदा र हामी नै निर्णायक देखियौं भने पार्टीको बैठक बसेर निर्णय गर्नेछौं’ उनले भने ।
संवैधानिक व्यवस्था अनुसार धारा १६८ (२) अनुसार बहुमतको सरकार बन्न नसकेमा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछन् । उसले पनि विश्वासको मत लिन नसकेमा १६८ (५) अनुसारको सरकार बन्नेछ । जसमा बहुमत पुर्याउन सक्ने कुनै प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्ने व्यवस्था छ ।
प्रतिक्रिया 4