+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भदौ २९ देखि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १८:४४

२९ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्ति लगायतका माग राखेर २९ भदौमा अनशन बस्ने घोषणा गरेका छन् । सोमबारदेखि अनशन बस्ने घोषणा गरे पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले एक महिना अनशन स्थगित गरेको केसीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

उनले सीटीईभीटीले पछिल्लो समय निजी कलेजको फाइदाका लागि गरेको निर्णय खारेजी र चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्तिको माग गर्दै अनशन घोषणा गरेका हुन् ।

‘हाललाई सरकारले औपचारिक रुपमा प्रतिबद्धताहरु कार्यान्वयनका लागि समय मागेकाले हामीले आजका लागि घोषणा गरेको सत्याग्रह एक महिनाका लागि स्थगित गरेका छौं । उक्त समयमा प्रतिबद्धताअनुसार मागहरु पूरा भएर कार्यान्वयनमा नगएमा भदौ २९ गतेदेखि सत्याग्रह लगायत आन्दोलनका कडा कार्यक्रमहरु शुरु गर्ने पनि जानकारी गराउन चाहन्छौं’ केसीले भनेका छन् ।

केसीले पछिल्ला दिनमा नर्सिङ कलेजका विषयमा भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् । आफूहरुले देशमा सबै तहको स्वास्थ्य र चिकित्सा शिक्षा गुणस्तरीय, निःशुल्क वा सस्तो र सर्वसुलभ रहोस् र आम नेपालीले पाउने स्वास्थ्य सेवाको गुणस्तर बढ्दै जाओस् भन्ने चाहेको उनले प्रष्टीकरण दिएका छन् ।

‘त्यस क्रममा चिकित्सा शिक्षा ऐन जारी भएपछि सोही अनुसार चिकित्सा शिक्षा आयोगले नियमन गर्ने क्रममा विभिन्न कोर्सहरुमा सिट संख्या घटेको हुनसक्छ । त्यो अवस्थामा गर्नुपर्ने काम भनेको शिक्षण संस्थाहरुको गुणस्तर बढाउने, स्तरोन्नति गर्ने र आवश्यक संख्यामा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने हो’ केसीले भनेका छन् ।

तर त्यसो गर्नुको सट्टा सीटीईभीटीमा निजी कलेजका सञ्चालकलाई लैजाने, उनैको स्वार्थमा नीति–नियमको धज्जी उडाउने, निजीको स्वार्थ पूर्ति गर्न सरकारी संस्थाको समेत भर्ना रोक्ने, चिकित्सा शिक्षा आयोगको समन्वयमा नियमन दुरुस्त बनाउनुको सट्टा कानुनविपरीत निर्णयहरु गर्ने जस्ता गतिविधिका कारण स्वास्थ्य शिक्षामा भद्रगोल सिर्जना भएको केसीको दाबी छ ।

‘यसको निकास हाल कायम कानुनी व्यवस्था अनुसार गुणस्तर हुने गरी तथा देशको जनशक्तिको माग पूरा हुने गरी विभिन्न कोर्समा सिटहरु तोक्नेबाहेक केही हुन सक्दैन’ केसीले भनेका छन्, ‘कानुन नमिची र गुणस्तरमा सम्झौता नगरी अघि बढ्ने कुनै काममा हाम्रो कहिल्यै अवरोध छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?