
२१ भदौ, विराटनगर । स्थानीय तहको अन्तर्राष्ट्रिय सञ्जाल सिटिनेट नेपाल च्याप्टरको अध्यक्षमा विराटनगर महानगरपालिका चयन भएको छ ।
विराटनगरमा भएको नेपाल च्याप्टरको अधिवेशनबाट विराटनगर महानगरपालिकालाई अध्यक्ष चुनिएको हो । अधिवेशनबाट १३ सदस्य समिति गठन गरेको छ ।
नेपाल च्याप्टरको उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत्त नगरपालिका छन् ।
सदस्यहरूमा पोखरा, भरतपुर, ललितपुर महानगरपालिकासहित जितपुरसिमरा, हेटौंडा उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिका छन् । संस्थागत सदस्यहरूमा भूकम्प प्रविधि समाज नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक छन् ।
नयाँ कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ ।
विराटनगरमा भएको अधिवेशनले सदस्य पालिकाहरूको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहोर मैला व्यवस्थापन, दिगो विकास लक्ष्य २०३० र गुणस्तरीय विकास व्यवस्थापन र कार्यान्वयनमा हुने सहकार्य गर्ने निवर्तमान अध्यक्ष तथा हेटौडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।
विराटनगर भेलाले स्थानीय विपद् जोखिम न्यूनीकरण तालिम तथा अनुसन्धान केन्द्रको स्थापना गर्ने निर्णय पनि गरेको छ । अनुसन्धान केन्द्रका लागि हेटौंडा उपमहानगरपालिकाले जग्गा प्रदान गर्ने र सदस्य पालिकाहरुको सहकार्यमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
१६ वटा नगरपालिकाका प्रमुख तथा उपप्रमुख सहभागी भएको अधिवेशनले विधान पनि पारित गरेको छ । सिटिनेट अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्याप्टरमा २१ नगरपालिका संस्थागत सदस्यहरू छन् । २०५८ सालमा सिटीनेटको नेपाल च्याप्टर गठन भएको थियो ।
प्रतिक्रिया 4