
काठमाडौं । ठाडो भाकाका संरक्षक तथा प्रवर्द्धक देवीप्रसाद गुरुङको सोमबार निधन भएको छ । उनको निधनमा लोक गायन क्षेत्रका हस्तीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनको निधनमा ठाडो भाका संरक्षणमा क्षति पुगेको उनीहरुले उल्लेख गरेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले गुरुङको निधनबारे जानकारी दिंदै लमजुङको संस्कृतिको अभिन्न अंग रहेको ठाडो भाका संरक्षकको निधनले आफू स्तब्ध भएको बताएकी छन् ।
उनी लेख्छिन्, ‘स्वर्गीय गुरुङले लोक कला संस्कृतिको जगेनार्थ पुर्याउनुभएको अतुलनीय योगदान जुगजुग स्मरणीय रहनेछ ।’
गायक राजु परियारले गुरुङको निधनमा शोक व्यक्त गरेका छन् । आफ्नो सांगीतिक करिअरमा गुरुङको उच्च योगदान रहेको उल्लेख गर्दै परियार लेख्छन्, ‘आजको दिन मेरो लागि दुःखद् दिन । मलाई यो लोक संगीतको दुनियाँमा मेरो सानो कलिलो हात समाएर, डोर्याएर हिंडाएर आज मलाई यो स्थानसम्म ल्याइदिनुभयो । आजसम्म मैले लोक संगीतमा जे जति गरें त्यो सबै हजुरको कारणले गरें । आज हजुर यो दुनियाँबाट बिदा हुनु भएको खबर सुन्दा मलाई पत्याउन मुस्किल भइरहेको छ । तर पनि सत्य सत्य नै हो, हजुरले देखाउनुभएको मार्ग नछोडी हिंडिरहने छु गुरु ।’
गुरुङको निधनमा लोक गायन क्षेत्रका थुप्रै कलाकारले शोक व्यक्त गरिरहेका छन् ।
प्रतिक्रिया 4