 
																			१६ कात्तिक, गोरखा । बढी भाडा लिएको भन्दै स्थानीय युवाले गोरखा दरौदी यातायात कम्पनीको भच्चेकस्थित टिकट काउण्टरमा ताला लगाएका छन् ।
तोकिएको भन्दा बढी भाडा नलिन आग्रह गर्दा यातायात व्यवसायीले अभद्र व्यवहार गरेपछि ताला लगाइएको स्थानीय ठाकुर अम्गाईंले बताए ।
‘भच्चेकदेखि काठमाडौसम्म ८७० रुपैयाँ भाडा तिर्दै आएका थियौ, अस्ति एक हजारका दरले भाडा लिएछन्, टिकट काट्ने तर टिकटमा पैसा नलेख्ने गरेका थिए’, उनले भने, ‘किन यस्तो गरेको ? नियम अनुसार भाडा लिनुस् भन्दा हामीसँगै अभद्र व्यवहार गरेपछि काउण्टर बन्द गरिदिएका हौ ।’
प्रशासनले निर्धारण गरेको भाडादर कायम गर्न पटक पटक आग्रह गर्दा समेत यातायात व्यवसायीले अटेर गर्दै आएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले बताए ।
‘चाडवाडमा जे जसो भएपनि अव प्रशासनले तोकेको भाडा लिनुपर्छ भनेर पटक पटक भन्यौ, तर उल्टो हामीसँग आक्रामक हुनुभयो, बिहान स्थानीय युवाहरु मिलेर ताला लगाइदिनुभयो’, उनले भने । यस बिषयमा प्रहरी र प्रशासनसँग छलफल भइरहेको उनले जानकारी दिए ।
प्रालिका अध्यक्ष नारायण खत्रीले क्यू मा रहेको गाडीले बढी भाडा नलिएको बताए । ‘अस्ति क्यू को गाडी सकिएर एउटा एक्स्ट्रा गाडी पठाएका थियौ, त्यसले एक हजारका दरले भाडा लिएछ त्यही बिषयलाई लिएर सामान्य विवाद पनि भएको रहेछ, त्यही विषयलाई लिएर आज ताला लगाउनुभएछ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले यो विषयमा बुझ्न सदरमुकामबाट प्रहरी पठाएको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4