+
+

भिजिट भिसाको नाममा मानवतस्करी : २२ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा कारबाही हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते २०:१३
भिजिट भिसाको प्रतीकात्मक तस्वीर ।

१८ माघ, काठमाडौं । नक्कली कागजातका आधारमा युवालाई भिजिट भिसामा विभिन्न मुलुक पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा लागेका २२ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसूरमा पनि अनुसन्धान हुने भएको छ ।

प्रहरीले गरेको अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने बेला सरकारी वकिलले आरोपीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत पनि छानबिन अघि बढाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

अध्यागमन अधिकृत नरवीर खड्का लगायतका व्यक्तिहरु सरकारी कर्मचारी रहेको र उनीहरुले पदको दुरुपयोग गरी भ्रष्टाचार समेत गरेको भन्दै सरकारी वकिलको कार्यालयले फाइल अख्तियारमा पठाउन प्रहरीलाई निर्देशन दिएको जिल्ला न्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

उनीहरुले समिति नै बनाएर घुस संकलन गरी पछि बाँडफाँड गरेको भेटिएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

सरकारी वकिलको कार्यालयको निर्णयमा भनिएको छ, ‘समिति समेत गठन गरी मिलेमतो गरी आर्थिक लाभ लिई रकम बाँडफाँड गरी लिनु खानु गरेकाले सो सम्बन्धमा समेत आवश्यक अनुसन्धान हुनको लागि अख्तियारमा पठाउनू ।’

पक्राउ परेका मनोज तामाङको खातामा दुई वर्षको अवधिमा ४८ करोड २५ लाख रुपैयाँको कारोबार भएको देखिएको भन्दै सरकारी वकिलले उनी लगायत अरु संलग्नमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगमा समेत फाइल पठाउनुपर्ने सिफारिस गरेको छ ।

सरकारी वकिलले अध्यागमन अधिकृत नरवीर खड्काका साथै कुशल बराल, ताराबहादुर कुँवर, शैलेन्द्र ढकाल, बिमल पौडेल, विष्णु अर्याल भन्ने विष्णुप्रसाद आचार्य, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो लगायतमाथि अनुसन्धान हुनुपर्ने राय दिएको छ ।

अदालतमा दायर मुद्दामा प्रतिवादी बनाइएका २२ जनामध्ये ९ जना सरकारी कर्मचारी हुन् । उनीहरुमध्ये एक जना नरवीर खड्का मात्र पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?