 
																			१९ माघ, गुल्मी । गुल्मी सफल र सम्पन्न आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न औषधि व्यवसायी संघ गुल्मीले दबाब दिएका छन् ।
सिल भएको औषधि पसल खोल्न र आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न भन्दै औषधि व्यवसायी संघ गुल्मी अध्यक्ष फर्सु पाण्डे, महासचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष जुवानन्द बेलवासल्से, सह-कोषाध्यक्ष अनन्त अधिकारी लगायतसहितका पदाधिकारीहरु प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई भेटेर दबाब दिएका हुन् ।
गुल्मी जिल्ला सदरमुकाम तम्घासको पुरानो बजारमा रमेश अधिकारीले सञ्चालन गर्दै आएको सम्पन्न आयुर्वेद पसल र सफल होमियोप्याथिक औषधि पसलमा अधिकार क्षेत्रभन्दा बाहिर रहेर काम गरेको पाइएको भन्दै प्रशासनले गत माघ १५ गते सिल गरेको थियो।
उनीहरुले प्रमुख जिल्ला अधिकारी शर्मालाई कानुनी हिसाबमा अलि हलुका खालको बनाएर छुटकारा दिन दबाब दिएका छन् । औषधि व्यवसायी संघका टोली प्रमुख जिल्ला अधिकारी कहाँ पटक-पटक पुग्ने गरेका छन् ।
पसल सञ्चालकलाई छुटाउन उनीहरुले अनेक प्रयत्न गरेको पाइएको छ । दबाब दिन पुगेका औषधि व्यवसायी संघका पदाधिकारीलाई प्रमुख जिल्ला अधिकारी शर्माले कानुनी अनुसार नै कारबाही हुने बताएका थिए ।
अनुसन्धानमा दोषी फेला परे कानुनभन्दा बाहिर रहेर चल्न नमिल्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताएका थिए । सिल गरेको आयुर्वेद पसलमा समिति बनाएर अनुसन्धान भइरहेको उनले बताएका थिए ।
अनुसन्धान गर्न ५ सदस्यीय समिति
प्रशासनले सिल गरिएको आयुर्वेद पसलबारे सत्य तथ्य छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको छ।
छानबिन समितिको सदस्यमा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत गोपाल पाण्डे, रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डक्टर सुरज पाण्डे र प्रहरी निरीक्षक सूर्यभान चौधरी सदस्यछन् ।
समितिले यही माघ १९ गतेसम्म सत्य तथ्य बुझेर प्रतिवेदन पेश समय तोकिएको थियो । समितिले समय सिमामै प्रतिवेदन तयार गरेपनि प्रमुख जिल्ला अधिकारी सहितका टोली कार्यक्रमको शिलसिलामा गाउँमा रहेकाले सोमबार मात्रै सार्वजनिक गरिने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
औषधि खुद्रा बिक्रीको लागि दर्ता भएको उक्त पसले गैरकानुनी ढंगले क्षेत्र अधिकार बाहिर रहेर उपचार र ल्याब सेवा सञ्चालन गरेको पाइएको थियो । उक्त पसलले आयुर्वेद र एलोपेथिक औषधिहरु राख्ने गरेको,एक्स–रे तथा भिडियो–रे सेवा, फिजियो थेरापी र नेबुलाइजर सेवा, पनि प्रवाह गरेको पाइएको थियो ।
साथै बिरामी भर्ना गरेर भिन्नि ढंगले उपचार गर्दै आएको पनि पाइएको अनुगमन कर्ताले फेला पारेका थिए । अधिकारीले रेसुङ्गा नगरपालिका वडानम्बर ८ मा पसल र वडानम्बर ९ मा ल्याब र औषधिको ठूलो जोदाम .राखेर सेवा प्रवाह गर्दै आएको फेला परेको प्रशासनले जनाएको छ ।
आयुर्वेदले गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधि वितरण गर्ने र प्रयोगशाला संचालन गरेको गुनासो आएपछि आयुर्वेद सिल गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
गत माघ १५ गते जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद सिल गरेको थियो । उक्त आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको छ ।
जिल्ला सदरमुकामै क्षेत्र अधिकार बाहिर रहेर आयुर्वेद पसल सञ्चालन गरेर स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा खेलबाड हुँदै आएको प्रति नागरिकको गुनासो बढेको थियो ।
उक्त पसलले गम्भीर प्रकृतिका बिरामी भर्ना गर्ने र चेक जाँच गर्ने गरेको आरोप स्थानीयको छ । उक्त पसलमा आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीले अनुगमन गर्दा क्षेत्राधिकार भन्दा बाहिर रहेर काम गरेको फेला पारेर पटक पटक सुझाब दिँदा समेत अटेर गर्दै आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4