+

महिला @ किम्बु टेक

पूरा सूची
Shares
सूचनाप्रविधि उद्यममा प्रायः महिलालाई अवसर दिंदै आएकी कार्भिका भन्छिन्, ‘आमा, हजुरआमा कसैले नपाएको अवसर अहिले हामीले पाएका छौं, तनाव लिने होइन, खुसी भएर काम र अवसर सिर्जना गर्ने हो ।’
कार्भिका थापा

‘तल्लो बाटो’ अमेरिका जानेहरूको उतारचढावको खबर हरेक दिनजसो सञ्चारमाध्यममा छाइरहेको छ । तर १४ वर्षदेखि अमेरिकामा गरिरहेको आकर्षक तलबको जागिर छाडेर ७ वर्ष अगाडि नेपाल फर्किएकी कार्भिका थापालाई भने आज पछाडि फर्केर हेर्ने फुर्सद समेत छैन ।

‘हामीले अमेरिकाको घर बेच्यौं, दुई छोरी सहित हामी नेपाल फर्कियौं’ उनी भन्छिन्, ‘अमेरिकामै जन्मिएका ६ र ९ वर्षका छोरीहरू अहिले मज्जाले नेपाली बोल्छन्, त्योभन्दा गर्वको कुरा मलाई के हुनसक्छ ?’

अमेरिकामा सूचनाप्रविधिको क्षेत्रमा काम गर्दा उनले भारत र चीनको ग्राहकका लागि काम गर्नुपर्थ्यो । उनलाई लाग्यो, यो काम नेपाल बसेर अमेरिकाका लागि पनि त गर्न सम्भव छ ! अनि सन् २०१७ मा नेपाल फर्किएकी कार्भिकाले एक वर्ष बजार अनुसन्धानमा बिताइन् र स्थापना गरिन् किम्बु टेक ।

उनलाई लाग्यो, निकै फड्को मारिसकेको सूचनाप्रविधिको भाषा संसारभर बुझिन्छ भने बाबा–आमाको काखमा बसेर अमेरिकी डलर नेपाल किन नभित्र्याउने ? त्यसमा पनि नेपालमा प्रविधिको क्षेत्रमा महिलाको कम उपस्थिति देखेकी कार्भिकाको मनमा अठोट थियो कि यो खाडल घटाउन योगदान गर्छु ।

उनले यही क्षेत्रमा सेवा विस्तार गरी रोजगारी दिनुका साथै दक्ष जनशक्ति उत्पादनमा पनि आफूलाई सक्रिय बनाइरहेकी छन् । नेपालमा बसेर विदेशीलाई सूचनाप्रविधि सेवा निर्यात गरिरहेका नेपालीको संख्या अहिले ६६ हजार हाराहारी पुगेको एक अध्ययनले देखाएको छ । २०८० साउनमा सार्वजनिक विवरण अनुसार, ‘यी जनशक्ति मार्फत देशले वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढी रकम आम्दानी गरिरहेको छ ।’ कार्भिकाको किम्बु टेक कम्पनी तीमध्ये एक हो ।

इन्ष्टिच्युट फर इन्टिग्रेटेड स्टडिज (आईआईडीएस)ले गरेको अध्ययनबाट आईटी क्षेत्रले मात्रै वार्षिक ६७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ बराबर आम्दानी गरिरहेको देखाएको हो । सो अध्ययनले सन् २०२२ मा सूचनाप्रविधिबाट कुल गार्हस्थ्य उत्पादनमा १.४ प्रतिशत र विदेशी मुद्रा आर्जनमा ५.५ प्रतिशत योगदान गरेको देखाएको थियो ।

 काठमाडौंमा जन्मिएकी कार्भिकालाई बुबाको जन्मथलो भैरहवा वा लुम्बिनी प्रदेशको हुँ भन्दा आनन्द लाग्छ । सेन्टमेरिज स्कुल काठमाडौंबाट माध्यमिक शिक्षा लिएकी उनले भारतको डीपीएस दिल्लीमा कक्षा १२ सम्म अध्ययन गरिन् । काठमाडौं विश्वविद्यालयको केसीएम कलेजबाट स्नातक भएसँगै स्नातकोत्तर अध्ययनका लागि अमेरिका पुगिन् ।

उनले सन् २००२ देखि २०१७ सम्म अमेरिकामा अध्ययन र जागिरलाई सँगसँगै लगिन् । कलेजमै भेटेको साथीसँग विवाह–बन्धनमा बाँधिएकी थापाका दुई छोरी छन् । कार्भिकाका बुवाआमा दुवै अधिवक्ता र सरकारी जागिरे । छोरीले पनि सरकारी जागिर खाए हुन्थ्यो भन्थे । तर उनको रुचि र प्राथमिकता सूचनाप्रविधि क्षेत्रमा थियो ।

अमेरिका पुगेपछि सुरु भएको करिअर डेढ दशक लम्बियो । लामो समय जागिरमा बिताएपछि उनलाई लाग्यो, ‘म अब उद्यममा लाग्नुपर्छ, त्यसमा पनि धेरैभन्दा धेरै महिलालाई जागिर दिनुपर्छ, किनकि आईटी क्षेत्रमा महिला धेरै छैनन् ।’

अनि खुल्यो ‘किम्बु टेक’

सोच स्पष्ट थियो, बाटो प्रष्ट थिएन । तर पनि उनले हिम्मत जुटाइन् । छोटो समयमै एउटा सफल उद्यमीको पहिचान बनाइन् । उनले पुष्टि गरिन् कि क्षमता हुनेका लागि नेपालमा पनि उत्तिकै अवसर छन् । ‘तर, विदेशको जस्तै १८ घन्टा मिहिनेत गर्नुपर्‍यो, सोच राम्रो बनाएर आफ्नो सपनामा हराउन सक्यो भने यहीं विदेशको अवसर र सफलता सिर्जना गर्न सकिन्छ’, उनी भन्छिन् ।

अमेरिकाबाट नेपाल फर्किंदा कार्भिकाको परिवारसँग एक वर्षको कमाइ मात्रै थियो । एक वर्ष उनले परिवारसँग समय बिताउँदै बचेको समय नयाँ उद्यमको सम्भाव्यता बारे अध्ययन अनुसन्धानमा लगाइन् । काठमाडौंमा सँगै पढेका साथीहरूले आईटी कम्पनी चलाइरहेका थिए । उनले ती कार्यालय भिजिट गरिन् ।

‘यो क्षेत्रमा महिला एकदमै नगन्य रहेछन्, आउनेहरूमा पनि ग्राफिक्स, डेभलपर्सहरूमा कुनै पनि जुनियर महिला देखिएनन्’ उनी भन्छिन्, ‘विदेशमा हासिल गरेको अनुभवको आधारमा नेपालमा पैसा कमाउन र बच्चा हुर्काउन पनि सकिन्छ भन्ने लाग्यो ।’ अनि स्थापना भयो विदेशबाट डलर भित्र्याउने र स्वदेशमा रोजगारी सिर्जना गर्ने सोच सहित किम्बु टेक ।

आफ्नो उद्यमको नाम नेपाली राख्छु भन्ने उनको सोच थियो । ‘नेपाली फलको नाम प्रचार पनि हुने र यसलाई संसारभर चिनाउन पनि पाइने भनेर कम्पनीको नाम किम्बु टेक राखें’ उनी भन्छिन्, ‘किम्बुले ९५ प्रतिशत बाहिरको काम गर्छ, विदेशबाटै ग्राहकले स्कोप र काम उपलब्ध गराएपछि हामी नेपाली जनशक्ति उपलब्ध गराउँछौं ।’

परिवार, खासगरी दम्पतीको आपसी समझदारीमा जसरी पनि दैनिक ८ घण्टा समय निकाल्ने हो भने आफ्नो सपना, कल्पना र सन्तानप्रति अभिभावकले देखेको सपना पूरा गर्न सकिने उनको भनाइ छ ।

अमेरिकामा रहँदा भारत र चीनका ठूल्ठूला टिमसँग काम गर्ने अवसर उनले पाएकी थिइन् । जसले उनको आत्मविश्वास बढाएको थियो । ‘सीपका दृष्टिले पछाडि परेको नेपालको जनशक्तिलाई सिकाउन र अनुभव बाँड्न अनि देशमै बसेर विदेशी ग्राहकलाई सेवा दिन सक्छु भनेर यो कम्पनी सुरु भयो’ उनी भन्छिन्, ‘पहिलो दिनदेखि नै प्रविधिमा महिला ल्याउन जोड दिएँ । अहिले कम्पनीमा ३० जना काम गर्छन् त्यसमा अधिकांश महिला छन् ।’

उनले समानान्तर रूपमा अरू काम पनि अगाडि बढाइरहेकी छन् । किम्बु टेकले परामर्श र तालिम पनि दिन थालेको छ । आईटी कलेजमा लगानी विस्तार गरिरहेकी छन् । ‘एकातिर दक्ष जनशक्ति अभाव र अर्कोतिर युवा बेरोजगार बस्नुपर्ने बीचको खाडल पुर्न हामी काम गरिरहेका छौं’, उनी भन्छिन्, ‘सुरुवातबाटै कलेजलाई कम्पनीमा र कम्पनीलाई कलेजका रूपमा नलगेसम्म न यस्तो खाडल पुर्न सकिन्छ न देशले प्रगति नै गर्न सक्छ ।’

नयाँ इनोभेसनबाटै मुलुकले प्रगति गरेको सन्दर्भ सुनाउँदै उनी भन्छिन्, ‘यस्तो काममा विकसित देशमा जस्तै सरकार, नागरिक समाज र राजनीतिक नेतृत्वले साथ दिनुपर्छ ।’

धेरै विषय नेपालले विदेशीबाट सिक्नुपर्छ तर हाम्रा कतिपय राम्रा कुरा छन् जसलाई विदेशीले तारिफ गर्छन् । ‘हाम्रो आफ्नै मूल्यमान्यता र संस्कृति छ जसलाई बचाउन सके मात्र विश्वमा नेपालको अलग पहिचान बाँकी रहन्छ’ उनी भन्छिन्, ‘विदेशीहरू गुणस्तर र प्रभावकारी काममा केन्द्रित हुन्छन् नेपाली आफ्नो मूल्य, गहिरो सोच, सामूहिकता अनि पारिवारिक वातावरण र साथीभाइ संस्कृतिमा बढी रमाउँछन् ।’

प्रगतिको सूत्र र भावी योजना

‘म मेरै प्यासनको क्षेत्रमा छु र यसमा सबैभन्दा महत्वपूर्ण कुरा मिहिनेत हो, अनि साथ र मार्गदर्शन पनि आवश्यक पर्छ’ उनी भन्छिन्, ‘त्यसमा सीप र शिक्षा अत्यावश्यक हुन्छ ।’ यसको लागि नेपालमा कक्षा ८ बाटै आईटी पढाउनुपर्ने उनको जोड छ । उनी भन्छिन्, ‘आजको दिनमा प्रविधि जान्नु नै व्यक्तिको योग्यता हुन्छ । त्यसैले यो क्षेत्रका अवसरहरू बारे बताएर हामीले रोलमोडलहरू जन्माउनुपर्छ ।’

यो क्षेत्रका नवआगन्तुकलाई क्षमता बढाउन र प्रशिक्षार्थीकै रूपमा भए पनि काममा जोडिइहाल्न उनको सुझाव छ । सिक्दै, काम गर्दै मोडेल पछ्याउन सुझाउँदै उनी भन्छिन्, ‘जान्ने तिर्खा छ भने इन्टरनेटमै धेरै विषय उपलब्ध छन्, किनकि यसको वैश्विक भाषा एउटै छ ।’

हुन पनि योग्य भए उच्च आम्दानी हुने आईटी क्षेत्रबाट चलनचल्तीका भनाइमा ‘छिट्टै मालामाल हुन सकिने’ अवस्था छ । उनी भन्छिन्, ‘फेसबुकले अमेरिकामा जुन कोड प्रयोग गर्छ, नेपालमा पनि प्रयोग हुने त्यही हो । पाइथन भाषाको हब नेपाल बनाउन सक्ने हो भने संसारभरका आईटी कम्पनी नेपाल आउनेछन् ।’

एआई (कृत्रिम बौद्धिकता) को क्रान्तिले पाइथनको क्रान्ति पनि उत्तिकै बढेको कार्भिकाको बुझाइ छ । ‘यसबाट मुलुकमा बेरोजगारी समस्या हट्दै जाने र व्यवसाय समेत फस्टाउँछ’ उनी भन्छिन्, ‘त्योभन्दा पनि महत्वपूर्ण कुरा यसबाट जागिर गाउँगाउँ पुर्‍याउन र नेपालमै बसेर ठूल्ठूला कम्पनीको काम गर्न सकिन्छ ।’

महिलालाई प्राकृतिक रूपमै र सामाजिक अभ्यासका कारण पनि बच्चा हुर्काउने मुख्य दायित्व आइलाग्छ र बढी तनाव हुन्छ । ‘आइटी क्षेत्रमा सबैको सहयोग लिएर महिलाले केही समय निकाल्दै घरबाटै पनि काम गर्न सक्छन्’ उनी भन्छिन्, ‘अहिले हाम्री आमा, हजुरआमा कसैले नपाएको अवसर हामीले पाएका छौं, तनाव लिने होइन, खुसी भएर काम र अवसर सिर्जना गर्ने हो ।’

आईटीले कार्यजीवन सन्तुलनमा पनि धेरै सहजता ल्याएको उल्लेख गर्दै उनी भन्छिन्, ‘म पनि बच्चा उठ्नुभन्दा अलि अघि उठेर इमेलहरू पठाउँछु, कामको व्यवस्थापन गर्छु । बच्चा स्कुल गएपछि घर वा अफिस पुगेर आफ्नो काम गर्छु र बच्चा फर्किएपछि उनीहरूको स्याहारमा लाग्छु ।’

परिवार, खासगरी दम्पतीको आपसी समझदारीमा जसरी पनि दैनिक ८ घण्टा समय निकाल्ने हो भने आफ्नो सपना, कल्पना र सन्तानप्रति अभिभावकले देखेको सपना पूरा गर्न सकिने उनको भनाइ छ ।

कार्भिका नेपालमा कलेज पढ्दा ठूलो समूह बेरोजगार थियो । अब उनीहरूलाई बिजनेश प्रोसेस अपरेशन (बीपीओ) को काममा लगाउन सकिने उनको बुझाइ छ । यो भनेको ब्याक अफिस काम हो, जस्तो कि कर अप्लाई, भिडियो इडिटिङ, एआई ट्यागिङ वा यस्ता अनेकौं काम, जुन कम अनुभवमा पनि गर्न सकिन्छ ।

यसमा अवसर देखेकै कारण जागिर सिर्जना गर्न सकिन्छ भन्ने अनुमानमा उनले कार्यक्रम ल्याइन् । अहिले १०० भन्दा धेरैले काम गरिरहेका छन्, ती लगभग सबै महिला छन् । ‘उनीहरूमध्ये ९० प्रतिशत बिहान कलेज जान्छन् र दिउँसो काममा आउँछन्’ उनी भन्छिन्, ‘मेरै कलेज पनि छ । उनीहरूलाई प्रयोगात्मक अनुभव र काम पनि सिक्ने अवसर भइरहेको छ । १७/१८ वर्षको उमेरमा कमाउँदै, पढ्दै, राम्रो अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्न सक्नु ठूलो अवसर हो ।’

कार्भिकाको अनुभवमा १८ घन्टा काम गर्न सक्ने यो उमेरका युवालाई विदेशीहरूले अधिकतम उपयोग गर्छन् । ‘हामीले देश विकास गर्ने हो भने यी युवालाई यहीं काममा लगाउनुपर्छ । युवा शक्ति भएको देशको भविष्य उज्ज्वल हुन्छ’ उनी भन्छिन्, ‘नेपालमा पनि एआईको लहर आएको छ, यसलाई देश विकासमा कसरी लगाउन सकिन्छ भनेर सोच्नुपर्छ । म पनि सोचिरहेकी छु ।’

– अच्युत पुरी

फोटोः विकास श्रेष्ठ