 
                                                    सांसद नहुँदासम्म सुमना श्रेष्ठको कुनै खास राजनीति थिएन । काठमाडौं क्षेत्रपाटीको सरस्वती स्कुल हुँदै बूढानीलकण्ठ स्कुल पढ्दा बेला होस् या अमेरिकामा उच्च शिक्षा लिंदासम्म– उनी राजनीति भन्ने विधालाई फगत वक्तृत्वकला ठान्थिन् ।
सैद्धान्तिक जार्गनहरू भएको, राजा–राणाहरू सबैको इतिहासबारे दुईचार लाइन खरर्र भन्न सक्ने, अनि तिनैको बलमा शक्तिमा जाने काम नै राजनीति– सुमनाको पुरानो बुझाइमा ।
सुमनाले यस्तो सोच्नुको पछाडि स्वाभाविक कारण थियो । ‘मेरो घरका सदस्य वा नजिकका नातेदारमा कोही वडा सदस्य पनि थिएनन्, मैले कहाँबाट राजनीति जानूँ’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य सुमना आफ्नो पृष्ठभूमि सुनाउन धकाउँदिनन् ।
अघिल्लो साता अनलाइनखबरसँग कुरा गर्ने क्रममा सुमनाका एक चिनारुले हामीसँग सुनाउँदै थिए— ‘यिनी यहाँको स्थानीय राजनीतिबारे यतिसम्म जानकार छैनन् कि, १५ दिनअघिसम्म यिनलाई अर्जुननरसिंह केसी र गगन थापा ज्वाइँ–ससुरा हुन् भन्नेसम्म थाहा थिएन ।’
नेपालमा राजनीति जान्नका लागि के कुरा जान्नुपर्छ– सुमना जान्दिनन् । सुमना जे जान्दछिन्, त्यसलाई राजनीतिकै दैनिक काम–कर्तव्य मान्न पुरानो पुस्ता तयार भइसकेको छैन । यिनै सुमना, जो पछिल्लो एक वर्षयता नेपालमा सांसदको भूमिका पुनः परिभाषित गर्न अघि बढेकी छन् ।
समानुपातिक प्रणालीबाट जितेकी उनले आफ्नो कार्यक्षमता प्रदर्शनकै कारण बढ्ता शक्तिशाली मानिने प्रत्यक्ष निर्वाचित कुनै पनि सांसदभन्दा बढ्ता आफूलाई सावित गर्न सकेकी छन् । सिंगै देश उनका लागि निर्वाचन क्षेत्र बन्न पुगेको छ । उनले उठाएका मुद्दाहरू क्षेत्रविशेषका समस्यासँग मात्रै सम्बन्धित छैनन् ।
सुमनाले संसद्का भाषणभन्दा संसदीय समितिभित्रका काम अझै महत्वपूर्ण हुन्छन् भन्ने सावित गरिदिएकी छन् । संसद्को क्यालेन्डर निर्माणका लागि एकोहोरो जोडमा प्राप्त गरेको सफलता, अनि त्रिविको नयाँ नेतृत्व चयनको बाटो हुँदै उच्च शिक्षाको क्षेत्रमा उनले चलाएको पुनर्संरचनाको एजेन्डा बलशाली बन्दैछ । संसद्को शिक्षा, स्वास्थ्य, सञ्चार समिति सदस्य रहेकी उनले सुरक्षण मुद्रण प्रेस लगायत विषयमा जवाफदेही खोज्दै त्यत्तिकै जोडदार तर्क र प्रमाणहरू पेश गरिन् ।
बैंकिङ कसुर सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि उनले संशोधन हालिन् । मिटरब्याज पीडितहरूको माग सम्बोधन होस् भनेर बोलिरहेकी छन् । बौद्धिक चोरीदेखि सेक्युरिटी क्लियरेन्ससम्मका मुद्दाहरूमा उनी उत्तिकै मुखर छिन् ।
एउटा सांसद जोसँग मुद्दैमुद्दा छन् । कतिपय सवालहरू अझै उठ्नेवाला छन् । यो बेग्लै कुरा हो, कतिपय व्यक्तिको ध्यान उनले उठाएका एजेन्डामा होइन उनको स्कर्ट, जिन्स वा पहिरनविशेषतिर जान्छ । तर सुमनालाई महिला सांसदलाई चेली भनेर कसैले बोलाउँदा भने रिस उठ्छ ।
यो महिलाको लैंगिकतामाथि प्रश्न उठाएको जस्तो उनलाई लाग्छ । उनले एकपल्ट संसद्मै उठाइन्, ‘धेरैपल्ट सांसदकै मुखबाट नेतृहरूलाई चेली भनेको सुनियो, केटा सांसदहरूलाई चेला भन्ने ?’
काठमाडौंको ठहिटीस्थित निम्नमध्यमवर्गमा सुमना जन्मिइन् । सन्तान पढाउनका लागि उनका बुवा रमेशप्रसाद एकैसाथ दुई ठाउँमा काम गर्थे । किन पढ्नुपर्छ भन्दा एउटै तर्क थियो– शिक्षाले मान्छेलाई गरिबीबाट निकाल्छ ।

स्कुल पढ्दासम्म उनलाई बूढानीलकण्ठ स्कुल काठमाडौंमा छ भन्ने थाहै थिएन । २०५६ सालमा एसएलसी पास गरेसँगै उनले ए लेभल अर्थात् कक्षा ११ र १२ सरहको पढाइ त्यहाँ गर्न पाइन् । महँगो स्कुलमा पढाउन सक्दिनँ भनी बुवाले बाध्यता सुनाउँदा आमाले अड्डी लिइन्– राजाका छोराछोरी पढ्ने स्कुलमा सुमनाले नाम निकालेकी छ । यसलाई जसरी भए पनि पढाउनुपर्छ ।
स्कुल बेलादेखि नै सुमना विद्रोही चेतकी थिइन् भनेर उनका साथीहरू सम्झन्छन् । उनी अन्तिम बेन्चमा बसेर पढ्थिन्, परीक्षाको रिजल्टमा पहिलो नम्बरमा उभिन्थिन् । हाल अष्ट्रेलियामा रहेकी सुमनाकी स्कुले सहपाठी बिराज्य मानन्धरका अनुसार सुमना शिक्षकले पढाएका जे कुरामा पनि तार्किक गहिराइ खोज्थिन् ।
यति मात्रै होइन, चित्त नबुझेका कुरामा शिक्षकसँगै पनि असहमति राखिहाल्थिन् । शिक्षकहरूलाई सोधेको सोधेकै गर्ने, अप्ठेरै विद्यार्थी थिइन् सुमना । शिक्षकले तर्क, प्रमाण, पृष्ठभूमिहरूबाट बुझाउन सके भने मात्रै उनले चित्त बुझाउँथिन् ।
‘हामी एसएलसी तयारी गर्दै थियौं, सुमना गणितमा छुरा थिइन्, अप्ठेरा इस्यु पनि आफ्नै शैलीमा समाधान गर्थिन्’ बिराज्य भन्छिन्, ‘शिक्षकले यो अर्कै मेथर्ड भयो भनी सम्झाउन खोज्दा उनी सम्झाउँथिन्– अर्कै मेथडबाट पनि सही नतिजा आयो भने के फरक पर्यो त ?’
सुमना लो प्रोफाइलमा बसेर अरनिको पाण्डेका लागि चुनावी प्रचारमा खटिन चाहेकी थिइन् । उनलाई अहिले नै सांसद बनौंला भन्ने सोच थिएन । बरु राजनीतिक अभियानहरूमा जोडिंदै अघि बढ्न खोज्दै थिइन् ।
३० भदौ २०७९ को दिन । संघीय चुनावका लागि समानुपातिक सूची बुझाउने बेला आइरहेको थियो । उता काठमाडौंका मेयर बालेन जयनेपाल सिनेमा हलनेर टुकुचा खोला खोल्न लागेका थिए । टुकुचा खोला हो कि ढल हो भन्ने विवाद थियो । रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की त्यसैको वरिपरि बसिरहेका थिए । सुमनाले उनको मोबाइलमा कल गरिन्, ‘म समानुपातिक सूचीमा बस्दिनँ ।’
कार्कीले सोधे, ‘किन ?’
‘मैले समानुपातिक सूचीमा रहेर सांसदको परिचय बनाउन सक्दिनँ होला’, सुमनाले भनिन् ।
गणेशले उनलाई जयनेपाल हलनेर बोलाए । त्यसैको पार्किङ लटमा सुमनाको गाडीमा बसेर उनीहरूले गफ गरे ।
गणेशले सम्झाए, ‘तपाईं अरू सांसद जस्तो परम्परागत बन्ने नै होइन, तपाईंले आफ्नो जुन वर्ग र पृष्ठभूमि छ त्यसैको आवाजलाई प्रतिनिधित्व गर्ने हो । नयाँ पुस्तालाई तपाईं देखेर आफू नै संसदमा पुगेको छु भन्ने लागोस् ।’
गणेशले सुमनालाई सांसदको सूचीमा बस्न मनाए । मंसिरको चुनावमा रास्वपा चुनावी थ्रेसहोल्ड काटेर राष्ट्रिय दल बनेसँगै सुमना सांसद बन्न पाइन् । त्यसयताको एक वर्ष र केही महिना उनले गरेका काम सार्वजनिक जानकारीमै छन् ।
सुमनाकी साथी बिराज्य भन्छिन्, ‘सन् २०१९ मा हामी कुरा गर्दा सुमनाले देशको स्थिति राम्रो छैन, म राजनीतिमा जान्छु होला भन्थिन् । उनी राजनीतिमा आइन् पनि, हामीले सोचे जस्तै उनी र साथीहरू राम्रोसँग काम गरिरहेका छन् ।’
सुमनाले अहिले ११ वटा गैरसरकारी विधेयक तयार गरेकी छन् । यसका लागि कांग्रेसका प्रदीप पौडेल, एमालेकी सुनिता बराल लगायतसँग सहकार्य प्रस्ताव राख्न गइरहेकी छन् । ‘नागरिक दबाबका लागि विद्यार्थीहरू सहित त्रिचन्द्र क्याम्पसदेखि सिंहदरबारसम्म मार्च पनि गर्छु’ सुमना श्रेष्ठ भन्छिन्, ‘मलाई नाम चाहिएको छैन, यो कामका लागि जसले क्रेडिट लिए पनि हुन्छ ।’
मिडियाले उच्च शिक्षा कस्तो हुनुपर्छ भन्नेमा घुमाई–फिराई उही विज्ञहरूलाई सोधेको सोध्यै गरेको सुमनालाई मन परेको छैन । नेपालभित्र मात्रै नभई नेपालबाहिर पनि एकसेएक विज्ञहरू रहेको, नयाँ पुस्तामा अझै अद्यावधिक जानकारहरू रहेको तथ्यलाई प्रेसले मनन गर्न नसकेको उनको भनाइ छ ।
सुमना गणित, विज्ञान जस्ता विषयमा दक्खल राख्ने भएकाले लेखा समितिमा जान भनिएको थियो । तर, उनले शिक्षा रोजिन् । निकटस्थहरूका अनुसार उनले त्यहाँ आईटी शिक्षा र रोजगारी सिर्जनासँग सम्बन्धित भएर काम गर्न पाइने भन्दै रुचि देखाएकी थिइन् ।
उनी आफ्नो भनाइ समितिमा राख्न नपाएका बेला हात उठाएको उठायै गरेर नैतिक दबाब दिन्छिन् । कहिलेकाहीं उनको प्रस्तुति हेर्दा संवेदना कम भएकी कडिकडाउ महिला पो हुन् कि जस्तो लाग्छ । रास्वपा नेता गणेश कार्की भन्छन्, ‘व्यवहारमा इमोशनल छैनन् जस्ती लाग्छिन्, तर अति नै इमोशनल छिन् । टिमसँग मिलेर काम गर्न सक्छिन् । द्विअर्थी बोलेर मान्छे झुक्याउने खालका नेतासँग परै बस्न खोज्छिन् ।’
सुमना खासमा पार्टीको सहमहामन्त्री हुन चाहन्नथिन् । सांसदहरूले पार्टीको कमिटीमा नबसेर संसद्मै केन्द्रित हुँदा झन् बढी जनविश्वास आर्जन गर्न सक्छन् भन्ने उनको बुझाइ थियो । परिस्थितिले उनलाई सहमहामन्त्री बनाइदिएको छ । तर उनको ध्याउन्न भने जनताको करले चलेको संसद्को सदस्यका रूपमा पूर्ण रूपमा काम गर्न सक्नुमा छ । काम गर्न नसक्नु उनका लागि भ्रष्टाचारभन्दा कम होइन ।
‘मान्छेहरू कसैले घुस खाएको कुरालाई सबैभन्दा ठूलो भ्रष्टाचार मान्छन्’ सुमना भन्छिन्, ‘खासमा सार्वजनिक पदमा शपथ खाएर तोकिएको जिम्मेवारी पूरा नगर्नु त्योभन्दा ठूलो भ्रष्टाचार हो ।’
अब सुमनाको ध्याउन्न तिनै ११ वटा गैरसरकारी विधेयकमा छ । खासमा संसद्भित्र बहुमतप्राप्त शक्ति, अर्थात् सरकारले विधेयक लैजाने सामान्य प्रचलन हो । गैरसरकारी विधेयक विरलै आउने गर्छन् । तैपनि सुमना अरू दल समेतका सांसदलाई लिएर गैरसरकारी विधेयकको बाटोमा अघि बढ्न चाहन्छिन् ।
रास्वपाका एक नेता भन्छन्, ‘सांसद त अरू पनि छन्, तर सुमना त्यहाँ नभएको भए यो प्रतिनिधि सभाको अनुहार कस्तो हुन्थ्यो होला !’
सुमनासँग उनको संसदयात्रा र त्यहाँ उनी बसेर गरिरहेका कामहरुको कुरा गर्दैजाँदा उनकी हजुरआमा कृष्णदेवी बिरामी परिन् । सुमना अरु काम छाडेर उनको सुश्रुषामा खटिन थालिन् ।
केही दिनपछि त हजुरआमा बितेको खबर नै आयो । उनी शोकमा परिहालिन् ।
कतिपय कुराहरु अझै विस्तृतमा सोध्न सकिन्थ्यो । आफू शोकमा परेकै बेला राजनीतिक हलचल सुरु भयो जसबाट प्रधानमन्त्री प्रचण्डले गठबन्धनलाई अर्को मोड दिए । एमाले, रास्वपालगायत दल त्यहाँ थिए ।

अब सुमना शिक्षामन्त्री बन्ने वातावरण तयार भयो । जीवन संयोग र कर्महरुको गठजोड हो । सुमनाले राजनीति नथालेको भए सांसद बन्न पाउँथिनन् । सांसद नभएको भए मन्त्री ।
अब उनलाई गैरसरकारी विधेयक ल्याउने सम्भवत: दरकार पर्ने छैन । उनी आफैं नै सरकारी भइहालिन् ।
उनीसँग फोनमा छोटो संवाद भयो । समवेदना दिने कि बधाई । हामीलाई दोधार भयो ।
‘जुन माँ ( हजुरआमा) ले मलाई अक्षर चिनाएर शिक्षाको बाटो देखाउनुभयो, उहाँ बितेकै बेलामा म शिक्षामन्त्री बन्न पुगेँ,’ सुमना भन्छिन्, ‘धेरै कामहरु गर्नुछ, किनकि हामीकहाँ सम्भावना धेरै छ।’
– बसन्त बस्नेत
फोटोः शंकर गिरी/चन्द्रबहादुर आले
 
                    










 
                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    