२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ दिनभित्र सबै संस्थागत विद्यालाई छात्रवृत्ति विवरण पेस गर्न सूचना जारी गरेको छ । तोकिएको समयभित्र विवरण नबुझाएका यही वर्षदेखि स्कुल बन्द सूचमीमा राख्ने चेतावनीसमेत दिएको छ ।
‘विवरण पेस नगर्ने विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालन नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरिनेछ’, महानगरपालिकाले बिहीबार एक सूचना गर्दै भनेको छ, ‘यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न/नगराउनुहुन र गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गरिने व्यहोरा अनुरोध छ ।’
महानगरको अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी ऐन–२०७५, शिक्षा नियमावली २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ ले महानगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयलले कुल विद्यार्थीको कम्तिमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाबमोजिम अझै केही विद्यालयले छात्रवृत्ति विवरण पेस नगरेको महानगरले जनाएको छ ।
छात्रवृत्ति दिने ४७३ विद्यालय
काठमाडौ महानगरपालिकाले सोही सूचनामार्फत नै महानगरभित्र सञ्चालित संस्थागत विद्यालय छात्रवृत्ति दिने विद्यार्थी संख्या पनि सार्वजनिक गरेको छ ।
चालु शैक्षिक सत्रका लागि ४७३ संस्थागत विद्यालयबाट कक्षा १० सम्मसम्मका विद्यार्थी संख्या र उपलब्ध गराइएको छात्रवृत्ति विवरण प्राप्त भएको महानगरले जनाएको छ ।
जसअनुसार महानगरभित्रका सबै संस्थागत विद्यालयमा विद्यार्थीको संख्या १ लाख ४९ हजार ९५० जना अध्ययनरत छन् । यसमध्येका १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4