+
+
Shares

हतारोमा भोलिदेखि खुल्दैछ धरहरा

‘धरहराको केही काम बाँकी भएको सत्य हो, तर निर्माण भएर लामो समयसम्म पनि जनताले अनुभव गर्न नपाएको भन्दै प्रधानमन्त्रीको १०० दिनभित्र जसरी पनि चलाउने निर्देशन थियो । त्यही भएर संविधान दिवसको उपलक्ष्यमा खोल्न लागिएको हो’, शहरी विकास मन्त्रालयका एक अधिकारीले भने ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असोज २ गते २०:४०

२ असोज, काठमाडौं । ‘फिनिसिङ’ को काम नसकिंदै बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुँदैछ । सरकारले धरहरा चर्चाका लागि हतार गरेर खोल्न लागेको देखिन्छ ।

धरहराको कतिपय काम नै बाँकी हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा खुल्न लागेको शहरी विकास मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।

‘धरहराको केही काम बाँकी भएको सत्य हो, तर निर्माण भएर लामो समयसम्म पनि जनताले अनुभव गर्न नपाएको भन्दै प्रधानमन्त्रीको १०० दिनभित्र जसरी पनि चलाउने निर्देशन थियो । त्यही भएर संविधान दिवसको उपलक्ष्यमा खोल्न लागिएको हो,’ शहरी विकास मन्त्रालयका एक अधिकारीले भने ।

बुधबार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह धरहरा खोल्ने पूर्वसन्ध्यामा निरीक्षण पुग्दा पनि त्यस्तै अवस्था थियो । धरहराको लिफ्ट चढ्नै लाग्दा लाइन गएर रोकिएको थियो । दुइटा लिफ्टमध्ये एउटा अझै सञ्चालनमा आइसकेको छैन ।

यस्तै बेसमेन्टमा रहेको पार्किङ पनि पूर्णरूपमा सञ्चालनमा आइनसकेको देखिन्छ । ‘अहिलेलाई एक तला मात्रै पार्किङ सञ्चालनमा छ । महानगरले त्यो गरिरहेको हो, पूरै पार्किङ क्षेत्रमा बत्ती, वायरिङ लगायत काम बाँकी नै छ,’ केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का एक अधिकारी भन्छन् । बेसमेन्टतर्फ रहेको शौचालय समेत पूर्णरूपमा सञ्चालनमा आइसकेको छैन ।

स्थलगत धरहरा हेर्दा बिहीबार साँझसम्म पनि फिनिसिङको काम भइरहेको देखिन्छ । धरहराको विभिन्न स्तम्भ मात्रै तयार भए पनि पार्कका संरचना अहिले पनि निर्माणाधीन नै छ ।

उक्त कुरा सहरी विकासमन्त्री प्रकाशमान सिंह पनि स्वीकार्छन् । सिंहले धरहरा आंशिक मात्र सञ्चालन गर्न लागिएको बताए । ‘अहिले चाहिँ अन्तरिमकालका लागिमात्र हो, पब्लिकमा धरहरा बनेको यत्तिका समय भइसक्यो, चढ्न त पाऔं भन्ने त इच्छा छ नि त,’ सिंहले भने । उनले पूर्ण सञ्चालन आएपछि मात्रै शुल्क लिने व्यवस्था गर्ने बताए ।

कसरी सञ्चालन हुन्छ धरहरा ?

केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार क्यूआर र वेबसाइट सार्वजनिक गरेर अनलाइन बुकिङ मार्फत धरधहरा सर्वसाधारणले चढ्न पाउँछन् ।

‘दैनिक ५०० जनालाई चढ्न दिन्छौं, ४०० जना अनलाइन बुकिङ मार्फत टाइम लिएर निःशुल्क चढ्छन भने बुढाबुढी र फरक क्षमता भएका सुरुका १०० जनालाई धरहरा परिसरमै पासको व्यवस्था हुन्छ,’ परियोजना प्रमुख कोषनाथ अधिकारीले भने, ‘टिकट बुकिङका आधारमा प्रत्येक आधा घण्टादेखि एक घण्टाको ग्याप बनाएर १ सय जनालाई प्रवेश दिन्छौं, त्यसको अर्थ एउटा टोली ओर्लने बेला अर्को टोली उक्लियोस् भन्ने हो ।’

काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रूपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद् बैठकले गरेको थियो । लगत्तै संविधान दिवस अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले सहरी विकास मन्त्रालय मार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) परियोजनालाई निर्देशन दिएको थियो ।

२०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धरहरा सञ्चालन तथा व्यवस्थापन जिम्मा दिएको थियो । महानगरले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।

नयाँ धरहरा बनेपछि काठमाडौं महानगरले संघीय सरकारसँग धरहरा चलाउन ठेकेदारलाई जिम्मा दिनु सट्टा फेरि आफैंलाई जिम्मा दिन माग गरेको थियो । तर, संघीय सरकार अब महानगरलाई धरहरा चलाउन र व्यवस्थापन गर्न दिने पक्षमा देखिएको छैन । २७ भदौको मन्त्रिपरिषद् बैठकले धरहरा सञ्चालन सम्बन्धी यसअघिका सबै निर्णय खारेज गरिसकेको छ ।

बाहिरबाट हेर्दा पुरानै स्वरूपको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुला रूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ ।

धरहरामुनि तीनतले भूमिगत पार्किङ बनेको छ । यहाँ प्रशासनिक भवन र संग्रहालय तथा बगैंचा समेत बन्दैछ । अहिलेसम्म धरहरा निर्माणको ९५ प्रतिशत मात्रै काम सकिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख २०७८ मा आधा काम पनि नसकिंदै धरहराको उद्घाटन गरेका थिए ।

त्यसपछि पनि निर्माण चलिरहेकाले धरहरा चढ्न खुला गरिएको थिएन । फेरि, प्रधानमन्त्री भएपछि ओलीले काम नसकिए पनि धरहरा चढ्न पाउने प्रबन्ध मिलाउने गरी मन्त्रिपरिषद्‍बाट निर्णय गरेका हुन् ।

तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर 

लेखक
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?