 
																			५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले अदालत उपस्थित गराएको छ ।
साइबर ब्यूरोले सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उनलाई उपस्थित गराएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले बताए । उनले भने, ‘अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद माग्छौं ।’
सीआईबीले प्रसाईंलाई मंगलबार विहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । सीआईबीले थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रसाईंलाई अपराह्न आफू मातहतको साइबर ब्यूरोमा पठाएको थियो ।
प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको छ ।
प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।
सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको सीआईबीका प्रमुख एआईजी दिपक थापा बताउँछन् ।
प्रहरीले उनको घरबाट ३ वटा ल्यापटप र ९ मोबाइल पनि बरामद गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4