 
																			९ मंसिर, काठमाडौं। साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् ।
उनी आइतबार साँझ वीर अस्पताल भर्ना भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एक अधिकृतले अनलाइनखबरलाई बताए ।
गत मंसिर ५ गते पक्राउ परेका प्रसाईंलाई आज म्याद थपका लागि अदालत लगिएको थियो । सो क्रममा उनले न्यायाधीश समक्ष आफू क्यान्सरको बिरामी भएको र उपचार गर्नु पर्ने माग राखेका थिए । उनको माग अनुसार जिल्ला अदालत काठमाडौंकी न्यायाधीश कमला पौडेलले प्रसाईको उपचार गर्न भन्दै प्रहरीलाई ध्यानाकर्षण गरेकी थिइन् ।
अदालतले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको थियो ।
प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4