+
+
Shares
सानदार सामुदायिक स्कुल :

धनुषाको देहाती स्कुल, जहाँ तीन जिल्लाका विद्यार्थी झुत्तिन्छन्

धनुषाको विदेहस्थित जनता नमुना माविमा २०६८ सालमा जब हेडसर बनेर पवन मण्डल आए, त्यसपछि स्कुलले चोला फेर्‍यो । गुणस्तरीय सिकाइ र उत्प्रेरणाको नमुना स्कुलमा भर्ना पाउन धनुषा, महोत्तरी र सिरहाका विद्यार्थी वर्षेनि तँछाडमछाड गर्छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ वैशाख २१ गते २२:२७

सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्कहरू तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कुलमै खनिएको थियो भन्न सकिन्छ ।

 

तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।

 

यस वर्षमा सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्‍यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।

 

यावत प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थीहरू पढाइरहेका छन् र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमुना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं । – सम्पादक

जनकपुरधाम । ‘सामुदायिक विद्यालयले विद्यार्थी नै पढाउँदैनन् ! सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरू राजनीति मात्रै गर्छन् ! फलाना सामुदायिक विद्यालयको नतिजा निल ! विद्यार्थी नपाएर सामुदायिक विद्यालय मर्ज हुने अवस्थामा !’ धेरैजसो सामुदायिक विद्यालयको वास्तविकता यही हो ।

तर, यी तमाम निराशा चिर्दै विद्यार्थी र अभिभावकको भरोसा बनेको छ– धनुषा, विदेह नगरपालिका–६ तिनकोरियास्थित गिद्धा–बेलापट्टीको जनता नमुना मावि । यहाँ अध्ययनरत विद्यार्थी संख्याले विद्यालयको गुणस्तर झल्काउँछ, जहाँ तीन जिल्लाका ६ हजार बढी विद्यार्थी पठनपाठन गर्छन् ।

यतिबेला विद्यालयको भर्ना खुलाउने बेला भयो, तर जनता नमुना माविका पवन मण्डललाई उत्साहसँगै हैरानी समेत थपिएको छ ।

उत्साह यसकारण, उनले नेतृत्व गरेको विद्यालयले अघिल्ला वर्षहरूमा जुन पठनपाठनको वातावरण र नतिजा दियो, त्यसले पालिकाभरिका अभिभावकलाई यही विद्यालयतिर बच्चा पठाउन प्रेरित गर्दैछ ।

हैरानी यसकारण, विद्यार्थी थप्न अहिले भइरहेको भौतिक संरचनाले पुग्दैन । अहिले भएको शिक्षक दरबन्दीले थपिएका विद्यार्थी पढाउन सहज हुनेछैन । त्यसैले, प्रधानाध्यापक मण्डल भर्ना सम्बन्धी रणनीति नै पुनर्विचार गर्ने विन्दुमा आइपुगेका छन् ।

कक्षा १२ सम्म ६ हजार १७५ विद्यार्थी पढिरहेको जनता नमुना माविमा पोहोरको सत्रमा नयाँ भर्ना लिने विद्यार्थीको संख्या १७ सय थियो । त्यसभन्दा अघिल्लो वर्ष १३ सय थिए । देहातको स्कुल भए पनि यो अनुशासन र गुणस्तरीय सिकाइका लागि कतिसम्म लोकप्रिय हुनगयो भने, छरछिमेकका पालिकाबाट समेत यहीं विद्यार्थी झुत्तिन थाले । यही उल्लासले ल्याएको संकट यतिबेला भर्नामा देखिइरहेको छ, कसलाई राख्ने, कसलाई हटाउने भनेर ! यस्तैमा आएको हो, कोटाको उपाय, जस अनुसार चरणबद्ध प्रवेश परीक्षा लिने अनि निश्चित विद्यार्थीलाई मौका दिने ।

‘विगतमा झैं खुला भर्ना लिन अब सम्भव छैन । विगत हेरेर अनुमान गर्दा यसपटक दुई हजारसम्म विद्यार्थी भर्ना हुन आउँछन्’ प्रअ मण्डल भन्छन्, ‘अब हामी कोटा निर्धारण गरी सीमित विद्यार्थी भर्ना गर्ने तयारी गर्दैछौं । बरु हामीसँग भएकै सीमित विद्यार्थीलाई नै गुणस्तरीय शिक्षामा जोड दिने सोचमा छौं ।’

अहिले यो जनता नमुना माविमा विदेह नगरपालिकाबाट पढ्ने विद्यार्थी मात्र छैनन् । धनुषाकै शहीद नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, सबैला र जनकपुरधाम उपमहानगरपालिकासम्मका विद्यार्थी विद्यालयमा अध्ययन गरिरहेका छन् ।

‘हाम्रो विद्यालयमा शिक्षकले राम्रो पढाउँछन् । विद्यालयमा अनुशासन छ । पठनपाठन गुणस्तरीय छ भन्ने सन्देश प्रवाह भएपछि छिमेकी पालिका मात्रै होइन, सिरहा र महोत्तरीबाट समेत वर्षेनि विद्यार्थीको चाप बढ्दो छ’ मण्डल भन्छन्, ‘तर हालको भौतिक र जनशक्ति संरचनाले त्यो चाप धान्न सक्दैन । अब छिमेक पालिकाका स्कुलहरू पनि गुणस्तरीय होस् । हाम्रो क्षमताले भ्याउने मात्र हामी गर्न सक्छौं ।’

हालै मात्र विद्यालयबाट ४३३ जना विद्यार्थीले एसईई परीक्षा दिएका छन् । कक्षा ९ सम्म एउटा सेक्सनमा अंग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ । मधेश प्रदेशमै सबभन्दा बढी विद्यार्थी संख्या भएको सामुदायिक विद्यालय हो यो ।

विद्यार्थी चापको कारण कक्षा १ देखि १० सम्म छुट्टाछुट्टै सेक्सनमा पठनपाठन हुँदै आएको छ । कक्षा १ देखि ५ सम्म तीन सेक्सन, कक्षा ६ मा पाँच, कक्षा ७ मा छ, कक्षा ८ मा सात र कक्षा ९ मा आठ वटा सेक्सन सञ्चालनमा छन् । ‘प्रत्येक सेक्सनमा ८०, ८५, ९० देखि १०० जनासम्म विद्यार्थी रहेका छन्’, प्रअ मण्डल भन्छन् ।

जनता नमुना माविमा हाल ८५ जना शिक्षक कार्यरत छन् । तीमध्ये १५ जना स्थायी दरबन्दीमा छन् । प्राथमिक तहमा ७, निम्नमाध्यमिक र माध्यमिक तहमा ४–४ जना । बाँकी शिक्षकहरू करार, नमुना अनुदान, नगर शिक्षक तथा निजी स्रोतबाट व्यवस्थापन गरिएको हो । निजी स्रोतबाट मात्र २४ जना शिक्षक परिचालित छन् ।

विद्यालयको बजार र केही पोखरीको वार्षिक आम्दानी मात्र ५ लाख छ । पठनपाठन पूर्णतः निःशुल्क छ । विद्यालय उत्कृष्ट हुँदै गएपछि पछिल्लो चार वर्षदेखि नगरपालिका कार्यालयले सहयोग गर्न थालेको छ । ‘मेयरले भन्नुभएको छ– निःशुल्क गर्नुस् । हामी सहयोग गर्छौं । चार वर्षदेखि भौतिक संरचना र जनशक्तिमा नगरपालिकाको निरन्तर सहयोग छ’, प्रअ मण्डल भन्छन् ।

स्कुलको यो सफलताको कथासँग २०६८ देखि अविच्छिन्न जोडिएका छन् हेडसर मण्डल । उनी त्यसै सालको भदौ १८ मा प्रअ बने, त्यसपछि सिकाइ प्रणालीदेखि समग्र वातावरण नै फेरियो ।

२००८ सालमा प्राथमिक तहका रूपमा खुलेको यो स्कुल २०२९ मा निम्नमाध्यमिक र २०४९ मा माध्यमिक तहमा उक्लियो । २०६८ देखि प्लस टु कक्षा सञ्चालनमा आएको विद्यालयमा २०७० सालदेखि प्राविधिक धार अन्तर्गत पशु विज्ञान विषय पढाइ हुँदै आएको छ । शिक्षणको गुणस्तर वृद्धिसँगै यो विद्यालय २०७४ सालमा ‘नमुना विद्यालय’ बन्न सफल भएको हो ।

स्कुलको यो सफलताको कथासँग २०६८ देखि अविच्छिन्न जोडिएका छन् हेडसर मण्डल । उनी त्यसै सालको भदौ १८ मा प्रअ बने, त्यसपछि सिकाइ प्रणालीदेखि समग्र वातावरण नै फेरियो ।

सबै पिरियडको पढाइ कसरी चल्दैछ, शिक्षक कत्तिको सक्रिय छन्, विद्यार्थीको सिक्ने उत्सुकता र डेलिभरी कस्तो छ भन्नेमा उनले मसिनो गरी केलाउन थाले । त्यतिले नपुगेर विद्यालयमा पठनपाठन प्रभावकारी र गुणस्तरीय बनाउन विभिन्न समिति, अनि ती अन्तर्गत ४० उपसमिति बनाए ।

तिनको नियमित बैठक, नियमित निरीक्षण र मूल्यांकन चलिरह्यो । यी सबैबाट थाहा हुन्छ, स्कुल सुधार्ने भनेको एक दिनको वा एक झ्वाँकको परिणाम मात्रै होइन । त्यसका लागि हरदिन अहोरात्र खट्नुपर्छ, खटिरहनुपर्छ ।

हेडसर मण्डलले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सामाजिक परीक्षण समिति, विद्यालय अनुशासन समितिलाई सक्रिय र चलायमान गराएका छन् । आन्तरिक अनुगमन समिति, प्रार्थना समिति, घण्टी समिति, काउन्सिलिङ समिति, फोन इन समिति लगायत ४० वटा उपसमिति छन् । यी समितिहरूबीच बेलाबेला संवाद हुन्छ । आ–आफ्नो जिम्मेवारी निर्वाह गर्छन् ।

अनुशासन समितिले विद्यार्थीको अनुशासनको पाटो हेर्छ । अनुशासन समितिका अध्यक्ष लालबाबु यादवका अनुसार विद्यार्थी समयमा आए/नआएको, गलत गरे सम्झाउने, अभिभावकलाई बोलाउने र विद्यार्थीलाई राखेर सम्झाउने लगायतको काम गर्छ ।

‘हामी प्रार्थना घण्टीदेखि विद्यालय समयसम्मको अवधिमा हुने अनुशासनमा ध्यान दिन्छौं । अब त विद्यार्थीहरू अनुशासनमा बस्ने गरी अभ्यस्त भइसकेका छन् । कुनै त्यस्तो गरेमा सम्झाउने–बुझाउने काम गरिन्छ’, अध्यक्ष यादव भन्छन् ।

विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आन्तरिक अनुगमन समितिले काम गर्छ । बाह्य निरीक्षण टोली आए/नआएको पनि प्रअ मण्डल ४–५ पटक आफैं कक्षा अनुगमन गर्ने गर्छन् । त्यसमा आन्तरिक अनुगमन समितिको पनि सक्रियता रहन्छ । विद्यालयका सबै कक्षामा सीसीटीभी क्यामेरा जडान गरिएको छ । यसका अलावा कन्ट्रोल रुमबाट पनि निगरानी गर्ने गरिन्छ ।

‘म कन्ट्रोल रुमबाट पनि सीसीटीभी वाच गर्छु । कुनै शिक्षकले लापरबाही गरे, लिजर घण्टी भयो भने तुरुन्तै फोन गर्छु । कर्मचारी पठाएर खबर गराउँछु’ उनी भन्छन्, ‘त्यसको सकारात्मक असर देखिएर विद्यार्थी संख्या निरन्तर बढिरहेको छ ।’

विद्यार्थी विद्यालय नआएको अवस्थामा समेत चासो र सक्रियता रहन्छ । त्यसका लागि परामर्श समिति र फोन इन समिति बनाइएको छ ।

विद्यालयप्रति अभिभावकको पनि चासो रहन्छ । ‘पठनपाठनको बारेमा नियमित निरीक्षण गर्ने, कमि–कमजोरीका बारे प्रअ लगायत समितिहरूलाई जानकारी गराउने र संवाद गरेर समाधान गराउने हाम्रो भूमिका रहन्छ’, शिक्षक अभिभावक संघका अध्यक्ष उतिमलाल मण्डल भन्छन् ।

विद्यालयमा कक्षा १ देखि १२ सम्मको पढाइ पूर्णतः निःशुल्क हुन्छ । विद्यालयको छात्रावासमा १५० जना विद्यार्थी आवासीय छन् । कक्षा ५ सम्मका विद्यार्थीलाई सरकारबाट दिइने दिवा खाजाको रकम नै वितरण गरिन्छ । विद्यालयभित्रै रहेको क्यान्टिनमा उनीहरूलाई खाजा खाने सुविधा पनि उपलब्ध छ ।

विद्यालय गुणस्तरीय बनाउन विद्यालय व्यवस्थापन समिति पनि उत्तिकै सक्रिय छ । व्यवस्थापन समिति अध्यक्ष राधेश्याम गोइत विद्यालयको समस्याबारे नियमित निगरानी, संवाद र समन्वय गरेर नमुना बनेको बताउँछन् ।

विद्यालयमा १० वर्ष अघि र पछिमा धेरै परिवर्तन आएको पूर्वविद्यार्थी रेणु पण्डित बताउँछिन् । ‘१० वर्षअघि र अहिलेमा धेरै फरक छ । राम्रो पठनपाठन भइरहेको विद्यार्थीबाट सुन्छु । धेरै विद्यार्थीको चाप पनि छ’, उनी भन्छिन् ।

विद्यालय गुणस्तरीय बनाउन विद्यालय व्यवस्थापन समिति पनि उत्तिकै सक्रिय छ । व्यवस्थापन समिति अध्यक्ष राधेश्याम गोइत विद्यालयको समस्याबारे नियमित निगरानी, संवाद र समन्वय गरेर नमुना बनेको बताउँछन् ।

‘मेरा ५ जना बच्चा यसैमा पढ्छन् । हामी निगरानी गर्छौं । विभिन्न समिति, उपसमितिले आफ्नो काम गर्छ । कुनै समस्या छ भने संवाद र समन्वय गरेर तुरन्त समाधान गर्नेतर्फ लाग्छौं’ उनी भन्छन्, ‘त्यसकारण आज विद्यालय सबैको विश्वास जित्न सफल भएको छ ।’

प्रार्थनादेखि परिश्रमसम्म

सबैजसो स्कुलमा नियम हुन्छन्, तर त्यसको कार्यान्वयन एकैनाशले हुन सक्दैन । यो स्कुलमा भने यस्तो हुँदैन । विद्यालयमा समय पालन, नैतिक शिक्षा र गुणस्तरीय पठनपाठनलाई प्रभावकारी बनाउन कडा र सुव्यवस्थित नियमहरू कार्यान्वयनमा ल्याइएको छ ।

प्रअ मण्डलका अनुसार विद्यालयमा पठनपाठनको सुरुआत बिहान ९ः५० बजे प्रार्थना घन्टीबाट हुन्छ । शिक्षक तथा विद्यार्थीले अनिवार्य रूपमा ९ः४५ भित्र विद्यालयमा उपस्थित भइसक्नुपर्ने नियम छ । १०ः५ बजेभित्र आइपुगेमा पनि उपस्थित मानिन्छ । तर १०ः५ पछि आए शिक्षकको हाजिरी नलाग्ने र तलबमा कट्टी हुने व्यवस्था गरिएको छ । आकस्मिक समस्या भए जानकारी गराए छुट पाइने प्रावधान पनि रहेको प्रअ मण्डलको भनाइ छ ।

प्रार्थना सभामा १० बजे लाउडस्पिकर मार्फत पीटी (शारीरिक व्यायाम) शुरू हुन्छ । त्यसपछि राष्ट्रगान, गायत्री मन्त्र र सरस्वती वन्दना सहितको आध्यात्मिक माहोलमा दिनको सुरुआत हुन्छ ।

प्रत्येक दिन दुई शिक्षक र दुई विद्यार्थीले छोटो मोटिभेसनल स्पिच प्रस्तुत गर्छन् । यसपछि विद्यालयले दिनभरका आचारसंहिता सम्बन्धी सूचना प्रवाह गर्छ । ४० मिनेटभित्र यी सम्पूर्ण प्रक्रिया सकिएपछि १०ः३० मा पठनपाठन शुरू हुन्छ ।

पठनपाठनसँगै आन्तरिक अनुगमन समिति, विद्यालय व्यवस्थापन समिति र अन्य समिति दैनिक रूपमा निगरानीमा खटिन्छन् । कुनै विद्यार्थी जानकारी विना अनुपस्थित भएमा तुरुन्तै अभिभावकलाई फोन गरिन्छ । यस कार्यका लागि शिक्षकलाई मासिक मोबाइल रिचार्ज समेत उपलब्ध गराउने गरिएको प्रअ मण्डल बताउँछन् ।

विद्यार्थी विद्यालयबाट नभागुन् भन्ने उद्देश्यले दुईपटक हाजिरी लिने गरिएको छ । अनुपस्थित विद्यार्थीबारे तुरुन्तै अभिभावकलाई खबर गरिन्छ ।

विद्यालयले नेतृत्व विकासका लागि शिक्षकहरूमाझ हप्ते रूपमा प्रअ नियुक्त गर्छ । प्रत्येक तह (प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक) का लागि पालो–पालो शिक्षकहरूलाई प्रअको जिम्मेवारी दिइन्छ । एक हप्तापछि उनीहरूको प्रगति विवरण लिइन्छ र उत्कृष्ट कार्य गर्ने शिक्षकलाई प्रार्थना सभामै दोसल्ला, डायरी र कहिलेकाहीं नगद पुरस्कारले सम्मान गर्ने गरिएको प्रअ मण्डल बताउँछन् ।

विद्यालयले संस्कारयुक्त शिक्षामा विशेष जोड दिएको छ । दैनिक प्रार्थनामा किताबी ज्ञान बाहेक विद्यार्थीलाई आमाबुबाप्रति सम्मान, घरमा कुरा गर्ने बानी जस्ता नैतिक विषयमा प्रेरित गरिन्छ । ‘यहाँ पढेर गएका विद्यार्थी ज्ञान–सीपसँगै सांस्कारिक, व्यावहारिक होस् भन्ने हाम्रो चाहना हो’, प्रअ मण्डल भन्छन् । नयाँ शिक्षण सिकाइबारे थाहा भए वर्षमा कम्तीमा दुईपटक विज्ञलाई बोलाएर शिक्षकलाई तालिम समेत प्रदान गर्ने गरिएको प्रअ मण्डलको भनाइ छ ।

शुक्रबार अतिरिक्त क्रियाकलापको दिन हो । विद्यार्थीको रुचिअनुसार गीत–संगीत, विज्ञान, प्रविधि, नृत्य, खेलकुद, चित्रकला लगायत क्रियाकलापका लागि छुट्टाछुट्टै कक्षाको व्यवस्था गरिएको छ । यसमा पनि उत्कृष्ट गर्नेहरूलाई पुरस्कारको व्यवस्था छ ।

स्थानीय जगदीश पण्डित विद्यालयमा पठनपाठन गुणस्तरीय, अनुशासित भएकाले छेउछाउका पालिका र सामुदायिक विद्यालयका विद्यार्थी यहाँ पढ्न आएको बताउँछन् । ‘आज मधेशमै उत्कृष्ट विद्यालय बनेको छ । ६ हजार विद्यार्थी एउटा सामुदायिक विद्यालयमा पढाउनु सामान्य कुरा होइन; विद्यालयप्रतिको आम मानिसको भरोसा बढ्नु हो’, उनी भन्छन् ।

शिक्षक र विद्यार्थी बीचको आत्मीय सम्बन्ध, नियमित अनुगमन र संस्कारयुक्त शैक्षिक वातावरणका कारण विद्यालय अनुशासन, गुणस्तर र मूल्यमा उदाहरणीय बन्दै गएको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?