+
+
Shares

ज्याकाराण्डाको सौन्दर्यमा लुकेको संवेदनशीलता (तस्वीरहरू)

 राणाकालमा नेपाल भित्रिएको ज्याकाराण्डा अहिले राजधानीको प्राकृतिक सुन्दरता बढाउने अभिन्न हिस्सा बनिसकेको छ । तर वनस्पतिविदहरू भने यसको विस्तारले स्थानीय जैविक विविधता संकटमा पार्न सक्ने चिन्ता गर्छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ वैशाख २१ गते १७:३१

२१ वैशाख, काठमाडौं । काठमाडौंका सडक यतिबेला ज्याकाराण्डाले रंगीन छन् । बैजनी रंगले बसन्तयाममा झन् बढी मादकता थपेको छ । काठमाडौंको पुरानो प्रेमी ज्याकाराण्डाले सडक किनार, पार्क र कार्यालय परिसर ढकमक्क छन् ।

यसको सुन्दरताको प्रशंसा नै हुन्छ । तर वनस्पतिविदहरु भने यो वाह्य प्रजाति भएकाले यहाँका स्थानीय बोटबिरुवा र वातावरणका अन्य पक्षमाथि भने जोखिम हुनसक्ने बताउँछन् । विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तनको प्रभाव ज्याकारान्डा र यस्ता अन्य मिचाहा वनस्पतिको फैलावटमा पनि परेको वनस्पतिविदहरुको चिन्ता छ ।

वनस्पतिविद डा. भरतबाबु श्रेष्ठ ज्याकाराण्डा नेपालमा निगरानीमा राख्नुपर्ने  बिरुवा भएको बताउँछन् । श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अष्ट्रेलिया, अमेरिकाको हवाई, क्विन्सल्याण्ड, अफ्रिकाका केन्या, तान्जानिया तिर यो प्राकृतिक रुपमा फैलिएर मिचाहा प्रजाति हुने सम्भावना देखाएको छ । नेपालको हकमा यसले अझैसम्म मिचाहा प्रजातिको रुप लिइसकेको त छैन तर यो बाह्य प्रजाति भएकाले निगरानीमा चाहिँ राख्नुपर्छ ।’

नेपाल कहिले भित्रियो ? कसले भित्रायो ?

ब्राजिल, मेक्सिको, अर्जेन्टिना लगायतका दक्षिण अमेरिकी देशहरूमा उत्पत्ति भएको मानिने ज्याकाराण्डा एसिया, अफ्रिका र युरोपका धेरै देशहरूमा फैलिसकेको छ । नेपालमा भने राणाकालमा भित्रिएको बताइन्छ ।

इस्वी संवतको उन्नाइसौँ शताब्दीको मध्यदेखि अन्त्य तथा बिसौँ शताब्दीको सुरुवाततिर यसको आगमन भएको अनुमान छ । नेपालमा पाइने वनस्पतिहरूबारे पनि जानकारी राख्ने इतिहासका जानकार सौरभ राणा प्रधानमन्त्री वीरशमशेरको परिवारका एक सदस्य, सुरशमशेर राणाले ज्याकारान्डाको बिरुवालाई सर्वप्रथम नेपाल ल्याएको बताउँछन् ।

सुरशमशेरले दार्जिलिङ अथवा भारतका कुनै अन्य पहाडी क्षेत्रबाट सन् १९२० को दशकमा यो बिरुवा ल्याएर हाल याक एन्ड यती होटेल रहेको क्षेत्रमा रोपेको उनको भनाइ छ ।

आफ्नो पुस्तक ‘असहमति’मा सौरभले नेपालमा ज्याकारान्डाको दोस्रो बिरुवा सार्ने व्यक्तिका रूपमा राजा त्रिभुवनको नाम लिएका छन् । त्रिभुवनले जय नेपाल सिनेमा घर अगाडि रहेको नारायणहिटी दरबारको गेटभन्दा बाहिरको तिनकुने आकारको जग्गामा राजाले ज्याकारान्डा रोपेको उनले उल्लेख गरेका छन् ।

यसैगरी वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार ज्याकारान्डा नेपाल भित्रिएको करिब डेढ सय वर्षभन्दा बढी भइसकेको छ । उनका अनुसार यो बिरुवा सबभन्दा पहिला राणा परिवारको बगैंचामा आएको र २०२७ सालपछि सरकारले टुँडिखेल वरिपरि रोपिएको बताउँछन् । त्यसपछि ज्याकाराण्डा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा फैलिएको बताइन्छ ।

यो बिरुवा जोखिम विश्लेषण नगरी नेपालमा भित्राइएकाले भविष्यमा के हुन्छ भन्न नसकिने हुँदा निरन्तर निगरानीमा राख्नुपर्ने वनस्पतिविद डा. भरतबाबु श्रेष्ठ बताउँछन् । ‘वृक्षरोपण गर्दा मुख्यतया यस्ता बाह्य प्रजातिलाई जंगलहरुमा नगर्ने र निरन्तर निगरानीमा राख्नुपर्ने हुन्छ,’ उनी भन्छन् ।

अहिले ज्याकाराण्डा बसन्तयाममा काठमाडौंको प्राकृतिक सुन्दरता बढाउने अभिन्न हिस्सा बनिसकेको छ । काठमाडौंको रिङरोड अन्तर्गत ललितपुरको एकान्तकुना–सातदोबाटो सडकखण्डको दायाँबायाँदेखि भित्री बस्तीहरुमा पनि ज्याकाराण्डा फूलेको सुन्दर दृष्य देखिन्छ । टुँडिखेल, खुलामञ्च, सिंहदरबार लगायतका स्थान ज्याकाराण्डाको बैजनी रंगले रंगिएका छन् ।

हेर्नुहोस् ज्याकाराण्डा फूलेको दृष्य :

   

    

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?