
सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्कहरू तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कुलमै खनिएको थियो भन्न सकिन्छ ।
तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।
यस वर्षमा सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।
यावत प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थीहरू पढाइरहेका छन् र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमुना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं । – सम्पादक
बुटवल । २०६५ सालसम्म बुटवलको कालिका माध्यमिक विद्यालयमा ५०० हाराहारी विद्यार्थी थिए । १४ कोठाको एउटा भवन अनि २१ जना शिक्षक र ३ जना कर्मचारी थिए । एसएलसीमा कमजोर नतिजाका कारण विद्यालय पटक–पटक कारबाहीमा परेको थियो ।
त्यसयताको डेढ दशकमा विद्यालयले शैक्षिक गुणस्तर, विद्यार्थी संख्या र पूर्वाधारमा ठूलो फड्को मारेको छ । अहिले विद्यालयमा करिब ८ हजार विद्यार्थी छन् भने ३४७ जना शिक्षक–कर्मचारी कार्यरत छन् । विद्यालयको भवन ब्लक १६ वटा छन् । दुई वटा पुस्तकालय र एउटा वाचनालय छ ।
विद्यालयमा २०० क्षमताको छात्रावास भवन छ । सम्पूर्ण कक्षाकोठा र प्रयोगशाला स्मार्ट छन् । स्कूल बसको व्यवस्था छ । वातानुकूलित कम्प्युटर ल्याब, विद्यार्थीको स्तर र उमेरअनुसार डेस्क–बेन्चको व्यवस्था छ । धेरैले यसलाई सामुदायिक शिक्षामा भएको क्रान्ति भन्छन् ।
छोटै अवधिमा गुणात्मक फड्को मारेर अब्बल नतिजा दिलाउने ‘मास्टर माइन्ड’ भने विद्यालयका तत्कालीन प्रधानाध्यापक घनश्याम पाठक हुन् । २०५५ सालमा बागलुङबाट सरुवा भई आएका पाठक २०५७ मा सहायक प्रधानाध्यापक र २०६५ मा प्रधानाध्यापक नियुक्त भए ।
२०६५ सालसम्म विद्यालयमा कक्षा १० सम्म मात्र पढाइ हुन्थ्यो । पाठक प्रधानाध्यापक भएलगत्तै प्लस टुतर्फ कक्षा ११ को पढाइ शुरू भयो । त्यसबेला सरकारी विद्यालयप्रति आकर्षण कम थियो । सरकारी विद्यालयलाई गरिब वर्गका विद्यार्थी अध्ययन गर्ने थलो भनेर हेय दृष्टिले हेरिन्थ्यो ।
जुझारु र खरो स्वभावका पाठकले प्लस टु शुरू गरेपछि विद्यार्थी थपिन थाले । दुई वर्षमै विद्यालयले गुणस्तर सुधारसँगै विद्यार्थी संख्यामा उल्लेख्य प्रगति गर्यो । २०७३ सालको एसएलसी परीक्षामा राष्ट्रिय रूपमा प्रथम र २०७४ सालमा राष्ट्रिय रूपमा तृतीय स्थान हासिल गरेको विद्यालयले २०७५ सालमा शिक्षा मन्त्रालयबाट नमूना विद्यालयको मान्यता पाएको थियो । कालिका २०७२ देखि २०७८ सम्म एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण बनाउन सफल भएको थियो ।
यो विद्यालय २०८० सालमा १६ वटा सूचकमा राष्ट्रिय रूपमा प्रथम र २०८१ मा कक्षा १२ को परीक्षामा उत्कृष्ट घोषित भएको थियो ।
उत्कृष्ट नतिजाका कारण विद्यालयमा बोर्डिङ स्कूल पढ्ने अब्बल विद्यार्थीको समेत आकर्षण बढ्यो । भौतिक पूर्वाधार पर्याप्त नहुँदा भर्ना हुन आउने सयौं विद्यार्थी त्यसै फर्किन्थे । कालिकानगरमा रहेको जग्गा र पूर्वाधारले बढ्दो विद्यार्थी चापलाई थेग्न नसक्ने देखेपछि विद्यालयले छिमेकी विद्यालयसँग मर्ज (एकीकरण) को जुक्ति लगायो । फलस्वरुप २०७५ सालमा बुटवल–१० मा रहेको मानवज्ञान माविसँग एकीकरण गरी कालिका मानवज्ञान मावि नामकरण गरियो ।
हाल कालिका माविको २ बिघा २ कट्ठा जग्गा छ भने मानवज्ञान माविको ३ बिघा २ कट्ठा जग्गा छ ।
मर्जपछि कालिका माविको भवनलाई सेक्टर १ र मानवज्ञानको भवनलाई सेक्टर २ बनाई अध्यापन भइरहेको छ । अहिले मानवज्ञान मावि रहेको भवनमा कक्षा १ देखि १० सम्म नै अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएको छ । कालिका मावि रहेको भवनमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा सञ्चालन भइरहेको छ ।
प्राविधिक शिक्षा अन्तर्गत कक्षा ९–१२ मा कम्प्युटर इन्जिनियरिङ सञ्चालित छ । विद्यालय २०७१ सालदेखि हालसम्म प्राविधिक शिक्षामा नेपाल प्रथम भई पटक–पटक पुरस्कृत भइसकेको छ । कक्षा ११ र १२ मा व्यवस्थापन, विज्ञान, कानूनका कक्षा सञ्चालनमा छन् ।
दुई विद्यालय मर्जपछि कालिका मानवज्ञान नेपालका ३० हजार सामुदायिक विद्यालयमा सबैभन्दा धेरै विद्यार्थी र शिक्षक–कर्मचारी भएको ठूलो विद्यालय बनेको छ ।
‘कुशल नेतृत्व, स्पष्ट योजना र चुस्त व्यवस्थापन पक्षको सामूहिक टिम वर्कले विद्यालयले छलाङ मारेको हो’ प्रधानाध्यापक दिनेश थापाले भने, ‘यसअघिका प्रधानाध्यापक घनश्याम पाठक र उहाँको टिम, तत्कालीन व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गलामी सबैको मिहिनेत र सक्रियताले विद्यालय अहिले नेपालकै ठूलो र गुणस्तरमा अब्बल बनेको छ ।’
शैक्षिक गुणस्तरमा मात्र नभई खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि विद्यालय अब्बल रहेको थापाले बताए । ‘खेलकुदमा पनि नगर, जिल्ला र राष्ट्रियस्तरमै उच्च उपलब्धि हासिल गर्दै आएका छौं’, उनले भने ।
शैक्षिक सत्र २०७९/८० मा शिक्षा तथा मानव विकास केन्द्रबाट देशभरबाट छनोट भएका २१ उत्कृष्ट विद्यालयमध्ये कालिका मानवज्ञान ९३ .५ अंकसहित सर्वोत्कृष्ट घोषित हुँदै नगद एक लाख पुरस्कार पाएको थापाले बताए । सोही वर्ष उत्कृष्ट असल अभ्यास विधामा पनि संघ सरकारबाट विद्यालय पुरस्कृत भएको प्रधानाध्यापक थापाले बताए । स्कुलले गत वर्ष प्लस टु एक्सिलेन्स अवार्ड समेत प्राप्त गरेको थियो ।
नेतृत्व (प्रधानाध्यापक) ले विद्यालयलाई कस्तो बनाउने भन्ने स्पष्ट र सही योजना बनाएर त्यसलाई लागू गर्न आफू मातहतका शिक्षक कर्मचारीलाई मोटिभेसन गर्न सकेकाले विद्यालय देशकै ठूलो मात्र नभई ब्रान्ड नै बनेको पूर्व प्रधानाध्यापक पाठक बताउँछन् ।
‘नेतृत्वको कुशलता, शिक्षकको शिक्षण कला र व्यवस्थापन समितिको व्यवस्थापन कला दुवै लिडरसिपको टिम वर्कले विद्यालय देशकै ट्रेडमार्क बनेको छ । यो स्कूलमा नर्सरीमा भर्ना भएका विद्यार्थी मास्टर्स डिग्रीसम्मै यो संस्था छाडेर अर्को रोज्न खोज्दैनन्’ पाठकले भने, ‘१२ कक्षापछिको उच्च शिक्षा पनि विद्यालयकै पूर्व प्रधानाध्यापकले नेतृत्व गरेको क्याम्पसमा पढ्न पाउँछन् ।’ विद्यालयलाई अब्बल बनाएका पाठक हाल बुटवल कालिका क्याम्पसको प्रमुख छन् ।
प्रधानाध्यापकको कुशल नेतृत्व, शिक्षक कर्मचारीको कडा मिहिनेत, अभिभावकको अपनत्व, स्थानीय, प्रदेश र संघीय सरकारको आर्थिक सहयोगले विद्यालयले निरन्तर सफलता हासिल गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले बताए ।
स्रोत व्यवस्थापनमा भने विद्यालयलाई ठूलै चुनौती छ । ३४७ शिक्षक–कर्मचारीको तलबमध्ये २५ प्रतिशत मात्र सरकारी अनुदानबाट प्राप्त हुन्छ । ७५ प्रतिशत तलब आन्तरिक आम्दानीबाट जुटाउने गरिन्छ । आन्तरिक आयस्रोतका रूपमा विद्यालय अगाडिपट्टिका सटर र चमेनागृहको भाडा, अभिभावकको सहयोग (चन्दा), परीक्षा शुल्क, बस भाडा, परीक्षा शुल्क, स्थानान्तरण शुल्क, प्रयोगात्मक परीक्षा शुल्क, निवेदन सिफारिस आदि रहेको प्रधानाध्यापक थापाले बताए ।
गत वर्ष विद्यालयको कुल खर्च ७३ करोड ३६ लाख भएकोमा अभिभावकबाट सहयोग बापत १५ करोड २७ लाख ४९ हजार, स्कूल बस भाडा र बस कार्डबाट २ करोड २६ लाख, परीक्षाबाट एक करोड १२ लाख, सटर तथा चमेना गृहको भाडाबाट ५६ लाख ८४ हजार आम्दानी भएको छ ।

‘संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेको छ तर सरकारले विद्यालयका शिक्षक र कर्र्मचारी सबैको तलब दिंदैन । हाम्रो विद्यालयलाई सरकारले २५ प्रतिशत मात्र दिन्छ, बाँकी ठूलो हिस्सा विद्यालय आफैंले व्यवस्थापन गर्नुपरेको छ, यो निकै ठूलो चुनौती हो’ थापाले भने, ‘विद्यार्थी संख्या र नतिजाको आधारमा दरबन्दी र दरबन्दी अनुसार सञ्चालन खर्चको व्यवस्था सरकारले गर्ने हो भने मात्रै समग्र सामुदायिक विद्यालय सञ्चालन गर्न सहज र नतिजा सुधार हुन्छ ।’
विद्यालयमा करिब ५० प्रतिशत गरिब र बाँकी मध्यम वर्ग, धनी तथा शिक्षक/कर्मचारीका छोराछोरी अध्ययन गर्ने प्रधानाध्यापक थापाले बताए । विद्यालयले हरेक शैक्षिक सत्रमा भर्ना गर्न सकिने निश्चित सिटमा विद्यालय रहेको वडा र पालिकालाई पहिलो प्राथमिकता दिएको तर अन्य जिल्लाबाट समेत भर्ना हुन चाहनेको चाप अत्यधिक हुँदा सबैलाई भर्ना गर्न नसकिएको थापाले बताए ।
‘मुख्यतः सामुदायिक विद्यालय गरीब तथा विपन्न वर्गका बालबालिकाको सहज पहुँचमै छन् । तर विद्यार्थीको चाप बढी, पूर्वाधार अपर्याप्त भएका कारण शतप्रतिशतका लागि पहुँच छ भन्न सक्ने अवस्था छैन’ प्रधानाध्यापक थापाले भने, ‘सीमित कक्षाकोठा र शिक्षक दरबन्दी कम भएका कारण विद्यार्थी र अभिभावकले चाहँदाचाहँदै पनि माग अनुसार विद्यार्थी भर्ना गर्न सकेका छैनौं । सामुदायिक विद्यालयमा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न सरकारले नै सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार, शिक्षक दरबन्दी थपेर शिक्षामा लगानी बढाउनुपर्छ ।’
असल अभ्यास र शिक्षण शैली
बालबालिकाको शैक्षिक विकासका लागि कक्षागत योजना र व्यवस्थापन अवलम्बन गरी शिक्षण सिकाइ कार्य सञ्चालन गरिएको प्रधानाध्यापक थापा बताउँछन् । जसमा कक्षा ३ सम्म एकीकृत मूल्याङ्कन प्रणाली, ४ देखि ८ सम्म आन्तरिक र अन्तिम मूल्यांकन, ९ देखि १२ सम्म विषयगत अध्यापन र विधागत सिकाइ व्यवस्थापन रहेका छन् ।
विद्यार्थी आफैंले आफ्नो मूल्यांकन, शिक्षक–विद्यार्थी समन्वय र कक्षा कोठा व्यवस्थापन, सामूहिक छलफल र विद्यालय योजना निर्माण, सहभागितामूलक व्यवस्थापन र कार्यान्वयन पद्धति, व्यावहारिक सिकाइमा जोड, अभ्यास गरेर सिक्ने–सिकाउने व्यवस्था, विद्यार्थीबाट शिक्षकको मूल्यांकन, दैनिक कक्षा व्यवस्थापनमा विद्यार्थीको सहभागिता, असल अभ्यास अन्तर्गत शिक्षण शैली बनाएको थापाले बताए ।
हरेक दिनको प्रार्थना समयमा महत्वपूर्ण घटना र विषयमा विचार राख्ने अवसर र सांगीतिक पिटीको व्यवस्था गरिएको छ । ‘शिक्षक खुशी भए विद्यार्थी खुशी हुन्छन् भन्ने मान्यता आत्मसात् गर्दै असल संस्कार र सभ्यता, बोली, भाषा, व्यवहार सामाजिकीकरण, ठूलालाई आदर सम्मान र सानालाई माया गर्ने संस्कारलाई प्राथमिकतामा राखेका छौं’ थापाले भने, ‘अभिभावकलाई आफ्ना बालबालिकाको गतिविधि र सिकाइ अवस्थाबारे जान्न र सुझाव लिन निरन्तर अन्तरक्रिया गरी सकारात्मक सुझाव अनुसार अघि बढेका छौं ।’
अन्य असल अभ्यासहरूमा शिक्षण विधि अभिमुखीकरण तथा अभिवृद्धि कार्यक्रम, प्रश्नपत्र निर्माण कार्यशाला, विषय प्रमुखबाट कक्षा अवलोकन र सुधारका उपाय आदानप्रदान, कक्षाकोठामा आईसीटीको प्रयोग, विना शैक्षिक सामग्री शिक्षकहरू कक्षाकोठामा प्रवेश नगर्ने प्रतिबद्धता, कक्षाकोठामा पुग्दा शिक्षक मुस्कान सहित प्रस्तुत हुने, विद्यार्थीको सहज पहुँचमा उजुरी पेटीका राख्ने र इन्चार्जद्वारा त्यसको उचित सुनुवाइ गर्ने व्यवस्था गरिएको छ ।
प्रत्येक विद्यार्थीको डिजिटल प्रोफाइल तयार गरी विद्यार्थी मूल्याङ्कनको व्यवस्था, सफ्ट स्किललाई पूर्णरूपमा लागू, दण्डहीन (बालमैत्री) शिक्षण सिकाइ अभ्यास, कार्य सम्पादन मूल्याङ्कनका आधारमा शिक्षकहरू बीच प्रतिस्पर्धात्मक वातावरण तयार गरी प्रत्येक वर्ष उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था र किसानसँग विद्यार्थी कार्यक्रम विद्यालयको असल अभ्यास रहेको प्रधानाध्यापक थापाले बताए ।
जेहेनदार र विपन्न विद्यार्थीलाई आर्थिक सहयोग र प्रोत्साहनका लागि विद्यालयमा ५५ वटा अक्षयकोष स्थापना भएका छन् । जसमा, कुल १ करोड १३ लाख ३५ हजार रुपैयाँ संकलित छ । ५५ जना व्यक्तिले स्थापना गरेको उक्त कोषबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण हुँदै आएको प्रधानाध्यापक थापाले बताए ।
विद्यालयले द्वन्द्व पीडित र अनाथ तथा असहाय बालबालिकाको लागि छात्रावासको पनि व्यवस्था गरेको छ । २०० जना क्षमताको छात्रावासमा आवासीय पढाइको सुविधा छ ।
यस्तो छ विगत
७ पुस २०१८ मा बुटवलको योगीकुटीमा विश्व शान्ति नेपाल राष्ट्रिय प्रावि स्थापना भयो । स्थानीयको अग्रसरतामा स्थापना भएको यो विद्यालय पछि कालिकानगरमा स्थानान्तरण भयो । कालिका मावि नामकरण सहित २०२९ सालमा निमावि र २०३२ सालमा माध्यमिक तह स्वीकृत भई २०६५ सालमा उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११/१२ को कक्षा सञ्चालन भएको हो ।
विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको उच्च मागलाई मध्यनजर गरी २०६७ सालमा कक्षा ११/१२ मा विज्ञान विषय, २०७० मा प्राविधिक विषय कम्प्युटर इन्जिनियरिङ र २०७३ सालमा कानून विषय थप गरिएको थियो ।
भौतिक पूर्वाधार

विद्यालयको कुल जग्गा ५ बिघा ८ कट्ठा, जुन कालिकानगर र रामनगर गरी दुई स्थानमा छ । विद्यालयको भवन ब्लक १६ वटा छन् । जसमा दुई वटा ब्लक छात्रावास तथा प्रशासनिक कार्यका लागि प्रयोग भएको छ भने दुई वटा व्यावसायिक कार्यका लागि र पुस्तकालय, सङ्ग्रहालय, संगीत कक्ष लगायत वाचनालयका लागि प्रयोग भएको छ । अन्य ब्लकहरू शैक्षिक कार्यका लागि प्रयोग भएका छन् । एउटा अभिभावक प्रतीक्षालयको व्यवस्थापन गरिएको छ । गार्ड रुम दुई वटा छन् । विद्यार्थीका निम्ति दुई वटा खेल मैदान छन् । जहाँ विभिन्न खेल र दैनिक रूपमा प्रार्थना गर्ने गरिएको छ । एउटा बाल उद्यान छ ।
दैनिक पठनपाठनका लागि आवश्यक पर्ने विज्ञान प्रयोगशाला ८ वटा, कम्प्युटर प्रयोगशाला ५ वटा तथा डिजिटल प्रयोगशाला, इलेक्ट्रोनिक प्रयोगशाला र डिजिटल कार्यशाला एक–एक वटा छन् ।
विद्यालयका सबै भवनमा गरी १२८ वटा कक्षा कोठा छन् । ७ वटा शिक्षक कक्ष, एउटा प्रधानाध्यापक कक्ष, ३ वटा लेखा प्रशासन कक्ष, २ वटा परीक्षा व्यवस्थापन कक्ष, १२ वटा प्रयोगशाला, १ म्युजियम, १ संगीत, २ पुस्तकालय, १ वाचनालय छन् ।
यस्तै दुई वटा प्राथमिक उपचार केन्द्र, ३० वटा छात्रावास कोठा, २ वटा होस्टल वार्डेन कक्ष, ३ वटा क्यान्टिन, स्टोर कर्मचारी कक्ष, व्यवस्थापन समिति र अध्यक्ष कार्यकक्ष, होटल व्यवस्थापन प्रयोगशाला र होस्टल किचेनका एक–एक वटा कोठा छन् । दुई वटा कार्यक्रम तथा सभा हलको व्यवस्था गरिएको छ । विद्यार्थी तथा शिक्षक–कर्मचारीका निम्ति २७ वटा शौचालय छन् ।
२०० सिट क्षमताको छात्रावासमा ३७ जना अनाथ तथा गरिब विद्यार्थी अध्ययन गरिरहेका छन् । छात्रावास सञ्चालन व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारको सहयोग छ । कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने र विद्यार्थीको सम्पूर्ण भरणपोषण कार्य समेत विद्यालयले व्यवस्थापन गर्ने गरी सञ्चालित यो छात्रावास नेपालमै पहिलो हो ।
दैनिक पठनपाठनका लागि आवश्यक पर्ने शैक्षिक सामग्री लगायत ४४ वटा प्रोजेक्टर, ५४ वटा स्मार्ट बोर्ड, २० वटा स्मार्ट टेलिभिजन, शिक्षक निर्देशिका साथै विषयगत शिक्षण सामग्री व्यवस्थापन गरिएको छ ।
विज्ञान, कम्प्युटर, गणित लगायत प्रयोगशालामा विभिन्न उपकरण व्यवस्थापन गरिएको छ । कम्प्युटर १८० सेट, १४ वटा ल्यापटप र एउटा सर्भर कम्प्युटरको व्यवस्था गरी विद्यार्थीलाई प्रयोगशालामा सहज वातावरणमा अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । थ्रीडी प्रिन्टर एक थान तथा माइक्रोस्कोप लगायत रसायन विज्ञान, भौतिकविज्ञान, जीवविज्ञान, गणित प्रयोगशालाका सम्पूर्ण सामग्री दुई सेट व्यवस्था गरिएको छ ।
१२९ कक्षाकोठा, प्रयोगशाला तथा कार्यालयमा आवश्यक पर्ने सम्पूर्ण फर्निचर आधुनिक छन् । विद्यालयमा १ हजार ९३५ सेट आधुनिक डेस्क–बेञ्चको व्यवस्था छ ।
प्रतिक्रिया 4