
२३ वैशाख, हेटाैंडा । बागमती प्रदेश सभाकाे साेह्राैं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएकाे छ ।
हेटाैंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले साेह्राैं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाकाे अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुख दिपकप्रसाद देवकाेटा छन् ।
यसैगरी, साेह्राैं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । प्रदेश सरकारले आगामी आवकाे लागि बजेट निर्माणकाे तयारी गरिरहेकाे छ । आर्थिक मामिला तथा याेजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १४ वटा मन्त्रालयलाई गत ४ वैशाखमा ५५ अर्बकाे बजेट सिलिङ ताेकेकाे थियाे ।
बागमती प्रदेश सभाकाे पन्ध्राैं अधिवेशन गत २० चैतमा अन्त्य भएकाे थियाे । प्रदेशसभाका विपक्षी दलहरूले बजेट सम्बन्धि सरकारसँगकाे पूर्वसहमति कार्यान्वयन नभए सदन चल्न नदिने चेतावनी दिएपछि २० चैत बुधवार बिहान बसेकाे मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेकाे थियाे । विपक्षी दलहरूले सांसदका याेजनामा अपुग रकम थप गर्नुपर्ने आवाज उठाएपछि गत कार्तिकमै सरकारसँग लिखित सहमति भएकाे थियाे । सरकारले विपद्लगायतका कारण देखाउँदै सांसदका याेजनामा बजेट थप्न नसक्ने बताउँदै आएकाे थियाे ।
गत १८ माघ २०८१ बाट सुरु पन्ध्रौं अधिवेशनमा ७ वटा बैठक बसेको छ । विधेयक अधिवेशनको रूपमा चिनने हिउँदे अधिवेशनबाट नयाँ विधेयक पास हुन सकेकाे थिएन । यसअघि सरकारले तीन वटा संशोधन विधेयक प्रस्तुत गर्न लागेको थियो । मदन भण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठान ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहे पनि बैठक बस्न नसक्दा संशाेधन विधेयक प्रदेशसभामै अड्किएकाे सरकारका प्रवक्ता कानुनमन्त्री लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया 4