
२५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका छन् ।
भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान सञ्चालन गरेको बेला पूर्वमन्त्री समेत रहेका शर्माको यो भनाइ सार्वजनिक भएको हो । उनले आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको बताएका छन् ।
शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतले आतंकवाद विरुद्ध “अपरेसन सिन्दूर’’ सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’
अप्रिल २५ तारिकको दिन भारत कश्मिरको पहलगाममा आतंकवादीहरुले एक नेपालीसहित २६ पर्यटकको हत्या गरेको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानी भूमिमा आक्रमण थालेको थियो । आतंकवादीहरुलाई संरक्षण गरेको आरोप लगाउँदै भारतले पाकिस्तानमाथि आक्रमण थालेको हो । यो सैन्य अभियानलाई भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएको छ ।
भारतीय सेनाले आतंकवादी बसेका नौ स्थानमा लडाकु विमानमार्फत् एयर स्ट्राइक गरेको दाबी गरेको छ । भारतको आक्रमणबाट ३१ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको पाकिस्तानका प्रधानमन्त्रीले स्वीकार गरेका छन् । साथै उनले यो आक्रमणको बदला लिने घोषणा पनि गरेका छन् ।
प्रतिक्रिया 4