
१८ जेठ, प्युठान । लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्युठानको मुहार परिवर्तन गर्ने वाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । प्युठानको विकास र समृद्धिका थुप्रै योजना बजेटमा समेटिने उनको भनाइ छ ।
प्युठानको सबैभन्दा दुर्गम बाहाने–स्याउलीबाङ सडकका लागि अघिल्लो सरकारमा आफू उद्योग तथा यातायात मन्त्रीको जिम्मेवारीमा रहँदा ४२ करोड १५ लाख विनियोजन भएको र यसपटक सहरी विकास तथा खानेपानी मन्त्री हुँदा बाग्दुला–मच्छी सडकलाई ३० करोड बजेट संघीय समपुरकबाट विनियोजन भएको उनले जानकारी गराएका छन् ।
यो सुरुवात मात्रै हो भन्दै उनले अरु थुप्रै काम यस वर्षको बजेटमा समेटिने बताएका छन् ।
‘प्युठानको मुहार यसैपालि परिवर्तन गर्ने मेरो बाचा अनुसार प्युठानको सबैभन्दा दुर्गम बाहाने–स्याउलीबाङ सडकका लागि अघिल्लो सरकारमा म उद्योग तथा यातायात मन्त्रीको जिम्मेवारीमा रहँदा ४२ करोड १५ लाख संघीय समपुरक योजना मार्फत विनियोजन गरी काम भैरहेको छ भने यो सरकारमा सहरी विकास तथा खानेपानी मन्त्रीको जिम्मेवारीमा रहँदै गर्दा ४० वर्ष पहिला बाटो निर्माण सुरु भएता पनि विभिन्न नाम र बाहानामा ओझेल परेको बाग्दुला–मच्छी सडकलाई यसै वर्ष संघीय समपुरकबाट ३० करोड बजेट विनियोजन भएको छ,’ उनले भनेका छन्, ‘यो सुरुवात हो ।’
उनले थप लेखेका छन्, ‘मेरो उद्देश्य एउटै छ– तपाईंहरुसँगको बाचा अनुसार प्युठानको मुहार फेर्ने । अरु थुप्रै विकास र सम्वृद्धिको काम यस वर्षको बजेटमा हजुरहरुले अनुभूति गर्न पाउनुहुनेछ ।’
प्युठानको विकास अभियानमा सबैको साथ पाउने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4