+
+
Shares

पोर्चुगलमा नेपालीलाई पुलिस रिपोर्ट प्रमाणीकरण गर्न सास्ती

नेपालदेखि उक्त कागज बनाउन गरेको खर्चको हिसाब नेपाली ४० हजार रुपैयाँ हुन आउँछ । जुन रकम उनले एक महिनाभरी काम गर्दा हुने कमाइबाट आफ्नो खर्च कटाएर हुने बचत हो ।

कपिलदेव खनाल कपिलदेव खनाल
२०८२ जेठ १८ गते १२:०१
पोर्तोमा रहेको पोर्चुगिज कन्सुलर कार्यालयमा कागजात प्रमाणीकरणका लागि लागेको लाइन ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगलमा नेपालीहरूले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणमा कठिनाइ भोगिरहेका छन्।
  • अलकन्त्रा कार्यालयले नेपालीको रिपोर्ट प्रमाणीकरण गर्न अस्वीकार गर्दा पोर्तो कार्यालयमा लामो लाइन लाग्ने गरेको छ ।
  • अनियमितता र दलालहरूको संलग्नताका कारण प्रहरी रिपोर्टको प्रमाणीकरणमा समस्या देखिएको छ।

१८ जेठ, पोर्चुगल । पोर्चुगलमा रहेका नेपालीले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) प्रमाणीकरणमा सास्ती पाइरहेका छन् । पोर्चुगिज सरकारले उक्त सेवाका लागि दुई स्थान तोके पनि एउटा कार्यालयबाट मात्रै नियमित सेवा सञ्चालन हुँदा सेवाग्राहीले सास्ती पाएका हुन् ।

पोर्चुगिज सरकारको परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागबाट पुलिस रिपोर्ट प्रमाणीकरण गर्नुपर्ने हुन्छ । त्यसका लागि अलकन्त्रा र पोर्तोमा कार्यालय रहेको छ ।

राजधानी लिस्बन स्थित अलकन्त्रा कार्यालयले पुलिस रिपोर्टको प्रमाणीकरण नियमित गरेको छैन । पोर्तो पुग्न राजधानी लिस्बनबाट रेलबाट तीन घण्टा भन्दा बढी समय लाग्छ ।

आप्रवासी तथा पोर्चुगिज नागरिकहरूलाई कन्सुलर सेवा दिने कार्यालय दुई वटा मात्रै भएकोले भिड लाग्ने गरेको छ । त्यसैले अघिल्लो रातिदेखिनै नेपालीहरू कन्सुलर कार्यालय अगाडि लाइन बस्ने गरेका छन् ।

दैनिक डेढ सय जनाको हाराहारीमा मात्रै काम हुने भएकोले रातिदेखि नै लाइनमा बसेर बिहान सेवा लिन लागेको पोर्तो कन्सुलर कार्यालय अगाडि लाइनमा रहेकी एक नेपालीले सुनाइन् । उनी भुईंमा ओछ्याउने कागज र ओढ्ने ब्याल्ङ्केट सहित बिहीबार रातिदेखि नै लाइनमा बसेकी थिइन् ।

उनी पोर्चुगलमा अस्थायी आवास कार्ड प्राप्त गर्नका लागि आवश्यक पर्ने नेपालको पुलिस रिपोर्ट प्रमाणीकरण गर्न पोर्तो गएकी हुन् । आउने मंगलबारसम्ममा उक्त कागज प्रमाणित गरेर पेस गर्नुपर्ने भएकोले उनले यो सास्ती उठाएको बताइन् ।

उनीसंगै बस्दै आएकी अर्का साथी लिस्बनको अलकान्त्रा स्थित कन्सुलर कार्यालयमा पुगिन् । ‘कहिले काम भएको पनि सुनेको र फेसबुकहरूमा पोष्ट देखेर नजिकै ट्राइ गरुँ भनेर अलकन्त्रा आएको मेरो काम भएन,’ उनले भनिन् ।

उनीहरू जस्ता अधिकांश नेपालीले अहिले कागजात प्रमाणीकरण गर्न झन्झट बेहोरिरहेका छन् । दैनिक सयौंको संख्यामा सेवा लिन पुग्ने सेवाग्राहीका कारण यहाँको कन्सुलर विभागले सेवा दिन सकिरहेको छैन ।

नेपालमा वडा कार्यालयमा तयार हुने कागजात सम्बन्धित पालिका कार्यालय, परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग र लिस्बन वा अन्य मुलुकमा रहेको दूतावासमा गरी तीन वटा कार्यालयमा सहिछाप गरेर पोर्चुगिज वकिल मार्फत् पोर्चुगिज भाषामा उल्था गरेपछि मात्रै पोर्चुगल सरकारको कन्सुलर विभागमा प्रमाणीकरणको लागि योग्य हुन्छ ।

नेपालीको मात्रै अड्कियो

लिस्बनस्थित अलकन्त्रा कन्सुलर कार्यालयले नेपाली नागरिकहरूको मात्रै प्रहरी चारित्रिक प्रमाण पत्र (पुलिस रिपोर्ट) प्रमाणीकरण गर्न मानिरहेको छैन । नेपालीको अन्य कागजात प्रमाणीकरण गरिरहेको भएपनि पुलिस रिपोर्ट प्रमाणीकरणमा उक्त कार्यालयले इन्कार गर्दै आएको छ । तर पोर्तोमा रहेको उही कार्यालयले भने पुलिस रिपोर्ट प्रमाणीकरण गरिरहेको छ ।

तीन साता अघि अलकन्त्राको उक्त कार्यालयमा पोर्चुगिज सरकारको उच्च तहको कार्यालयले छापा मार्दै अनियमित रूपमा काम गर्ने आफ्नै एक जना सरकारी अधिकृतलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ती अधिकृतले दलाल तथा सेवाग्राहीसँग सरकारी राजश्व भन्दा बाहेक रकम असुलेर पुलिस रिपोर्ट प्रमाणीकरण गर्ने गरेको तथ्य सार्वजनिक गरेका थिए । सोही घटनामा १५ जना भन्दा बढी पक्राउ समेत परेका छन् ।

नेपाली केही व्यक्तिहरूले सञ्चालन गरेको किराना पसल तथा साइबर पसलबाट बढी पैसा लिएर कार्यालय समयभन्दा अगाडि र पछाडि कन्सुलर कार्यालयमा पहुँच राखी काम गराउने गरेको तथ्य सार्वजनिक भएको थियो । तिनै व्यक्तिहरू संलग्न भएको कतिपय पुलिस रिपोर्ट त नक्कली समेत फेला परेको थियो ।

भारतमा रहेको पोर्चुगिज दूतावासमा प्रमाणीकरण गरेर ल्याइएको भनिएका सयौं नेपालीहरूको पुलिस रिपोर्ट नक्कली भेटिएको थियो । पोर्चुगिज प्रहरीले लिस्बनमा रहेको केही पसल र व्यक्तिगत कार्यालयहरूमा छापा मार्दा त्यसरी बनाइने कागजमा प्रयोग हुने विभिन्न कार्यालय र दूतावासका निशानछापहरू समेत बरामद गरेको थियो । त्यसमा नेपालीहरूको समेत प्रत्यक्ष संलग्नता पाइएको छ ।

नेपालको एउटा पुलिस रिपोर्ट भारतमा रहेको नेपाली र पोर्चुगिज दूतावासमा छाप लगाएर लिस्बन ल्याइपुर्‍याउँदा दलालले कम्तिमा दुई सय युरो (नेपाली ३० हजार रुपैयाँ भन्दा बढी) लिने गरेका छन् । त्यसमा केही नेपाली बिचौलिया तथा केही नेपालीले सञ्चालन गरेका ‘सेवा दिने कार्यालय’हरूसमेत जोडिएपछि नेपालको पुलिस रिपोर्ट प्रमाणीकरणलाई उक्त कार्यालयले स्थगनमा राखेको बुझिएको छ ।

प्रत्यक्ष रूपमा कार्यालयमै उपस्थित भएर सेवा लिन जाने नेपालीहरूलाई भने केही समयपछि आउनु भन्ने जवाफ अलकन्त्रा स्थित कन्सुलर कार्यालयले दिने गरेको छ । कार्यालयमै उपस्थित भएर प्रहरी रिपोर्ट बुझाउन नसक्ने भएपछि नेपालीहरूले हुलाक मार्फत कागज पठाउने गरेका छन् ।

हुलाकबाट प्राप्त भएको नाता प्रमाणपत्र, जन्मदर्ता, विवाह दर्ता, ड्राइभिङ लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायतका कागजजात प्रमाणीकरण गर्ने भएपनि प्रहरी रिपोर्टको काम भने सो कार्यालयले गर्न अस्वीकार गर्दै आएको छ ।

‘मैले सीटीटीबाट कुरियर गरेर यो कार्यालयमा प्रहरी रिपोर्ट पठाएको एक महिना भयो तर यिनीहरूले कागज प्रमाणीकरण गर्न मानेनन्’ राम सिंहले भने । उनले पेरिस स्थित दूतावासबाट प्रमाणीकरण गराएर ल्याएको पुलिस रिपोर्ट पोर्चुगिज कन्सुलर कार्यालयमा हुलाक मार्फत् पेस गरेका छन् ।

दोस्रो पटक आफ्नो कागज लिन आएका उनलाई कार्यालयले बुधवार पनि उक्त कागजमा भएको दूतावासको छाप र हस्ताक्षर ‘भेरिभाई’ हुने चरणमा रहेको जवाफ दिएर फर्काएको छ । राजधानी लिस्बनबाट निक्कै पर फारो जिल्लामा कामगर्ने उनलाई फेरि पनि आउनको लागि काममा बिदा मिलाउन र आउने जाने खर्चको प्रबन्ध गर्न समस्या छ ।

रेलमै तीन घण्टा भन्दा बढी आउन समय लाग्ने सुनाउँदै उनले भने, ‘अघिल्लो पटक पनि म लिस्बनमा आएर होस्टलमा बसेर आज बिहानै हिंडेको बल्ल आइपुगेको छु, काम नभएपनि आज फेरि लिस्बनमै बास बस्नु पर्ने भयो ।’

प्रहरी चारित्रिक प्रमाणपत्रको अवधि तीन महिनाको मात्रै हुन्छ । अब उनको उक्त कागजका कानूनी मान्यताको समयावधि १५ दिन पनि बाँकी छैन ।

नेपालदेखि उक्त कागज बनाउन गरेको खर्चको हिसाब नेपाली ४० हजार रुपैयाँ हुन आउँछ । जुन रकम उनले एक महिनाभरी काम गर्दा हुने कमाइबाट आफ्नो खर्च कटाएर हुने बचत हो ।

‘अब यो पुलिस रिपोर्ट १५ दिनमा मेरो हात पर्दैन, फेरि अर्को खर्च गरेर नयाँ बनाउनुपर्ने भयो । उता टीआरसी यो कागज नबुझाई पाइन्न’, सिंहले भने, ‘सन् २०२२ देखि यही टीआरसीको लागि लडाइँ गरिरहेको छु, तीन वर्ष भयो अब पुलिस रिपोर्टले रुवायो मलाई ।’

तर, लिस्बन स्थित नेपाली दूतावासका दिनेश गुरुङले भने अलकन्त्रा कन्सुलर कार्यालयले पनि नेपाली प्रहरी रिपोर्टको प्रमाणीकरण गर्न थालेको जनाएका छन् । ‘आफै लाइनमा बस्नेहरूको काम भएको भन्ने सुनिएको छ’, गुरुङले टेलिफोनमा भने, ‘एउटै निकायको पोर्तोको कार्यालयले गर्ने अर्को कार्यालयले नगर्ने भन्ने हुँदैन उनीहरूको केही प्रविधिक समस्याका कारण यस अघि काम नभएको हुनसक्छ, अहिले नेपालीहरूको पनि काम हुन थालेको सुनेको छु ।’

सामाजिक सञ्जालहरूमा पनि फाट्टफुट्ट रूपमा मात्रै नेपाली प्रहरी रिपोर्ट प्रमाणीकरण भएको जानकारी उपलब्ध छ । सरकारी कामकाजको बारेमा फेसबुक मार्फत् नेपालीहरूलाई जानकारी दिइरहेका गंगाबहादुर नेमकुलले दुई दिन अलकन्त्राको कार्यालयले पनि नेपाली प्रहरी रिपोर्टको प्रमाणीकरण गरेको र फेरि अर्को दिनबाट रोकेको बताए ।

‘एक दिन काम भएको म आफैं पुगेको दिन थाहा पाएको हुँ, कार्यालयको नियमका कारण फोटो खिच्न सकिनँ’, नेमकुल भन्छन्, ‘लाइनमै बसेर एक जना नेपालीले आफ्नो कागज बनाउनुभएको थियो, त्यसको भोलिपल्ट फेरि प्रमाणीकरण गर्न नमानेको थाहा पाएँ ।’

लेखक
कपिलदेव खनाल

कपिलदेव खनाल पोर्चुगलमा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?