
News Summary
Generated by OK AI. Editorially reviewed.- अमिताभ बच्चनको नामकरण कवि सुमित्रानन्दन पन्तले 'ध्यानमग्न अमिताभ जस्तो बच्चा' भनि गरेपछि भयो।
- अमिताभले पहिलो फिल्म 'सात हिन्दुस्तानी' मा राष्ट्रिय पुरस्कार पाए र रक्सी त्याग गरे।
- उनको फिल्म 'जंजीर' १९७३ मा रिलिज भयो र उनलाई सुपरहिट बनायो।
अमेरिकी गायक तथा अभिनेता फ्रान्क सिनात्रालाई प्रख्यात बनाउन उनको प्रेस एजेन्ट जर्ज इभान्सले एउटा गजबको चाल चालेका थिए ।
उनले १२ जना युवतीहरूलाई भाडामा लिए । उनीहरूलाई फ्रान्कले गीत गाउन सुरु गर्नासाथ ‘ओ फ्रान्की, ओ फ्रान्की’ भनेर चिच्याउने र केही समयपछि बेहोस् भएको नाटक गर्न सिकाए ।
यसका लागि उनीहरूलाई तीन दिनसम्म रिहर्सल पनि गराइएको थियो । इभान्सले ती ‘बेहोस’ युवतीहरूलाई थिएटरबाट अस्पताल लैजान एम्बुलेन्सको पनि व्यवस्था गरेका थिए । त्यसो गर्दा फोटो कैद गर्न उनले फोटोग्राफरहरूको पनि व्यवस्था गरेका थिए । ता कि त्यसबेला खिचिएका फोटोहरूबाट फ्रान्कलाई अझ बढी चिनाउन सकियोस् ।
यसका लागि ती केटीहरूलाई पाँच/पाँच डलर दिइएको थियो । तर न्युयोर्कको प्यारामाउन्ट थिएटरमा फ्रान्क सिनात्राको कार्यक्रम सकिँदासम्म त्यहाँ नसोचेको कुरा हुन गयो । किनकि जम्मा १२ जना युवतीलाई मात्र भाडामा लिएकोमा ३० जनाभन्दा बढी युवती बेहोस् भएका थिए ।
माथिको यो कथा सुप्रसिद्ध अभिनेता अमिताभ बच्चनले सुनिसकेपछि सुरुमा केही मुस्कुराएका थिए । त्यसपछि उनले भनेका थिए, ‘कसैलाई समातेर हिरो बनाउन त सकिन्छ । तर त्यतिसम्मका लागि मात्रै । क्यामेरा सुरु भएपछि ऊ एक्लो हुन्छ । अभिनय त उसले गर्नैपर्छ ।’
उनको आशय थियो, प्रचारको हल्लाले कुनै व्यक्तिलाई खास ठाउँसम्म पुर्याउन त सक्छ । तर त्यसभन्दा अगाडि जानका लागि उसमा प्रतिभा हुनु पनि आवश्यक छ ।
भाग्यवश नै भनौं, अमिताभले आफ्नो करियर बनाउन त्यस्ता काण्डहरूको कुनै साहरा लिनु परेन ।
कविले गरिदिएका थिए नामकरण
अमिताभको जन्म ११ अक्टोबर, १९४२ मा इलाहाबादमा भएको थियो । बुबाका साथी पण्डित अमरनाथ झाले त्यसबेलाको देशको वातावरणलाई हेर्दा उनको नाम ‘इन्कलाब’ राख्न सुझाव दिएका थिए । तर उनको नाम भने जन्मेकै दिन राखिएको थियो ।
उनीमाथि लेखिएको पुस्तक ‘अमिताभ बच्चन द फरेभर स्टार’ का लेखक प्रदीप चन्द्राका अनुसार कवि सुमित्रानन्दन पन्त उनलाई हेर्न नर्सिङ होम आएका थिए । त्यहाँ उनले बच्चालाई देख्नेबित्तिकै ‘ध्यानमग्न अमिताभ जस्तो बच्चा’ भनिदिए । जुन नाम आमा तेजी बच्चनलाई साह्रै मनपर्यो ।
पछि बुबा हरिवंशले पनि छोराको नाम अमिताभ नै राख्ने निर्णय गरे । परिवारको थर श्रीवास्तव थियो । अमिताभका बुबा हरिवंशराय चल्तीका साहित्सकार थिए । उनले आफ्नो नाम पछाडि साहित्यिक नाम ‘बच्चन’ जोड्ने गर्थे । अमिताभको नामका पछाडि पनि बाबुको नामाबाटै ‘बच्चन’ राखियो । बाल्यकालमा उनका उपनामहरू भने अमित, मुन्ना, बन्टी थियो ।
अभिनय यात्राको श्रीगणेश
नैनीतालको शेरवुड स्कुलमा प्रारम्भिक शिक्षापछि अमिताभ बच्चनले दिल्लीको किरोडीमल कलेजमा भर्ना भए । त्यहाँ उनलाई नाटकमा काम गर्ने प्रशस्त मौका मिल्यो । कलेजको ड्रामा सोसाइटीका प्रमुख फ्रान्क ठाकुरदास अमिताभको कम्पनयुक्त आवाजबाट धेरै प्रभावित भए ।
तर उनले त्यसबेलाका प्रसिद्ध थिएटर कलाकार प्रताप शर्माका भाइलाई एउटा नाटकको मुख्य भूमिकाका लागि छानेका थिए । उनले निजी कारणले नाटकमा काम गर्न मानेनन् । सो कुराले ठाकुरदासलाई समस्या भयो । त्यस्तो भइरहेको थाहा पाएपछि अमिताभले आफूले त्यो भूमिका निभाउने प्रस्ताव राखे ।
ठाकुरदास यसका लागि राजी भए । यसरी त्यस अवसरको भरपुर फाइदा उठाउँदै उनले उत्कृष्ट अभिनय गरे । दर्शकको मन जिते । पछि अमिताभले मिरान्डा हाउसमा हुने नाटक ‘रेप अफ द बेल्ट’ मा पनि अभिनय गर्ने मौका पाए । यसरी उनको अभिनय यात्राको श्रीगणेश भएको थियो ।
‘फिल्मफेयर माधुरी कन्टेस्ट’ मा फेल
अभिनयमा अमिताभको झुकावलाई उनका भाइ अजिताभले नियालिरहेका थिए । त्यसैले उनको एउटा तस्बिर ‘फिल्मफेयर माधुरी ट्यालेन्ट कन्टेस्ट’ मा पठाइदिए । यस प्रतियोगिताका विजेतालाई २५०० भारु र हिन्दी फिल्ममा काम गर्ने मौका दिइने बताइएको थियो । तर त्यसमा अभिताभले जितेनन् ।
सो वर्ष सञ्जय र फिरोज खानका भाइ समीरले प्रतियोगिता जितेका थिए । त्यसभन्दा अघि धर्मेन्द्र र राजेश खन्नाले त्यो प्रतिस्पर्धा जितिसकेका थिए । अमिताभको हिन्दी चलचित्रमा प्रवेश तेजी बच्चन र नर्गिस दत्तको मित्रताको कारणले केही हदसम्म भएको थियो ।
किनकि तेजी बच्चनले त्यो समयका जानेमाने फिल्म निर्देशक सावन कुमार टाकसँग सन् १९६८ मा दिल्लीमा भेट गरेका थिए । उनले सावन कुमारलाई आफ्नो छोराले फिल्महरूमा काम गर्न इच्छुक रहेकी बताएकी थिइन् ।
ती दिनहरूमा सानवले मिर्जा गालिबमाथि एउटा फिल्म बनाउने योजना बनाइरहेका थिए । उनले अमिताभलाई मिर्जा गालिबको भूमिका दिने मन पनि बनाएका थिए । तर उनलाई धेरैले अमिताभ गालिबको भूमिकामा नसुहाउने भनेर भनिदिए ।
निर्माताहरूबाट बेवास्ता
सोही समयतिर सुनील दत्तको सल्लाह मानेर प्रसिद्ध निर्देशक बीआर चोपडा अमिताभको स्क्रिन टेस्ट लिन तयार भए । स्क्रिन टेस्टमा अमिताभले ‘तिमीले मलाई यसरी हेर्दा म सबै कुरा बिर्सन्छु । के हुँ, कहाँ छु, केही बुझ्न सक्दिनँ’ भन्ने संवाद बोल्नुपर्ने थियो ।
तर बीआर चोपडाले अमिताभलाई बोलाएनन् । यद्यपि ‘जंजीर’ फिल्म रिलिज भएपछि उनले अमिताभलाई ‘जमीर’मा भने साइन गराएका थिए । ती दिनमा अमिताभले फिल्म निर्माता ताराचन्द बडजात्यालाई पनि भेट्न गए । तर त्यहाँ पनि कुरा मिलेन । बडजात्याले अमिताभलाई धेरै अग्लो भएको भनिदिए । अनि उनका बुबाजस्तै राम्रो कवि बन्न सक्ने भनेर गफ हानिदिए । तर पछि भने बडजात्याले अमिताभलाई आफ्नो फिल्म ‘सौदागर’ मा नायकको रूपमा भित्र्याएका थिए ।
चलचित्रमा पहिलो भूमिका
अमिताभलाई पहिलो फिल्म भने निर्देशक ख्वाजा अहमद अब्बासले दिएका थिए । यसको पहल भने निर्देशक टिनु आनन्दकी साथी नीना सिंहले गरेकी थिइन् । उनले नै आनन्दलाई अमिताभका केही तस्बिर अब्बास साहबलाई देखाउन लगाएकी थिइन् ।
तर त्यसको कथा आफैंमा रोचक छ ।
अमिताभको तस्बिर हेरेपछि अब्बास साहबले अमिताभलाई भेट्ने भए । कुरा भएपछि उनले अमिताभलाई फिल्म एक महिना अथवा एक वर्षमै बने पनि पाँच हजार भारु दिने बताए । तर अमिताभ त्यो प्रस्तावबाट खुसी भएनन् । किनकि त्यो रकम अमिताभको त्यसबेला दुई महिनाको तलब बराबर थियो ।
अझ त्यसभन्दा पनि सम्झौता पत्र लेख्ने बेलामा अब्बासले उनका बुबाको नाम थाहा पाए । त्यसपछि बुबाको अनुमतिबिना फिल्म खेलाउन नसक्ने कुरा अब्बासले सुनाए । अनि अनुमतिका लागि उनले हरिवंशराय बच्चनलाई एउटा टेलिग्राम लेखे ।
त्यसको दुई दिनपछि सिनियर बच्चनको जवाफ सकारात्मक आयो । त्यसपछि मात्र १५ फेब्रुअरी १९६९ का दिन अमिताभले आफ्नो पहिलो फिल्म ‘सात हिन्दुस्तानी’मा हस्ताक्षर गरे ।
रक्सी काण्ड
अमिताभले आफ्नो पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ मै राष्ट्रिय पुरस्कार पाए । लेखक चन्द्राका अनुसार अब्बास साहब थोरै बजेटमा फिल्म बनाउँथे । तर कहिलेकाहीँ उनी कामबाट खुसी हुँदा ५० रुपैयाँ दिँदै ‘उत्सव मनाओ’ भन्ने गर्थे ।
त्यो ५० रुपैयाँ एक पटक अमिताभलाई पनि मिल्यो । पैसा पाउनेबित्तिकै बच्चन र उनका अरू साथीहरू जलाल आगा र अनवर अलीले त्यसलाई यादगार बनाउने सोचे । र तीनैजनाले भक्कु रक्सी पिए ।
तर भोलिपल्ट अनवर अलीले अमिभातलाई यस उद्योगमा नाम नहुँदासम्म रक्सी नछुनु भनेर ज्ञान दिए । अमिताभले उनको कुरालाई यति गम्भीर रूपमा लिए कि त्यही बेला रक्सी छोड्ने निर्णय गरे । र जीवनभर त्यो निर्णयको पालना सकेसम्म गरे ।
भ्वाइस ओभरको काम
सोही दिनहरूमा निर्देशक मृणाल सेनले अमिताभ बच्चनलाई भ्वाइस ओभर (रेकर्डिङमा आवाज दिनु पर्ने) को काम दिए । सेन अब्बासको घरमा आएका थिए । आफ्नो फिल्म ‘भुवन शोम’का लागि उनलाई राम्रो आवाज भएको व्यक्ति चाहिरहेको थियो । तर त्यस्तो व्यक्ति बंगाली भाषी हुनुपर्थ्यो ।
अमिताभले आफूलाई बंगाली पनि आउने बताए । तर टेस्टपछि मृणालले अमिताभको आवाज मन पराए पनि बंगाली बोल्ने लवज मन पराएनन् । त्यसको सट्टा उनले सोही फिल्ममा हिन्दी न्यारेसन (कथावाचक) का लागि अमिताभलाई छाने । यसबापत उनले अमिताभलाई ३०० रुपैयाँ दिएका थिए । अहिले पनि सो फिल्मको क्रेडिटमा अमिताभको नाम देख्न सकिन्छ ।
‘आनन्द’को भूमिका
‘सात हिन्दुस्तानी’ पछि भाग्यले अमिताभलाई साथ दिएन । त्यसपछि उनका १० फिल्महरू लगातार रूपमा बक्स अफिसमा असफल भए । सन् १९७१ मा आएको ‘परवाना’मा उनले नकारात्मक भूमिका खेलेका थिए ।
त्यसपछिको ‘रेशमा और शेरा’मा उनले गूँगा (बोल्न नसक्ने)को भूमिका खेले । त्यहाँ उनले एक शब्द पनि नबोली आफ्ना सबै भावनाहरू दर्शकहरूमाझ पुर्याउनुपर्ने थियो । त्यस्तैक्रममा एकपटक अमिताभ ख्वाजा अहमद अब्बाससँग ऋषिकेश मुखर्जीलाई भेट्न गएका थिए । मुखर्जी आफ्नो फिल्म ‘आनन्द’का अभिनेताको खोजीमा थिए । अमिताभलाई देख्नेबित्तिकै उनलाई लाग्यो कि, उनले आफ्नो ‘बाबु मोशाय’ (फिल्मको अभिनेता) पाए ।
अन्तर्वार्ताहरूमा मुखर्जीले अमिताभको आवाज र गम्भीर आँखाको कारण छानेको बताएका छन् । अमिताभअघि उनले बंगाली अभिनेता उत्तम कुमारलाई लिन चाहेका थिए ।
जयामासँग निकटता
यी सबैका बावजुद अमिताभले अझैसम्म कुनै एकल हिट दिन सकेका थिएनन् । तर उनी जया भादुड़ी (हाल जया बच्चन) सँग नजिकिरहेका थिए । दुवैले एकअर्कालाई मन पराउन थालेका थिए ।
ऋषिकेश मुखर्जीले सन् १९७१ मा दुवैलाई आफ्नो फिल्म ‘गुड्डी’ मा लिन चाहन्थे । तर अन्तिम समयमा उनले आफ्नो निर्णय परिवर्तन गरे । अर्को वर्ष बीआर इशाराले अमिताभ र जयालाई आफ्नो फिल्म ‘एक नजर’मा सँगै काम गर्ने मौका दिए ।
त्यसपछि ‘एक थी सुधा, एक था चंदर’ मा दुवैले काम गरे । यो साहित्यकार डाक्टर धर्मवीर भारतीको उपन्यास ‘गुनाहों का देवता’ मा आधारित चलचित्र थियो । तर पैसाको अभावका कारण सो फिल्मको सुटिङ पूरा हुन सकेन ।
लगातार १२ फिल्म फ्लप
चलचित्र नचले पनि अमिताभको अभिनयले सबैको ध्यान खिचिरहेको थियो । यदि अमिताभमा प्रतिभा नभएको भए उनले एकपछि अर्को १२ वटा फिल्म खेल्न नपाउने धेरैले तर्क गर्छन् ।
यो कुराको पुष्टि उनीसँगै काम गरेका अन्य कलाकाहरूले गर्ने तारिफले पनि पुष्टि हुन्छ । सबैभन्दा पहिले ‘परवाना’ मा उनीसँग काम गरिरहेका ओम प्रकाशले उनको अभिनयको तारिफ गरेका थिए । प्रसिद्ध खलनायक प्रेम चोपडाले पनि उनको अभिनयको प्रशंसा गरेका थिए । चोपडाले अमिताभसँग २७ फिल्ममा काम गरेका छन् ।
तर फिल्म फ्लप हुन थालेपछि सम्झौता भए पनि उनलाई केही निर्देशकहरूले परियोजनाबाट निकालेका थिए । कुन्दन कुमारले निर्देशन गरिरहेको ‘अपने पराए’ मा उनी पनि थिए । फिल्मको ठूलो हिस्सा सुट पनि भइसकेको थियो । तर उनलाई हटाएर सञ्जय खान आएका थिए । फिल्मको नाम पनि बदलेर ‘दुनियाँ का मेला’ राखिएको थियो ।
‘जंजीर’को भूमिका
प्रकाश मेहरा ‘जंजीर’ बनाउन लाग्दै थिए । तर धर्मेन्द्र, राजकुमार र देवानन्द जस्ता कलाकारले कुनै न कुनै बहाना बनाएर फिल्म खेल्न मानिरहेका थिएनन् । त्यही बेला मेहरा र जावेद अख्तरबीच सम्पर्क भयो । त्यसले गर्दा अख्तरले पनि सो चलचित्रको स्क्रिप्ट पाएका थिए ।
त्यसपछि तुरुन्त उनले अमिताभलाई सम्पर्क गरे । सो समय अमिताभ खाली नै थिए । उनले स्क्रिप्टअनुसार भूमिका निर्वाह गर्न सक्ने/नसक्नेबारे अमिताभलाई सोधे । सक्छु भन्ने विश्वास अमिताभमा थियो । अमिताभलाई नै सो भूमिका दिनुमा त्यसअघिको चलचित्र ‘बम्बई टु गोआ’ कारण रहेको अख्तरले धेरै पछि सुनाएका थिए ।
यसरी अमिताभले आफ्नो करियरको १३औँ फिल्म साइन गरेका थिए । त्यति मात्र होइन, त्यस फिल्ममा उनकी हुनेवाला पत्नी जया पनि उनकै हिरोइनको रूपमा जोडिएकी थिइन् ।
‘एङ्ग्री योङ म्यान’को उदय
सन् १९७३ मा रिलिज भएको ‘जंजीर’ सुपरहिट फिल्म साबित भयो । यो उनको करियरको पहिलो एकल हिट फिल्म पनि थियो । फिल्मफेयर पुरस्कारमा यसलाई ९ विधामा नामाङ्कित गरिएको थियो ।
सोही फिल्मको गीत ‘यारी है इमान मेरा’ त्यो वर्षकै सबैभन्दा लोकप्रिय गीत साबित भयो । र हेर्दाहेर्दै त्यो फिल्मले एक अज्ञात अभिनेतालाई सुपरस्टारको श्रेणीमा ल्याइदियो ।
त्यहीँबाट नै अमिताभ ‘एङ्ग्री योङ म्यान’को नामले चिनिन थाले । तर त्यसको बीउ भने ऋषिकेश मुखर्जीको ‘नमकहराम’ फिल्मको दौरान रोपिएको थियो । जे होस्, त्यसपछि उनी राष्ट्रिय क्रेज बने । जुन अब अजरअमर हुने भइरहने छ ।
प्रतिक्रिया 4