
११ असार, दमौली । तनहुँका १० स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका धेरैजसो पालिकाले अघिल्लो वर्षको तुलनामा बजेट कटौती गरेका छन् भने केही पालिकाले बजेट बढाएका छन् ।
तनहुँका ४ नगरपालिका र ६ गाउँपालिकाले समग्रमा ७ अर्ब ९३ करोड ८१ लाख ४७ हजार ८५५ रुपैयाँ बजेट प्रस्तुत गरेका छन् । ९ स्थानीय तहले बुधबार र १ स्थानीय तहले सोमबार बजेट प्रस्तुत गरेका हुन् ।
१० वटा स्थानीय तहमध्ये ब्यास नगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याएको छ । ब्यास नगरपालिकाले करिब १ अर्ब ७५ करोड ८४ लाख बजेट ल्याएको छ । शुक्लागण्डकी नगरपालिकाले १ अर्ब २४ करोड बढी बजेट ल्याएको छ भने भानु र भिमाद नगरपालिकाको बजेटमा पनि वृद्धि भएको देखिन्छ ।
गाउँपालिकामध्ये म्याग्दे गाउँपालिकाले उल्लेखनीय वृद्धि गर्दै ६८ करोड ८६ लाखको बजेट ल्याएको छ । घिरिङ गाउँपालिकाको बजेट भने घटेको छ ।
अधिकांश स्थानीय तहले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा बढी प्राथमिकता दिएका छन् । तर बजेट कटौती र खर्च व्यवस्थापनको चुनौतीले आगामी आर्थिक वर्षमा स्थानीय विकास कार्य प्रभावित हुने देखिन्छ ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक आम्दानीले मात्र सीमित खर्च सम्भव हुने ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् ।
ब्यास नगरपालिकाले १ अर्ब ७५ करोड ८४ लाख १९ हजारमध्ये चालुतर्फ ९८ करोड २० लाख ७ हजार ४०० र पूँजीगतगतर्फ ७७ करोड ६४ लाख ११ हजार ६०० अनुमान गरेको उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् ।
उनका अनुसार प्रस्तावित बजेटमध्ये चालुतर्फ ५५ दशमलव ८५ प्रतिशत र पूँजीगततर्फ ४४ दशमलब १५ प्रतिशत रहेको छ । ब्यासले आर्थिक वर्ष २०८१/८२ वर्षमा दुई अर्ब ४ करोड ९३ लाख ६७ हजार बजेट पारित गरेको थियो ।
शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले आगामी वर्षका लागि १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९ सय ६२ को अनुमानित बजेट प्रस्तुत गरे ।
बजेटको आम्दानीतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १४ करोड ४८ लाख रुपैयाँ अनुमान गरिएको छ ।
राजस्व बाँडफाँट ११ करोड ९२ लाख ६७ हजार, सशर्त अनुदान ६३ करोड ५० लाख, गण्डकी प्रदेशबाट प्राप्त समानीकरण अनुदान १ करोड ९४ लाख २९ हजार, बाँडफाँटअन्तर्गत १ करोड ६१ लाख १० हजार, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।
नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड १० लाख २७ हजार ९ सय ३३ सङ्कलन गर्ने लक्ष्य लिएको छ । घरजग्गा दर्ता शुल्क एक करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान २ करोड १८ लाख, गण्डकी प्रदेशबाट विशेष अनुदान ४० लाख, सशर्त अनुदान २ लाख र जनसहभागिताबाट १ करोड ५० लाख स्रोत सङ्कलन हुने अनुमान गरिएको छ ।
खर्चतर्फ विषयगत शाखा र अन्तरसम्बन्धित क्षेत्र २४ करोड ७ लाख ५६ हजार २९, सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदान ६३ करोड ५० लाख, सङ्घीय सरकार समपुरक अनुदान ७ करोड २६ लाख ६६ हजार ६ सय ६६, गण्डकी प्रदेशबाट समपुरक अनुदान १ करोड २० लाख, विशेष अनुदान ४० लाख रुपैयाँ अनुमान गरिएको छ । शुक्लागण्डकीले आर्थिक वर्ष २०८१/८२ वर्षमा १ अर्ब १२ करोड ३९ लाख बजेट ल्याएको थियो ।
भीमाद नगरपालिकाका उपपप्रमुख शारदा खनालले आगामी वर्षका लागि ६३ करोड ७२ लाख ६० हजार ३६३ बराबरको बजेट प्रस्तुत गरिन् । त्यसमध्ये चालुतर्फ ४४ करोड ४४ लाख ८९ हजार १०३ र पुँजीगततर्फ१९ करोड २७ लाख ७१ हजार २५९ विनियोजन गरिएको छ । यो नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ वर्षमा ६२ करोड ४७ लाख १४ हजार बजेट ल्याएको थियो ।
भानु नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८८ करोड ५९ लाख ४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभामा उपप्रमुख उमा गोतामले उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । त्यसमध्ये चालुतर्फ ६४ करोड ५ लाख ४ हजार र पूँजीगत २४ करोड ५४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उपप्रमुख गोतामेका अनुसार स्वास्थ्यतर्फ ६ करोड ६४ लाख, शिक्षातर्फ ३६ करोड ६७ लाख, कृषि तथा पशुपालनतर्फ ३ करोड ६५ लाख, सुशासन र कार्यालय व्यवस्थापनतर्फ १५ करोड ३३ लाख, भौतिक पूर्वाधारतर्फ २४ करोड ५४ लाख, विपद् व्यवस्थापन ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आम्दानीतर्फ राजस्व बाँडफाँट प्रदेशबाट १ करोड ३४ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँटबाट ११ करोड ५४ लाख, आन्तरिक आयबाट ३ करोड २५ लाख, अनुदान सङ्घीय समानीकरण सशर्त ६२ करोड ६४ लाख, प्रदेश सरकार समानीकरण, सशर्त २ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । यो नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ वर्षमा ८५ करोड १६ लाख ७४ हजार बजेट ल्याएको थियो ।
बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६४ करोड ९० लाख बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष पञ्चमाया गुरुङका अनुसार विनियोजितमध्ये चालुतर्फ ३९ करोड १२ लाख ५ हजार र पूँजीगततर्फ २५ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उनका अनुसार पूर्वाधार विकासतर्फ १४ करोड ९० लाख, आर्थिक विकासतर्फ ३ करोड ४७ लाख, सामाजिक विकासतर्फ ७ करोड १५ लाख ४० हजार, प्राकृतिक प्रकोप तथा विपद्का लागि २५ लाख, प्रशासनिकतर्फ १० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आम्दानीतर्फ सङ्घीय सरकार सशर्त चालुतर्फ १८ करोड ९४ लाख, पूँजीगततर्फ १ करोड, विशेष अनुदानतर्फ ८५ लाख, समपुरक अनुदानतर्फ ९१ लाख, वित्तीय समानीकरणतर्फ ८ करोड ९९ लाख, राजस्व बाँडफाँटतर्फ ८ करोड ५९ लाख रुपैयाँ हुने अनुमान छ ।
गण्डकी प्रदेश वित्तीय समानीकरणतर्फ १ करोड १० लाख ५३ हजार, विशेष अनुदानतर्फ ४० लाख, समपुरकतर्फ ६० लाख र आन्तरिक आयतर्फ१५ करोड १० लाख हुने अनुमान गरिएको छ । बन्दीपुरले आर्थिक वर्ष २०८१/८२ वर्षमा ५४ करोड ४५ लाख ४४ हजार बजेट ल्याएको थियो ।
म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६८ करोड ७६ लाख ३६ हजार बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार चालुतर्फ ४७ करोड ४७ लाख र पूँजीगततर्फ २१ करोड ३५ लाख विनियोजन गरिएको छ । कूल बजेटमध्ये चालुतर्फ ६८ दशमलव ९४ र पूँजीगततर्फ ३१ दशमलव ६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ९ करोड ४६ लाख, सशर्त अनुदानबाट ८० लाख, चालुबाट १८ करोड, राजस्व बाँडफाँटबाट ८ करोड ४५ लाख, गण्डकी प्रदेश वित्तीय समानीकरणबाट १ करोड, प्रदेश राजस्व बाँडफाँटबाट ८८ लाख, राष्ट्रपति शैक्षिक सुधारबाट ९० लाख र सडक बोर्डबाट २३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको घिमिरेले जानकारी दिए ।
आर्थिक विकासतर्फ ४ करोड ७३ लाख ७१ हजार, उद्योग शाखातर्फ १२ लाख ६० हजार, सामाजिक विकासतर्फ ३४ करोड २९ लाख १५ हजार, शिक्षा तथा खेलकुदतर्फ १५ करोड ४७ लाख, सामाजिक सुरक्षा भत्तातर्फ १३ करोड, वन तथा वातावरणतर्फ ३ करोड ९५ लाख, सुशासनतर्फ १० करोड १४ लाख ५० हजार विनियोजन गरिएको छ । यो गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ वर्षमा ५२ करोड २४ लाख, ४ हजार बजेट पारित गरेको थियो ।
आँबुखैरेनी गाउँपालिकाले ६२ करोड ८ लाख २२ हजार ८३ बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष दुर्गा अर्यालका अनुसार आर्थिक विकासतर्फ ५ करोड ८ लाख ४९ हजार, पूर्वाधार विकासतर्फ २१ करोड ४४ लाख ५ हजार ७२, संस्थागत विकास तथा सुशासनतर्फ ११ करोड ५३ लाख ९० हजार, सामाजिक विकासतर्फ २३ करोड ५१ लाख ३८ हजार ११ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१/८२ वर्षमा ६३ करोड ११ लाख १५ हजार बजेट पारित गरेको थियो ।
ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ४० लाख ९५ हजार ४४७ बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष गिनुमाया थापाका अनुसार आम्दानीतर्फ आन्तरिक आय ३ करोड ५०, सङ्घीय सरकारको वित्तीय समानीकरण १० करोड २५ लाख, राजस्व बाँडफाँट ९ करोड ४२ लाख ९५ हजार, समपुरक १ करोड ६८ लाख रुपैयाँ अनुमान गरिएको छ । यो गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ वर्षमा ५२ करोड २४ लाख, ४ हजार बजेट पारित गरेको थियो ।
घिरिङ गाउँपालिकाले ४५ करोड बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष राधादेवी अधिकारीका अनुसार आम्दानीतर्फ आन्तरिक स्रोत १ करोड, सङ्घ वित्तीय समानीकरण ४ करोड १९ लाख १३ हजार ६०, राजस्व बाँडफाँट ८ करोड ६० लाख, प्रदेश सरकार वित्तीय समानीकरण ७ करोड ५६ लाख ४० हजार ९४०, प्रदेश सरकार राजस्व बाँडफाँट १ करोड ४ लाख ७० हजार, सङ्घीय सशर्त अनुदान १७ करोड ३५ लाख रुपैयाँ अनुमान गरिएको छ । यो गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ वर्षमा ५५ करोड ८ लाख, १३ हजार बजेट पारित गरेको थियो ।
देवघाट गाउँपालिकाले ४७ करोड ७३ लाख ७७ हजार बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८१/८२ वर्षमा ४५ करोड ५८ लाख ८८ हजार ५ सय बजेट पारित ल्याएको थियो ।
कुन पालिकामा कति बजेट ?
क्र.स | स्थानीय तहको नाम | आगामी वर्ष २०८२/८३ वर्षका बजेट | आर्थिक वर्ष २०८१/८२ वर्षको बजेट |
१ | व्यास नगरपालिका | एक अर्ब ७५ करोड ८४ लाख १९ हजार | दुई अर्ब ४ करोड ९३ लाख ६७ हजार |
२ | शुक्लागण्डकी नगरपालिका | एक अर्ब २४ करोड ७६ लाख ३३ हजार नौ सय ६२ | एक अर्ब १२ करोड ३९ लाख |
३ | भानु नगरपालिका | ८८ करोड ५९ लाख चार हजार | ८५ करोड १६ लाख ७४ हजार |
४ | भिमाद नगरपालिका | ६३ करोड ७२ लाख ६० हजार तीन सय ६३ | ६२ करोड ४७ लाख १४ हजार |
५ | म्याग्दे गाँउपालिका | ६८ करोड ८६ लाख ३६ हजार | ५२ करोड २४ लाख, ४ हजार |
६ | आँबुखैरेनी गाउँपालिका | ६२ करोड आठ लाख २२ हजार ८३ | ६३ करोड ११ लाख १५ हजार |
७ | ऋषिङ गाउँपालिका | ५२ करोड ४० लाख ९५ हजार चार सय ४७ | ५२ करोड २४ लाख, ४ हजार |
८ | देवघाट गाउँपालिका | ४७ करोड ७३ लाख ७७ हजार | ४५ करोड ५८ लाख ८८ हजार ५ सय |
९ | घिरिङ गाउँपालिका | ४५ करोड | ५५ करोड ८ लाख, १३ हजार |
१० | बन्दीपुर गाउँपालिका | ६४ करोड ९० लाख | ५४ करोड ४५ लाख ४४ हजार |
प्रतिक्रिया 4