
News Summary
Generated by OK AI. Editorially reviewed.- २२ असार (गत आइतबार) को बैठकमा पूर्व उपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेशलाई जोड दिएर उठाएका थिए।
- महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन लागेको सन्दर्भलाई चासोका साथ राखे।
- आज बिहान बसेको शीर्ष बैठकमा पनि यो विषयलाई देउवाले उठाए।
२४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा आउने विषयले एमालेलाई मात्रै तरंगित बनाएको छैन । भण्डारी राजनीतिमा प्रवेश गर्ने विषयलाई संसद्को प्रमुख दल नेपाली कांग्रेसले समेत चासो देखाएको छ ।
एमालेको सदस्यता नवीकरण गरेर भण्डारीले राजनीतिमा सक्रिय हुने सार्वजनिक मञ्चबाट जानकारी गराएकी हुन् । भण्डारी सक्रिय राजनीतिमा क्रियाशील हुने बताएपछि यो विषय कांग्रेसको केन्द्रीय समितिमा समेत प्रवेश पाएको छ ।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आएको विषयलाई कांग्रेसको शीर्ष तहका नेताबाट बैठकमा प्रवेश पाएको थियो । २२ असार (गत आइतबार) को बैठकमा पूर्व उपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेशलाई जोड दिएर उठाएका छन् ।
भण्डारीको प्रसंगबारे सभापति शेरबहादुर देउवालाई सुनाउँदै निधिले भने, ‘अहिले अर्को एउटा अत्यन्त महत्त्वपूर्ण विषय आएको छ, सभापतिज्यू । रिटायर्ड भइसकेका राष्ट्रपतिले राजनीतिमा फर्किने कुरा हो । एमालेको लागि यो विषयले के प्रभाव पार्ला भन्ने पनि होला । तर मेरो बुझाइ के छ भने, यो कुनै एउटा पार्टीको आन्तरिक विषय मात्रै होइन ।’
भण्डारीकै प्रसंगमा निधिले थपे, ‘तर एट द होल, इन टोटलमा पोलिटिकल सिस्टमको बारेमा नेपाली कांग्रेसले यो विषयलाई नोटिसमा लिनैपर्छ । मेरो विचारमा नेपाली कांग्रेसले यो विषयलाई नोटिसमा लिनुपर्दछ । त्यसको बारेमा छुट्टै छलफल हुनुपर्छ भनेर मैले यो विषय प्रवेश गराएँ ।’
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कने विषय प्रणालीसँग जोडिने उनले बताए । ‘हामीले जुन प्रणाली ल्याएका छौं र जुन प्रणालीमा विश्वास गर्दछौं, त्यो प्रणालीमा अहिले राष्ट्रपतिले रिटायर्ड भइसकेपछि हामीलाई त एउटा खुसी लाग्छ । एमाले विवादित हुन्छ कि अथवा एमालेमा फुट हुन्छ कि भन्ने होला । तर यो छुट्टै विषय हो ।’
कांग्रेसको केन्द्रीय समिति बैठकको अन्तिम दिन (२३ असार, हिजो) पनि पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा आउने विषय छुटेन । महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन लागेको सन्दर्भलाई चासोका साथ राखे ।
‘तर अर्को चुनौती के छ भने सभापतिज्यू, राष्ट्रपति संस्थाको गरिमा चाहिं उच्च ढंगले स्थापित गर्न सकिएको छैन । झन्डै एक दशक राष्ट्रपतिमा राखेपछि फेरि राजनीतिमा सक्रिय हुँदै गर्दा खेरि त्यसले राम्रो सन्देश दिंदैन’ शर्माले भने, ‘यसका पछाडितिरका कुराहरूको बारेमा हामीले गम्भीरता राख्न जरूरी छ । कसले किन, के नियत र के उद्देश्यका साथ सेरेमोनियल भएर बसेको व्यक्तित्वलाई राजनीतिमा भिडाएको अवस्था छ ? त्यो हुँदै गर्दाखेरि के देशले अभिभावक विहीनताको अनुमति लिन सक्छ !’
पूर्व राष्ट्रपतिहरूलाई अभिभावक मान्नुपर्नेमा अभिभावकलाई नै राजनीतिमा ल्याउनु उपयुक्त नहुने शर्माको भनाइ थियो । स्रोतका अनुसार पार्टी बैठकमा उठेको विषयलाई सभापति देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमक्ष पनि राखेका छन् । आज बिहान बसेको शीर्ष बैठकमा यो विषयलाई देउवाले उठाएका हुन् ।
प्रतिक्रिया 4