News Summary
Generated by OK AI. Editorially reviewed.- जीवन लुइँटेलले सात वर्षपछि अभिनयमा पुनरागमन गर्दै साउन पहिलो साता कान्तिपुर थिएटरको नाटक 'शिरिषको फूल' मा सुयोगवीरको भूमिका निर्वाह गर्नेछन्।
- जीवनले अमेरिका बसाइका बेला पनि अभिनय अफर आइरहेको तर आफूले खोजेको क्यारेक्टर नपाएको बताए र रेखा थापाको प्रेरणाले नाटकमा फर्किने निर्णय गरेका छन्।
- उनले २०२५ भित्र फिल्ममा फर्किने योजना सुनाउँदै 'नाइँ नभन्नू ल ७' बाट पुनरागमन गर्ने सम्भावना रहेको जानकारी दिए।
क्रिकेटलाई पछ्याउनुहुन्छ भने जीवन लुइँटेलको अभिनयमा पनि ‘दोस्रो इनिङ्स’ सुरु भएको छ । ७ वर्षपछि ‘पूर्वमिस्टर नेपाल’ अहिले अभिनयमा फर्किने तयारीमा छन् । साउन पहिलो साता कान्तिपुर थिएटरले पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’लाई नाटकको रुपमा मञ्चन गर्दैछ । यसको मुख्य पात्र सुयोगवीरको रोलमा उनी देखिनेछन् ।
अनि सुरु हुनेछ जीवनको जीवनमा अभिनयको दोस्रो इनिङ्स । यसलाई उनको ७ वर्षपछिको जबर्जस्त पुनरागमन पनि भन्न सकिएला । यसै सप्ताहन्तमा अनलाइनखबरको स्टुडियोमा जीवनले अमेरिका बसाइ र त्यहाँ बिताएका सुखदुःख, आगामी समय र करिअर योजनाबारे कुराकानी गरे ।
नेपालमा करिअर उत्कर्षमा रहँदा जीवन अमेरिका हानिए । उनी यस्तो समयमा अमेरिका पुगे जतिबेला नेपाली फिल्म ‘प्याराडाइम सिफ्ट’को संघारमा थियो । यो कालखण्डमा नेपाली फिल्मको आयाम बदलियो, भाष्य बदलिए, प्रविधि बदलियो र अहिले आर्टिफिसियल इन्टिलिजेन्सको युग सुरु भएको छ ।
उनको पछिल्लो फिल्म ‘सुकुलगुण्डा’ सन् २०१८ मा रिलिज हुने बेला नेपाली फिल्म उही घिसिपिटी शैलीमा थियो । सन् २०२५ सम्म आइपुग्दा हरेक कुरामा परिवर्तन आइसकेको छ । यो माहोलमा जीवन ‘कमब्याक’ गर्दैछन् ।
के जीवनले अमेरिकामा रहँदा अभिनय र सिनेमालाई बिर्सिएका थिए ? के उनले फर्किने प्रयास गरेनन् ? हाम्रो पहिलो प्रश्नको जवाफमा उनी सुनिए, ‘अमेरिका गैसकेपछि पनि सिनेमाबाट अफर आइरहेको थियो । जुन किसिमको क्यारेक्टर खोजिरहेको थिएँ, त्यसमा कहिँकतै कनेक्ट भैसकेको थिएन ।’
‘जीवन व्यवहारका सिलसिला हुन्छन्, तीसँग सामञ्जयस्ता मिलाउन सकिरहेको थिइँन । अहिलेलाई नाटक शिरिषको फूलबाट पुनरागमन कन्फर्म भयो’ उनले भने ।
अभिनेत्री रेखा थापाको कुराले आफूलाई नाटकमा अभिनय गर्न प्रेरित गरेको उनको भनाइ छ । जीवन र रेखाले कैंयन फिल्ममा सहकार्य गरे । यी दुईजना मिल्ने साथी पनि हुन् । समकालिन भएकैले दुईबीच बुझाइमा समरुपता देखिन्छ ।
कान्तिपुर थिएटरकै नाटक ‘मीरा’बाट रंगमंचमा डेब्यु गरेकी रेखाले जीवनलाई ‘शिरिषको फूल’ खेल्न प्रेरित गरिन् । ‘रेखा थापा समकालिन साथी भएकाले कुराकानी हुन्थ्यो । उहाँले मीरामा देखाएको उत्साहको कुरा हुन्थ्यो’ जीवनले सम्झिए, ‘जीवन मैले ५०-१०० वटा फिल्म गरेको भन्दा पनि नाटकमा वास्तविक जीवन पाएँ भनेर रेखाले भन्नुभयो । मैले रियल जीवन भेटेँ भन्नुभयो । यसमा रहेछ मजा भन्ने प्रेरणादायी सन्देश मैले प्राप्त गरेको थिएँ ।’
नाटकको पात्र सुयोगवीर आफ्नै लागि बनेको जस्तो महसुस गरेको जीवनले बताए । ‘संयोग भन्नुपर्छ, शिरिषको फूलको अफर मलाई आयो । जुन सुयोगवीर सोचिएको छ । त्यो पात्र पढिसकेपछि आत्माले भन्यो– यो रोल त मेरै लागि हो । यो गर्न सक्छु भन्ने भित्रैदेखि महसुस भयो’ उनले भने ।
सुयोगवीर पात्र र आफूबीच शब्द, भावना र संवेदनामा एकरुपता देखिएको जीवन बताउँछन् । ‘कता कता म साहित्यमा रुचि राख्ने मान्छे । शब्द, भावना र यसको फिलिङ्स कनेक्ट भयो’ उनले भने, ‘भिन्न प्लेटफर्मबाट आउँदा आफूलाई प्रमाणित गर्ने कुरा पनि हुन्छ । यसकारण नाटक रोजेँ । तर, सुयोगवीर पात्र बन्न चुनौती छ ।’
अमेरिकामा हुँदा पक्कै पनि जीवन र फिल्मबीच दूरी बन्यो । कहिलेकाहिँ दूरीले पनि मानिसलाई यथार्थसँग ठोक्काउँछ । स्पष्टता दिन्छ । के जीवनले यो दूरीमा स्पष्टता प्राप्त गरे ?
‘निश्चय नै मलाई प्रश्नले पछ्याए । म त्यहाँ हुनुपर्ने मान्छे, यहाँ कसरी आइपुगेँ भन्ने’ लाग्यो । त्यहीँभित्र धेरै कुरा छन् । त्यो भित्र धेरै चीज छन् । म कसरी आएँ ?’ उनले भने ।
जीवन अब त्यतिबेलाका प्रश्नलाई मूर्तरुप दिने प्रयासमा छन् । ‘उता गैसकेपछि म त्यहाँ किन छैन भन्ने लाग्छ । दर्शकले खोजिराख्या पनि छन्’ भन्छन्, ‘यहाँ आइसकेपछि जुन किसिमको अपेक्षा देखिएको छ, जुन किसिमको चाहना देखिएको छ । यस बीचमा धेरै ग्याप भएको फिल भयो । साढे ७ वर्षमा यहाँ ठूलो परिवर्तन आउँदाखेरी हरेक दिन साँझ ती प्रश्न एकैपटक आउँथे । तपाईंले भन्दाखेरी त्यहाँनेर ग्याप थियो ।’
सन् २०२५ भित्र आफू फिल्ममा फर्किसक्ने उनले बताए । ‘अब काठमाडौं धेरै र अमेरिका कम’ उनले भने, ‘थिएटर सकेपछि । मलाई जहाँसम्म लाग्छ, यस्तै किसिमका अरु रोल आए अरु रोल पनि गरिन्छ । नभए ब्याक टु फिल्म । त्यसरी मूर्तरुप दिने प्रयास गर्छु । २०२५ भित्र पाउन सकिन्छ ।’
सबै कुरा ठीकठाक चले, जीवनले बन्ने तयारीमा रहेको ‘नाइँ नभन्नू ल ७’बाट घरेलु फिल्ममा पुनरागमन गर्न सक्छन् । यसबारे निर्देशक विकास आचार्य र लुइँटेलबीच कुराकानी पनि भैरहेको छ । विकास पनि जीवनलाई यो फिल्मबाट फर्काउन चाहन्छन् । नहोस् पनि किन्, यो फिल्मका सुरुवाती दुई सिरिजले राम्रो कमाइ गरे, जीवनलाई नयाँ उचाइ दिए ।
जीवन ‘नाइँ नभन्नू ल ७’को पुनरागमनलाई आफ्नो पुनर्जन्म भन्न रुचाउँछन् । ‘अहिले नाइँ नभन्नू ल ७ को पनि कुरा चलिराख्या छ । नाइँ नभन्नू ल ७ बाट ७ वर्ष कटाएर, यही पो पुनर्जन्म हो कि फेरि’ उनी सुनिए, ‘अभिनयमा भैसक्यो । दोस्रो इनिङ सुरु भैसक्यो, चौका छक्का सातबाट हुनसक्छ ।’
संवाद : विष्णु शर्मा
भिडियो र तस्वीर : शंकर गिरी
सम्पादन : अविकृत मुखिया
प्रतिक्रिया 4