
२ साउन, काठमाडौं । प्रभु हेलिकप्टर स्थापनाको १०औं वर्षमा प्रवेश गरेको छ ।
यही अवसरमा प्रभु हेली लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाए ।
एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण सेयर खरिद गरी प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको हो । एक थान ‘रोबिन्सन’ हेलिकप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुसँग अहिले दुई थान ‘एयरबस एच१२५’ हेलिकप्टर छन् ।
कम्पनीले हाल पोखरा, काठमाडौं र लाङटाङमा हेलिकप्टर टुर तथा साइटसिइङ सेवा उपलब्ध गराइरहेको छ । मुक्तिनाथ, गोसाइँकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकप्टर टुर उपलब्ध गराउँदै आएको छ ।
सगरमाथा, अन्नपूर्ण र माछापुच्छ«े हिमालको आधार शिविरमा पनि हवाई उडान गर्नुका साथै उद्धार लगायत सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
सुरुमा कम्पनी ऐन २०६३ अन्तर्गत एक निजी लिमिटेड कम्पनीका रूपमा समावेश गरिएको प्रभु हेलिकोप्टर प्रालि ३० अजसार २०७९ देखि पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो । कम्पनीसँग पोखरामा आफ्नै ह्यांगर सुविधा छ ।
प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन तयारी गरेको जनाएको छ । कम्पनीका अनुसार आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकिएको छ ।
प्रतिक्रिया 4