+
+
Shares

मकवानपुरका सीडीओ र एसपीविरुद्ध जनप्रतिनिधि आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख विश्वराज खड्काविरुद्ध आन्दोलित भएका छन्।
  • जनप्रतिनिधिहरूले आक्रमणमा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयबाटै काम गर्ने निर्णय गरेका छन्।
  • प्रहरीले आक्रमणमा संलग्नलाई पक्राउ गर्न खोजिरहेको र आरोपितहरू भागिरहेको मकवानपुर प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले बताए।

४ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको जनप्रतिनिधिहरू  जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)विरुद्ध आन्दोलित बनेका छन् ।

कार्यशैलीलाई लिएर पटक-पटक विवादमा आएकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काविरुद्ध जनप्रतिनिधि पहिलोपटक आन्दोलनमा उत्रिएका हुन् ।

जनप्रतिनिधिमाथि भएका आक्रमणका घटनामा संलग्नलाई एक महिना बित्दासमेत पक्राउ गर्न नसकेको भन्दै हेटौंडाका मेयर, उपमेयर र १९ वटै वडाका वडा अध्यक्षहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रशासन र प्रहरीको निकम्मा पनको विरोधमा जनप्रतिनिधिहरु आन्दोलनमा उत्रिनु परेको हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले बताए ।

जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयबाटै वडाको काम गर्ने गरी आन्दोलनको कार्यक्रम तय गरिएको उनले बताए । ‘वडामा बसेर काम गर्न असुरक्षा भयो, अब प्रशासन कार्यालयमा बसेर काम गर्छौं । वडाको काम रोक्दैनौं, यतै प्रशासनबाटै काम गर्छौ’, प्रवक्ता न्यौपानेले भने ।

उनै न्यौपानेमाथि गत ४ असारमा वडा कार्यालयमा ४ जनाको समूहले आक्रामण गरेको थियो । १ नम्बर वडामा अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्न खोज्दा जग्गा कब्जा गर्दै आएको समूहले वडा कार्यालयमै पुगेर न्यौपानेमाथि आक्रमण गरेको थियो । आक्रमणबाट उनको टाउकोमा चोट लागेको थियो ।

१ नम्बर वडाको राप्ति किनारतर्फ सार्वजनिक जग्गा अतिक्रमणमा ठूलो गिरोह विगतदेखि नै सक्रिय रहेको जनप्रतिनिधिहरु बताउँछन् । ‘जिल्लाका प्रहरी र प्रशासक निकम्मा देखियो । यस्ताहरुबाट जनताले शान्ति सुरक्षाको अनुभूति गर्नु सक्दैनन् । यो प्रहरी र प्रशासनको अकर्मण्डयता हो’, वडाध्यक्ष न्यौपानेले भने, ‘घटना भएको एक महिना भइसक्यो । एक सताभित्र आक्रमणकारीलाई कानूनी दायरामा ल्याउने भनिएको थियो । जनप्रतिनिधिले त न्याय पाउँदैन भने जनताको अवस्था के होला ?’

हेटौंडा उपमहानगरपालिकाको कार्यालयसहित जिल्लाका राजनीतिक दलको साथ र सहयोग हुँदा पनि प्रहरी प्रशासनले नतिजा दिन नसक्नु दुःखद् भएको उनले बताए । आफूमाथि आक्रमण गर्नेहरु अब पक्राउ पर्ला र कानूनी कारबाहीको दायरामा आउला भन्ने विश्वास नभएको न्यौपानेको प्रतिक्रिया छ ।

हेटौंडाका वडा अध्यक्षहरुले दुईदिन जिल्ला प्रशासन कार्यालय परिसरभित्र टेवल राखेर सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका हुन् । ‘वडा अध्यक्षमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई पक्राउ गर्न नसक्नु प्रशासनको लाचारीपन हो’, हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला भन्छन, ‘ ‘जनप्रतिनिधि त सुरक्षित छैनन् भने सुरक्षा दिन नसक्ने यस्तो प्रहरी प्रशासनबाट जनताले के अपेक्षा राख्ने ?’

मकवानपुर प्रहरीले घटनामा संलग्न भएको आरोपमा यसअघि रुम्बा थरका एक जनालाई पक्राउ गरेको थियो । आरोपितलाई परीक्षा दिनका लागि भन्दै यसअघि नै हिरासत मुक्त गरिसकेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । आरोपितले घटनामा संलग्न अन्यका बारेमा कुनै जानकारी पनि नदिएको उनको भनाइ छ ।

आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी निरन्तर खटिएको डिएसपी अर्यालले बताए । ‘उनीहरु लुकेर बसेको सम्भावित ठाउँहरुमा हाम्रो सर्च चलिरहेको छ । म पनि फिल्डमै खटिएको छु । आरोपितहरु भागिरहेकोले पक्राउ गर्न समस्या भइरहेको छ ’, उनले भने ।

कार्यशैलीले पटक-पटक विवादमा सिडिओ

आफ्नै गृह जिल्ला (माइती)समेत रहेको मकवानपुरको प्रजिअ बनेर आएदेखि नै श्रेष्ठ आफ्नो कार्यशैलीका कारण विवादमा तानिएकी छन् । कमजोर समन्वयकारी भूमिका र रवाफिलो कार्यशैलीले उनलाई पटक-पटक विवादमा तानेको छ ।

हेटौंडा अस्पतालविरुद्धको रचनात्मक आन्दोलनलाई दबाउन राज्यशक्तिको दुरुपयोग गर्दै धरपकडमा उत्रिएकी श्रेष्ठविरुद्ध सडकमै नाराबाजी लागेको थियो । सडकमै टायर बालेर विरोध भएको थियो । उनीविरुद्ध नेपाली कांग्रेसलगायतका दलहरुले प्रशासन बाहिर आन्दोलन नै गरेका थिए ।

पत्रकारहरुलाई रोक्न उनले परिसरको गेटसम्मै फोटो र भिडियो खिच्न मनाही रहेको पोष्टर टाँस्न लगाएकी छन् । पत्रकारहरुलाई कार्यकक्षमै फोटो र भिडियो खिच्न रोक्दै अभद्र व्यवहार गरेपछि पत्रकार महासंघ मकवानपुर शाखाको बैठकले उनलाई क्षमायाचना गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?