
११ साउन, विराटनगर । गत आर्थिक वर्ष २०८१–८२ मा पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारकाे क्षेत्रमा प्रगति गरेकाे कोशी प्रदेश सरकारले दाबी गरेकाे छ ।
कोशी प्रदेशले गत आर्थिक वर्षमा करिब ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले बताए ।
याे वर्ष प्रदेश सरकारको कार्यक्षमता बढेकाे उनले बताए । गत वर्ष राजस्व संकलन पनि ८ प्रतिशतले वृद्धि भएकाे उनले बताए ।
आर्थिक वातावरणलाई थप प्रोत्साहन गर्न यस वर्ष आयोजित लगानी सम्मेलन मार्फत १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरका परियोजनाहरू लगानीका लागि आउने चरणमा रहेको उनकाे दाबी छ ।
गत वर्ष दूरगामी महत्वका परियोजना अघि बढाइएको मुख्यमन्त्री हिक्मतकुमार कार्की बताए । स्वीस सरकार र स्थानीय तहसँगको सहकार्यमा २ अर्ब ३५ करोडको लागतमा ४६८ किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण थालिएको उनले बताए ।
यो ५ वर्षे परियोजनाअन्तर्गत मुन्दुम, चियाबारी, लालीगुराँस र फाल्गुनन्द पदमार्ग निर्माण हुनेछन् ।
सीमित बजेटका बाबजुद एक वर्षमा ११४ किलोमिटर सडक कालोपत्रे गरेकाे, ५२ किलोमिटर नयाँ ट्र्याक खोलिएको छ । सडक ग्राभेल १५२ किलोमिटर निर्माण भएकाे मुख्यमन्त्रीकाे सचिवालयकाे दाबी छ ।
प्रतिक्रिया 4