
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन महिनादेखि उपकुलपति नियुक्ति हुन नसकेको छ।
- स्वास्थ्य मन्त्रालयले सर्च कमिटी गठन गरी उपकुलपति छनोट प्रक्रिया सुरु गरेको भए पनि राजनीतिक भागबन्डा नमिल्दा निर्णय अलमलमा छ।
- चार प्रतिष्ठानमा ५५ जना उम्मेदवारले आवेदन दिएका छन् र उपकुलपति चयनमा राजनीतिक हस्तक्षेप बढिरहेको छ।
१६ साउन, काठमाडौं । नेपालका प्रमुख चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तीन महिनादेखि नेतृत्वविहीन छन् । बीपी कोइराला (धरान), कर्णाली, पोखरा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन नसकेका हुन् ।
स्वास्थ्य मन्त्रालयले असार पहिलो साता उपकुलपति छनोटका लागि प्रक्रिया थाले पनि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिल्दा नियुक्ति अझै अलमलमा छ । हाल प्रतिष्ठान निमित्तको भरमा चलिरहेको छ ।
चारै प्रतिष्ठानमा उपकुलपति पद रिक्त भएपछि मन्त्रालयले ४ असारमा आवेदन आह्वान गर्दै सर्च कमिटी गठन गर्यो । समितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल संयोजक छन् भने सदस्यमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र योजना आयोगका सदस्य डा. आरपी बिच्छा छन् ।
तर, डेढ महिना बितिसक्दा पनि समितिले सिफारिस गर्नुपर्ने नामसमेत टुंग्याउन सकेको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सत्तारूढ दलबीच भागबन्डाको सहमति प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
कांग्रेस र एमालेबीच मोटामोटी सहमति भए पनि कुन प्रतिष्ठान कुन दलले लिने भन्ने अन्तिम टुंगो लाग्न नसकेका कारण नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
मन्त्रालयका जानकार स्रोतका अनुसार चार प्रतिष्ठानमध्ये दुई वटामा कांग्रेस र दुई वटामा एमालेको भाग पर्ने भनेर प्रारम्भिक सहमति भएको थियो ।
सुरुमा कर्णाली र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कांग्रेसले तथा पाटन र पोखराको एमालेले लिने सहमति भएको थियो ।
तर, पछि मन्त्री पौडेलले पोखरा प्रतिष्ठान नछोड्ने अडान लिएपछि सम्पूर्ण समीकरण नै उल्टिएको मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार मन्त्री पौडेल पोखरा लिएर बीपी छाड्न तयार छन् ।
‘उहाँको क्षेत्र भएकाले स्वास्थ्य मन्त्रीको पोखरामा बढी चासो छ । पोखरा कांग्रेसकै भागमा पर्नुपर्ने स्वास्थ्यमन्त्री लबिइङमा लाग्नुभएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।
तर, एमालेले पनि पोखराको उपकुलपति छाड्न चाहेको छैन । यसका लागि एमाले नेता खगराज अधिकारी नै सक्रिय रहेको विश्वस्त स्रोतले बतायो ।
‘मोटामोटी धरान कांग्रेसलाई र पाटन एमालेलाई दिने सहमित भएको थियो,’ उच्च स्रोतले भन्यो, ‘पोखरा एमालेले पनि छाड्न खोजेको छैन, स्वास्थ्यमन्त्रीले पनि छाड्न खोज्नुभएको छैन ।’
कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति आफ्नै दलको सिफारिसमा हुनुपर्ने पक्षमा छन् । उनीहरूका लागि बीपी कोइराला प्रतिष्ठान छाड्नु राजनीतिक रूपमा स्वीकार्य नभएको स्रोतले जनाएको छ । किनकि, बीपी कोइराला देशकै ठूलो प्रतिष्ठान हो ।
यसको पछाडि राजनीतिक शक्ति केन्द्रमा रहेकी विवादित राप्तीकी पूर्वउपकुलपति डा. संगीता भण्डारीले चलखेल गरिरहेकी छिन् ।
‘राजनैतिक रूपमा उच्च नेतृत्व नै डा. गिरी र भण्डारीलाई बनाउन बीपी नछाड्ने दौडमा रहेको बुझिएको छ,’ स्रोत भन्छ ।
मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानमा राजनीतिक भागबन्डा नमिल्दा सिफारिस समितिले काम अगाडि बढाउन सकेको छैन ।
सिफारिस समितिले डेढ महिनामा पनि थालेन काम
उपकुलपतिको सिफारिसका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन भएको समेत डेढ महिना बितिसकेको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनअनुसार यो समितिले योग्य उम्मेदवारको छनोट गरेर प्रत्येक रिक्त पदका लागि तीन–तीनजनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । तर हालसम्म यो समितिले कसैको सिफारिस गर्न सकेको छैन ।
‘प्रतिष्ठानको नेतृत्व ४ महिनासम्म पनि दिन नसक्नु लाजमर्दो हो,’ मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘समितिको मिटिङ बस्न सकिएन भनेर पन्छिन पाइएन नि ।’
तर, उपकुलपति नियुक्तिका लागि बनेको सर्च कमिटीले प्रारम्भिक काम अन्तिम चरणमा पुर्याएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् । उनका अनुसार राजनीतिक नेतृत्वमा बारम्बार हुने विदेश भ्रमणले अन्तिम निर्णय ढिलो भएको छ ।
उनका अनुसार हालसम्म उम्मेदवारहरूले पेस गरेका शैक्षिक प्रमाणपत्रहरूको प्रमाणीकरण सकिएको छ । अब योग्य ठहरिएकालाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी भइरहेको छ ।
‘सीभी र सर्टिफिकेट प्रमाणीकरण सकिएको छ,’ डा. बुढाथोकीले भने, ‘अब योग्य उम्मेदवारले कार्ययोजना प्रस्तुत गर्ने चरण बाँकी छ । त्यसको मिति समितिले छिट्टै तय गर्छ ।’
तर, कार्ययोजना प्रस्तुतिको मिति तय गर्न समिति अझै बसेको छैन । हाल स्वास्थ्य सचिव डा. विकास देवकोटा विदेश यात्रामा छन् ।
‘कहिले योजना आयोगका सदस्य बाहिर हुनुहुन्छ, कहिले मन्त्रीज्यूको समय मिल्दैन,’ प्रवक्ता बुढाथोकीले भने, ‘अहिले सचिवज्यू ब्राजिल भ्रमणमा हुनुहुन्छ । सोमबार फर्कनुहुन्छ । त्यसपछि समितिले कार्ययोजना प्रस्तुतिको मिति टुंग्याउनेछ ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका पदहरू गत चैत महिनाको तेस्रो सातामा खाली भएका थिए ।
यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति चैत महिनाको अन्तिम सातामा खाली भएका थियो ।
हाल यी ४ प्रतिष्ठानको नेतृत्व सम्बन्धित रेक्टरहरूले निमित्त उपकुलपतिको रूपमा सम्हालिरहेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीले पाएका छन् ।
त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी रेक्टर प्रा.डा. पवन शर्मा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा. सञ्जीवकुमार शर्मालाई दिइएको छ ।
को–को छन् प्रतिस्पर्धामा ?
४ वटा उपकुलपति पदका लागि जम्मा ५५ जना उम्मेदवारले आवेदन दिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा धेरै १७ जनाले आवेदन दर्ता गराएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १३ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको आवेदन दर्ता भएको छ ।
विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका लागि चिकित्सा क्षेत्रका चर्चित तथा केही विवादित व्यक्तिहरूले समेत आवेदन दिएका छन् ।
यीमध्ये कतिपयले पहिले विभिन्न विवाद खडा गरेका थिए भने कतिपयको कार्यकालमा कर्मचारी आन्दोलनसमेत भएको थियो ।
बीपी कोइराला प्रतिष्ठान १३ आवेदकमध्ये कांग्रेसका तर्फबाट डा. संगीता सिंह भण्डारी, डा. रोशन पोखरेल, डा. रामेश कोइराला र डा. प्रह्लाद कार्की मुख्य प्रतिस्पर्धीका देखिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. रामेश कोइराला, डा. विधाननिधि पौडेल, डा. राजेश अधिकारी, डा. प्रेमराज ज्ञवाली, अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठ र हाल निमित्त उपकुलपति रहेका डा. भरतबहादुर खत्री मुख्य उम्मेदवार छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १४ आवेदकमध्ये यो प्रतिष्ठान कांग्रेसको भागमा पर्ने भएकाले दलीय विवाद देखिएको छैन । मुख्य दाबेदारमा डा. पुजनकुमार रोकाया, डा. श्रीकृष्ण गिरी, डा. पवनजंग रायमाझी, डा. डबल बहादुर धामी रहेका छन् ।
यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. गेहनाथ बराल, डा. संगीतासिंह भण्डारी, डा. बुद्धिप्रसाद पौडेल, डा. पवनकुमार शर्मा र पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंह मुख्य उम्मेदवार छन् ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप बढ्दै गएका बेला त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्व डिन डा. जगदीश अग्रवालले उपकुलपति चयनमा योग्य र अनुभवी व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने बताए ।
‘उपकुलपति पद निकै जिम्मेवार हुन्छ,’ डा. अग्रवालले भने, ‘यो पदमा बस्नेले समग्र स्वास्थ्य क्षेत्रको सुधारमा निर्णायक भूमिका खेल्न सक्छ। त्यसैले राजनीतीकरण होइन, क्षमता भएकालाई छनोट गर्नुपर्छ ।’
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले नेपालका स्वास्थ्य प्रतिष्ठानहरूको संरचना नै अस्वस्थ रहेको टिप्पणी गरे । राजनीतिक प्रभावका कारण स्वास्थ्य प्रतिष्ठानहरूले सधैँ कमजोर नेतृत्व भोग्नुपरेको बरालले उल्लेख गरे ।
‘राजनीतीकरण सुरु भयो भने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले कहिल्यै राम्रो उपकुलपति पाउँदैनन्,’ बराल भन्छन् ।
प्रतिक्रिया 4