+
+
Shares

संवैधानिक इजलासका चार न्यायाधीश पनि गोलाबाटै तोक्नुपर्छ : सर्वोच्च बार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालत बार एसोसिएसनले संवैधानिक इजलासमा न्यायाधीशहरू गोला प्रक्रियाबाट छनोट गर्न प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई ज्ञापनपत्र पठाएको छ।
  • नेपालको संविधानको धारा १३७ अनुसार प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा ४ न्यायाधीश संवैधानिक इजलासमा रहने व्यवस्था छ।
  • न्यायाधीशहरूको आन्तरिक समीक्षामा गोला प्रक्रियाबाट न्यायाधीश छनोट गर्न बहस भएको र सर्वोच्च अदालत बारले पनि सो माग गरेको छ।

१८ साउन, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले संवैधानिक इजलासमा समेत गोला प्रक्रियाबाट न्यायाधीशहरू छनोट गर्न माग गरेको छ ।

सर्वोच्च बारले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई एक ज्ञापनपत्र पठाएर गोला प्रक्रियाबाट न्यायाधीश तोक्न माग गरेको हो ।

नेपालको संविधानको धारा १३७ मा संवैधानिक इजलाससम्बन्धी व्यवस्था छ, जहाँ प्रधानन्यायाधीश र न्यायपरिषद्‍को सिफारिसमा उनले तोकेका ४ न्यायाधीश रहने व्यवस्था छ ।

पछि सर्वोच्च अदालतकै व्याख्या अनुसार ४ भन्दा बढी न्यायाधीशहरूको सूची (रोस्टर) बनाई तीमध्येबाट प्रधानन्यायाधीशले ४ जना न्यायाधीश तोक्ने अभ्यास भएको थियो ।

चोलेन्द्रशम्सेर जबराको पालामा प्रधानन्यायाधीशले आफूखुसी न्यायाधीश छनोट गरेको आरोप लागेपछि प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशहरू संवैधानिक इजलासमा रहने भद्र सहमति भएको थियो । र हालसम्म पनि त्यो अभ्यास कायम छ ।

केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरूको आन्तरिक समीक्षामा संवैधानिक इजलासमा रहने न्यायाधीशहरूका बारेमा बहस भएको थियो । केही वरिष्ठतम न्यायाधीशहरूले अहिलेकै व्यवस्था यथावत हुनुपर्ने माग गरेका थिए भने केहीले रोस्टरमा रहेका न्यायाधीशहरूबीच गोला प्रक्रियाबाट न्यायाधीश छनोट हुनुपर्ने माग गरेका थिए ।

केही दिनअघि ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति विवादमा न्यायाधीशहरूबीच राय बाझिएर ३/२ को अनुपातमा मुद्दाको फैसला भएको थियो र प्रधानन्यायाधीश नै अल्पमतमा परेका थिए ।

त्यसपछि संवैधानिक इजलास गठनका बारेमा फेरि बहस हुन थालेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक (फुलकोर्ट) मा सीमित भएको बहसमा प्रवेश गरेर सर्वोच्च अदालत बारले समेत गोला प्रथाको माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?