
२१ साउन, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ मा करिब ३ दर्जन सवारीसाधन लन्च गरिएका छन् ।
राजधानीको भृकुटीमण्डपमा आज बुधबारदेखि ५ दिनसम्म सञ्चालन हुने एक्स्पोमा आज पहिलो दिन दुइ पाङ्ग्रे र चार पाङ्ग्रे सवारी लन्च गरिएका हुन् ।
२५ साउनसम्म चल्ने सवारीसाधनको यस बृहत प्रदर्शनी उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरे । एक्स्पोको पहिलो दिन ३ दर्जन हाराहारी नयाँ मोडेलका सवारीसाधन सार्वजनिक गरिएका छन् । व्यवसायीहरूले आज सार्वजनिक गरेका नयाँ तथा पुराना स्टक गाडीमा विशेष छुट घोषणा गरेका छन् ।
नाइमा एक्स्पोको पहिलो दिन अवलोकनकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो । नाइमाका अनुसार पहिलो दिन १५ हजार अटोप्रेमी एक्स्पो पुगेका थिए । यस प्रदर्शनीमा चिनियाँ र भारतीय गाडीहरू सार्वजनिक भएका छन् ।
एक्स्पोमा २३ वटा ४ पाङ्ग्रे, १८ वटा २ पाङ्ग्रे र ७ वटा कमर्सियल भेहिकल ब्रान्ड स्टल छन् । एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन् ।
कुन गाडी र बाइक भए लन्च ? मूल्य कति ?
फक्सवागन
जर्मन ब्रान्ड फक्सवागनको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले एक्स्पोमा दुई पेट्रोल कार लन्च गरेको छ । एक्स्पोमा भर्टुस जीटी सेडान र नयाँ टाइगुन एसयूभी लन्च गरेको हो ।\
कम्पनीले टाइगुनको ७ भेरिएन्ट र भर्टुसको दुई भेरिएन्ट सार्वजनिक गरेको हो । कम्पनीले टाइगुनको बेसिक भेरिएन्टको मूल्य ५४ लाख ९० हजार र टप भेरिएन्टको ८९ लाख रुपैयाँ तोकेको छ । त्यस्तै भर्टुसको म्यानुअलको ८४ लाख रुपैयाँ र अटोमेटिकको ८९ लाख रुपैयाँ तोकेको छ ।
फारिजोन
जगदम्बा मोटर्सले १४ र १९ सिट क्षमतामा दुई नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ ।
कम्पनीले एक्स्पोमा फारिजोन ब्रान्ड १९ सिटे र चेरीवान्डा ब्रान्ड १४ सिटे इलेक्ट्रिक माइक्रोभ्यान एक्स्पोमा सार्वजनिक गरेको हो ।
कम्पनीले फारिजोन–१९ सिटर भ्यानको मूल्य ७६ लाख ९९ हजार रुपैयाँ तोकको छ ।
बीवाईडी एटो–१
साइमेक्स इन्क प्रालिले बीवाईडीको नयाँ ह्याचब्याक कार एटो–१ दुई भेरिएन्ट लन्च गरेको छ ।
एटो–वान स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरिएन्टमा आएको छ । डाइनामिक भेरिएन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
महिन्द्रा
महिन्द्राले बीई–६ इलेक्ट्रिक कुप्पे एसयूभी लन्च गरेको छ । यसको प्याक वानको मूल्य ५७ लाख, प्याक टुको मूल्य ६० लाख र प्याक थ्रीको मूल्य ६७ लाख तोकिएको छ ।
जेको/ओमोडा
चीनमा मिनी रेन्ज रोभरको नामले चर्चा कमाएको जेको जे–५ लन्च भएको छ । ओमोडा/जेकोको आधिकारिक वितरक एपीजी अटोमोबाइलले जे–५ एसयूभीको भाउ ६० लाख ९९ हजारको यो गाडीमा ४ लाख छुट दिएर ५६ लाख ९९ हजारमा उपलबध गराएको छ ।
एथर
एथरको आधिकारिक विक्रेता वैद्यज् इनर्जीले इलेक्ट्रिक स्कुटर रिज्टा नाइमा एक्स्पोमा लन्च भएको छ । रिज्टा मूल्य ३ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।
सेगवे
सेवगवेले एक्स्पोमा ४ नयाँ मोडेका स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि सेगवे–नाइनबोटको अधिकृत वितरक आइहब प्रालिले ‘ई–१५० एमके २’ र ‘ई १२५ एमके २’ लन्च गरेको हो ।
त्यस्तै, ई–बाइक ‘साइबर’ र ई–साइकल ‘सफारी’ पनि सार्वजनिक गरेको छ । स्कुटर ई–१५० को ५ लाख, ई–१२५ को ३ लाख ५० हजार, साइबरको ५ लाख ५० हजार र सफारीको ३ लाख ५० हजार तोकिएको छ ।
मोर्बिडेली
इटालियन ब्रान्ड मोर्बिडेलीको एडभेन्चर बाइकका ‘टी–३५२ एक्स’ र ‘टी–२५२ एक्स’ एक्स्पोमा सार्वजनिक भएको छ । टी–३५२ एक्सको मूल्य ९ लाख ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो बुकिङ गरे ९ लाख २३ हजारमा पाउन सकिन्छ । कम्पनीले टी–२५२ एक्सको मूल्य भने अझै सार्वजनिक गरेको छैन ।
बिगस (बीजी)
अग्नि ग्रुपको अग्नि मोटोइन्क प्रालिले इलेक्ट्रिक स्कुटर ब्रान्ड बिगस (बीजी) का इलेक्ट्रिक स्कुटरका दुई मोडेल लन्च गरेको छ ।
तिनमा ‘बीजी आरयूभी ३५०’ र ‘बीजी सी१२’ लन्च गरेको हो । आरयूभी ‘आरयूभी ३५० आई–ई–एक्स’ भेरिएन्टको २ लाख ७९ हजार ४ सय तोकिएको छ । त्यस्तै आरयूभी म्याक्सको ३ लाख २५ हजार ३ सय छ ।
त्यसैगरी बीजी सी१२ का दुई भेरिएन्टमध्ये ‘सी१२ आई–ई–एक्स’ को २ लाख २८ हजार ४ सय र ‘सी१२ म्याक्स ३.०’ को ३ लाख ४ हजार ९ सय तोकिएको छ ।
केटीएम
केटीएम नेपालले ६ नयाँ मोडेल बाइक लन्च गरेको छ । तिनमा २०० ड्युक, २५० ड्युक, ३९० ड्युक, २५० एडभेन्चर, ३९० एडभेन्चर र ३९० एन्ड्युरो आर छन् । यिनको मूल्य क्रमश: ५ लाख ९९ हजार ९ सय, ७ लाख १४ हजार ९ सय, ९ लाख ४९ हजार ९ सय, ७ लाख ४९ हजार ९ सय, १० लाख ७४ हजार ९ सय र ९ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
क्यारी
लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्सले चिनियाँ ईभी ब्रान्ड ‘क्यारी’ एक्स्पोमा लन्च गरेको छ । क्यारीको १५ सिटे ‘केभान १’ र १६ सिटे ‘केभान २’ इलेक्ट्रिक भ्यान लन्च गरिएको हो । यिनको भाउ क्रमश: ५८ लाख ५६ हजार र ६३ लाख ६ हजार तोकिएको छ ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4