+
+
Shares

कवि तथा संगीतकार नन्दनको निधन

रासस रासस
२०८२ भदौ २ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कवि तथा संगीतकार प्रेमविनोद नन्दनको ९० वर्षको उमेरमा चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको छ।
  • नन्दनले नेपाली गीतसंगीत र साहित्य क्षेत्रमा २०११ सालदेखि सक्रिय भएर गजल, कविता र गीतसंग्रह प्रकाशित गरेका थिए।
  • उनको पार्थिव शरीर देवघाटमा अन्त्येष्टि गरिनेछ र उनी नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहकार थिए।

चितवन । कवि तथा संगीतकार प्रेमविनोद नन्दनको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा आइतबार (भदौ १) राति चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार, उनी लामो समयदेखि श्वासप्रश्वासलगायत समस्याबाट ग्रसित थिए । वि.सं. २०११ सालमा ‘झटारो’ गीतिसंग्रह प्रकाशन गरेर नेपाली गीतसंगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दनले गजल, कविता तथा अरू काव्यमा कलम चलाएका छन् ।

उनका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् । उनका गीतिसंग्रह अञ्जली (२०२३), सपनीबाट ब्युँझेर (२०२३), विपनीका पाइलाहरू (२०५२), ऐनाभित्रको आकाश (२०६३), सिद्धार्थको ग्रहत्याग लघुकाव्य (२०७४) र पत्रम पुष्पम कवितासंग्रह (२०७७) प्रकाशित भएका छन् ।

यस्तै, राष्ट्रियगान छनोटका क्रममा उनको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो ।

प्रधानका अनुसार, उनले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधूलिलगायत साहित्यिक पत्रिका पनि सम्पदान गरेका थिए । अनौपचारिक शिक्षा आर्जन गरेर गीतसंगीत र साहित्यमा लागेका नन्दन गायक, संगीतकार तथा कलाकार पनि थिए ।

१९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मिएका नन्दन पछि बसाइँ सरेर चितवनको नारायणगढ आएका हुन् । उनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायत सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए । उनलाई रथारोहण तथा सम्मान समेत गरिएको थियो ।

उनको पार्थिव शरीर धार्मिक तीर्थस्थल देवघाटमा सोमबार (भदौ २) अन्त्येष्टि गरिनेछ । उनी नारायणी कला मन्दिरका पूर्वअध्यक्ष र सल्लाहकार थिए । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?