
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशिया दूत नियुक्त गर्न लागेको बताएका छन्।
- गोरको नियुक्तिलाई अमेरिकी सिनेटले पारित गर्न बाँकी छ र भारतसँगको बढ्दो तनावबीच यो निर्णय महत्वपूर्ण मानिएको छ।
- गोरले ट्रम्प प्रशासनमा हजारौं नियुक्ति गरेका छन् र ट्रम्पले उनलाई आफ्नो विश्वासपात्र र असल साथी बताउनुभएको छ।
७ भदौ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशिया दूतमा नियुक्त गर्न लागेको बताएका छन् ।
गोर अहिले ट्रम्प प्रशासनको ‘हेड अफ प्रेसिडेन्शियल पर्सनल अपोइन्टमेन्ट्स’ मा कार्यरत छन् ।
ट्रम्पले घोषणा गरेपनि गोरको नियुक्तिलाई अमेरिकी सिनेटले पारित गर्न बाँकी छ ।
भन्सार शुल्क वृद्धिका कारण भारतसँग तनाव बढिरहेका बेला गोरलाई ट्रम्पले राजदूत बनाउन लागेका छन् । अमेरिकी दबावकै कारण अस्वभाविकरुपमा भारत र चीन समेत नजिक भइरहेका छन् ।
ट्रम्पले उनको आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘यो घोषणा गर्दै गर्दा मलाई खुशी लागिरहेको छ कि मैले भारतका लागि अमेरिकाको राजदूत र दक्षिण तथा मध्य एशिया मामिलाका लागि विशेष दूत नियुक्त गर्दैछु ।’
‘प्रेसिडेन्शियल पर्सनलको निर्देशकका रुपमा गोर र उनको टीमले महत्वपूर्ण समयमा हाम्रो संघीय सरकारको हरेक विभागमा लगभग ४ हजार ‘अमेरिका फर्स्ट’ नीति पछ्याउने समर्थकलाई नियुक्त गरेका छन्, सिनेटबाट पुष्टि हुने बेलासम्म गोर आफ्नो विद्यमान भूमिकामै ह्वाइट हाउसमा रहने छन्,’ ट्रम्पले भनेका छन् ।
साथै ट्रम्पले गोर निकै लामो समयदेखि आफ्नो साथमा रहेको भन्दै उनी विश्वासपात्र भएको उल्लेख गरेका छन् ।
ट्रम्पले लेखेका छन्, ‘सर्जियो गोर मेरा असल साथी हुन्, जो धेरै वर्षदेखि मेरो साथमा छन् । उनले मेरा ऐतिहासिक राष्ट्रपति चुनाव अभियानमा काम गरे, मेरा सर्वाधिक बिक्री हुने पुस्तक प्रकाशित गरे र हाम्रो आन्दोलनलाई समर्थन गर्ने सबैभन्दा ठूलो सुपार पीएसी (नेतालाई प्रत्यक्ष नजोडेरै धेरै पैसा खर्च गरेर समर्थन गर्ने राजनीतिक कोष) मध्ये एउटालाई सञ्चालन गरे ।’
संसारकै धेरै जनसंख्या भएको क्षेत्रका लागि विश्वासयोग्य पात्र पाएको ट्रम्पको तर्क छ । गोरले आफ्नो एजेन्डा अगाडि बढाउनेमा ट्रम्प विश्वस्त देखिन्छन् ।
गोरले पनि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पले भारतका लागि आगामी अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशिया मामिलाका लागि विशेष दूत प्रस्ताव गरेर मप्रति विश्वास व्यक्त गर्नुभएको छ, त्यसका लागि म आभारी छु ।’ अमेरिकी प्रतिनिधित्व गर्नु आफ्ना लागि जीवनकै ठूलो सम्मान हुने उनको भनाइ छ ।
मस्कले गोरलाई भनेका थिए– साँप
ट्रम्पका निकट सहयोगी मानिने गोरको कार्यशैली विवादास्पद रहँदै आएको छ । यसै वर्षको सुरुवातमा टेस्ला र स्पेसएक्सका प्रमुख इलोन मस्कसँग ट्रम्पको विवादमा पनि गोरको भूमिका रहेको बताइन्छ ।
मस्कले गोरलाई ‘सर्प’ समेत भनेका थिए । अमेरिकामा कतिपयले गोरलाई ट्रम्पको ‘दाहिने हात’ भनेर समेत सम्बोधन गर्छन् ।
गोरले हजारौं प्रशासनिक नियुक्तिको छानबिन गरे पनि आफ्ना सुरक्षा स्वीकृति (सेक्युरिटी क्लियरन्स) सम्बन्धी कागजात बुझाउन ढिलाइ गरेको खबर आएको थियो । मनपरी निर्णय लिने गरेको भन्दै उनको आलोचना हुने गरेको छ ।
न्यूयोर्क टाइम्सका अनुसार गोरले ट्रम्पलाई मस्कका नजिकका व्यावसायिक सहयोगी जेरेड आइज्याकम्यानले डेमोक्रेटलाई चन्दा दिएको गुप्त सूचना दिएका थिए ।
मस्ककै सिफारिसमा ट्रम्पले आइज्याकम्यानलाई सन् २०२४ को अन्त्यतिर नासाको प्रमुख बनाउने निर्णय गरेका थिए ।उक्त गुप्त जानकारी पाएपछि ट्रम्पले आइज्याकम्यानको सीनेट नामांकन फिर्ता लिएका थिए ।
खासमा आइज्याकम्यानले सन् २०२४ कै एक बैठकमा ट्रम्पलाई यसबारे आफैं बताइसकेका थिए । ट्रम्पले भने आफूलाई पछि मात्र थाहा भएको दाबी गरे ।
भारतसँगको बढ्दो तनावबीच गोरलाई राजदूत बनाउने तयारी
भारत र अमेरिकाबीचको व्यापार सम्झौता (ट्रेड डिल) रद्द भएको बेला अमेरिकी राष्ट्रपति ट्रम्पले राजदूत नियुक्त गरेका छन् ।
२७ अगस्टदेखि लागू हुने गरी ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्कको घोषणा गरेका छन् ।
अमेरिकी सीनेटले गोरको नियुक्तिलाई तत्कालै अनुमोदन गर्छ वा गर्दैन भन्नेमा भारतीय पक्षको चासो छ । विश्लेषकहरूका अनुसार भारत चाँडो भन्दा चाँडो अमेरिकी राजदूतको नियुक्ति होस् भन्ने चाहन्छ ।
एरिक गार्सेटी जनवरीमा फर्किएपछि अमेरिकाले नयाँ राजदूत पठाएको छैन । तनाव बढेका बेला भारत मामिलामा नयाँ अमेरिकी राजदूतको काम चुनौतीपूर्ण हुने देखिन्छ । रूसबाट तेल खरिद गरेर युक्रेनमा युद्ध अपराधका लागि सघाएको आरोप लगाउँदै अमेरिकाले भारतको आलोचना गर्दै आएको छ । साथै उसले भारतीय उत्पादनमा कर बढाएर दबाव बढाइरहेको छ ।
अमेरिकी नेता र विश्लेषकहरूको टिप्पणी
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गोरलाई राजदूत सिफारिस गरिएको खुशी व्यक्त गरे ।
‘उनी अमेरिकाका उत्कृष्ट प्रतिनिधि हुनेछन्, विशेष गरी यस्तो सम्बन्धमा जुन विश्वकै सबैभन्दा महत्वपूर्ण सम्बन्धमध्ये पर्छ,’ रुबियोले भने ।
दक्षिण एशियाली मामिलाका विश्लेषक माइकल कुगम्यान गोरका नियुक्तिले भारत र पाकिस्तान मामिलामा अमेरिकी दृष्टिकोण एकैखाले हुने देखिएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यदि गोरलाई भारतका लागि राजदूत मात्र नभई दक्षिण र मध्य एशियाका लागि विशेष दूतको भूमिका पनि दिइयो भने यसलाई भारत–पाकिस्तानलाई एउटै सन्दर्भमा राख्ने ‘हाइफनेसन’ नीतिको पुनरागमनका रूपमा हेरिनेछ ।’
अर्कोतर्फ राजदूतलाई दक्षिण र मध्य एशियाको विशेष दूतको जिम्मेवारी दिनुलाई भारतप्रति अमेरिकी प्राथमिकता झल्किने विश्लेषण समेत भइरहेको छ ।
गोरको पृष्ठभूमि
३९ वर्षका गोर भारत मामिला हेर्ने अहिलेसम्मका सबैभन्दा कान्छा अमेरिकी राजदूत हुनेछन् । उनको पूरा नाम गोरोकोभ्स्की हो । सन् १९८६ मा तत्कालीन सोभियत संघको उजबेकिस्तानमा जन्मिएका उनी १२ वर्षको उमेरमा (१९९९) परिवारसहित अमेरिका पुगेका हुन् ।
उनका पिता युरी गोरोकोभ्स्की सोभियत सेनाका लागि विमान डिजाइन गर्ने इन्जिनियर थिए भने आमा इजरायली मूलकी मानिन्छन् ।
गोरले लस एन्जेलसको उपनगरीय क्षेत्रमा उच्च शिक्षा हासिल गरे भने पछि वासिङ्टन डीसीको जर्ज वासिङ्टन विश्वविद्यालयमा अध्ययन गरे ।
सन् २००८ मा बाराक ओबामाविरुद्ध उठेका रिपब्लिकनका राष्ट्रपति उम्मेदवार जोन मक्केनको चुनावी अभियानमा समेत गोरले सक्रिय भूमिका खेलेका थिए ।
अमेरिकाले पछिल्लो पटक सन् २०२३ मा लस एन्जेलसका पूर्व मेयर एरिक गार्सेटीलाई भारतको राजदूत नियुक्त गरेको थियो ।
जो बाइडेन प्रशासनले सन् २०२१ को जुलाईमा नै उनलाई नामांकन गरेको भए पनि गार्सेटीमाथि मेयर हुँदा आफ्ना नजिकका सहयोगीमाथि यौन उत्पीडनको आरोप लाग्दा बेवास्ता गरेको भन्दै पदीय क्षमतामा प्रश्न उठाउँदै नियुक्ति रोकिएको थियो ।
तर, सीनेटमा भएको मतदानमा ४२ विरुद्ध ५२ मतले नियुक्ति स्वीकृत भएको थियो । त्यसबेला केही डेमोक्रेटका सिनेटरहरूले समेत उनको विपक्षमा मत दिएका थिए । उनै गार्सेटी कार्यकाल सकेर गत जनवरीमा अमेरिकी फर्किएपछि भारतमा अमेरिकाले राजदूत पठाएको थिएन ।
प्रतिक्रिया 4