
१२ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाइ खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताएका छन् ।
कृषिमन्त्री अधिकारीले आज इरीका एसिया निर्देशक डा. जोङ सुसँगको भेटमा नेपाल विगतमा धान चामलमा आत्मनिर्भर रहे पनि बढ्दो जनसंख्या र भात खाने बानीले माग बढेको बताए । उनले आन्तरिक उत्पादनले माग धान्न नसकेको र धानचामल आयातमा ठूलो धनराशी खर्च भइरहेको उल्लेख गर्दै उत्पादकत्व बढाउन र लागत घटाउन मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।
मन्त्री अधिकारीले सरकारले मल, बीउ, प्रविधि, यान्त्रिकीकरण, भण्डारण सुविधा, न्यूनतम समर्थन मूल्य कार्यान्वयन र धानचामल उद्योगसँगको सहकार्य जस्ता विभिन्न प्रयास गरिरहेको बताए ।
उनले जलवायु परिवर्तनले धान उत्पादनमा पारेको असर मध्यनजर गर्दै बढी उत्पादन दिने र जलवायु अनुकूलनका धानका जातहरूको विकासमा इरीले पुर्याएको महत्त्वपूर्ण योगदानको प्रशंसा पनि गरे ।
‘हामीलाई इरीको थप साथ र सहयोग आवश्यक छ, यसका लागि हामीले विगतदेखि नै विभिन्न प्रयास र पहल गर्दै आएका पनि छौं,’ उनले भने, ‘कुनै प्रोजेक्ट नहुँदा पनि सरकारका तर्फबाट धान अनुसन्धान र विकासमा सहयोग गर्न इरीको विशेषज्ञता र क्षमता उपयोग गर्ने गरी फन्ड व्यवस्थापन गर्ने दिशामा हामी लागेका छौं ।’
भेटका क्रममा इरीका एसिया निर्देशक जोङ सुले इरीलाई नेपाल सरकारबाट प्राप्त भएको सहकार्यका लागि आभार व्यक्त गर्दे आगामी दिनमा इरीसँगको सहकार्यमा थप वृद्धि हुने अपेक्षा व्यक्त गरे ।
भेटमा इरीका नेपाल प्रतिनिधि डा. हुमनाथ भण्डारी लगायत मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।
प्रतिक्रिया 4