
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक चन्द्र पन्तले फिल्म 'आबाट आमा'को छायांकन चितवनको देवघाटबाट सुरु गरेका छन्।
- प्रदीप रावतले फिल्ममा पल शाहको बुवा र विपनाको श्रीमानको भूमिका निर्वाह गर्नेछन्।
- फिल्मको छायांकन २५ दिन चितवनमा हुनेछ र बाँकी काठमाडौं, पोखरा र लन्डनमा हुनेछ।
काठमाडौं । निर्देशक चन्द्र पन्तले आफ्नो प्रतीक्षित फिल्म ‘आबाट आमा’को छायांकन विहिबार चितवनको देवघाटबाट थालेका छन् ।
यही फिल्मको छायांकनको लागि प्रसिद्ध भारतीय अभिनेता प्रदीप रावत अहिले चितवन पुगेका छन् । छायांकनको लागि त्यहाँ उनीसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती र सिम्रन पन्त छन् ।
चितवनमा २५ दिन छायांकन हुने फिल्मको कूल सेड्युल ३५ दिन छ । बाँकी छायांकन काठमाडौं, पोखरा र बेलायतको लन्डनमा हुनेछ ।
छायांकनअघि देवघाटमा फिल्मको शुभसाइत पूजा आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रूलाई देख्न सकिन्छ ।
चर्चित बलिउड फिल्म ‘गजनी’मा खलपात्रको भूमिका निर्वाह गरेका रावतले चन्द्र पन्तसँग यो फिल्ममा तेस्रोपटक सहकार्य गरेका हुन् । यसअघि यी दुई हिन्दी फिल्म माही र नेपालको ‘ह्रस्व दीर्घ’मा सहकार्य गरेका थिए ।
‘यो फिल्म रावतजीको करिअरकै सबैभन्दा लामो दृश्य भएको फिल्म हुनेछ’ निर्देशक पन्तले अनलाइनखबरसँग भने । फिल्ममा रावतले पल शाहको बुवा र विपनाको श्रीमानको भूमिका निर्वाह गर्नेछन् ।
आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मलाई लभस्टोरी र इमोसन तत्व भएको बताइएको छ ।
फिल्मको कथा र पटकथा निर्देशक पन्तकै छ । संवाद अमर न्यौपाने र अभिमन्यु निरवीको छ ।
यो फिल्मको लागि प्रदीप आफ्नी पत्नी कल्याणीसँगै नेपाल आएका छन् । ‘ह्रस्वदीर्घ’को प्रिमियरको लागि नेपाल आएका उनीहरूले त्यसबेला नेपाली सौन्दर्य र आतिथ्यताको खुलेर प्रशंसा गरेका थिए ।
प्रतिक्रिया 4