
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा फेसबुक लगायत कतिपय सामाजिक सञ्जाल बन्द हुँदा सहज सञ्चारमा अवरोध आउनेछ र टाढाका परिवार तथा साथीभाइको भावनात्मक नजिकता कमजोर हुनेछ।
- फेसबुक बन्द हुँदा निःशुल्क संवादमा अवरोध पुग्नेछ र धेरैले नयाँ विकल्प खोज्न गाह्रो महसुस गर्नेछन्।
- सामाजिक सञ्जाल बन्द हुँदा साना उद्यमीहरूको आयआर्जन प्रभावित हुनेछ र सूचना तथा सांस्कृतिक आदानप्रदानमा कमी आउनेछ।
फेसबुक जस्ता कतिपय सामाजिक सञ्जाल बन्द हुँदा के हुन्छ ? सम्भवत: धेरैलाई यसले एक किसिमको छटपटी पैदा भएको छ । फेसबुक जस्ता प्लेटफर्मबाटै खानेकुरा बेचिरहेकी एक महिला, म्यासेन्जरबाट विदेशमा भएका छोरोसँग भिडियो कल गरिरहेकी एक आमा, फेसबुक स्क्रोल गर्दै पट्यारलाग्दा दिनहरू कटाइरहेका बिरामी कुरुवा । यी सबैलाई एक छिन समय नै टक्क रोकिए जस्तो हुनसक्छ । किनभने मान्छेहरू यी माध्याममा कति अभ्यस्त भइसके भने यो उनीहरूको जीवनकै एक अभिन्न पाटो बन्नपुग्यो ।
बिहान उठ्यो फेसबुक, राति सुत्नुअघि फेसबुक । मान्छेले आफूलाई फेसबुकबाट अलग राख्नै कठिन हुने स्थिति थियो । कतिले यसबाट मनोरञ्जन लिन्थे भने, कतिले राम्रै आयआर्जन पनि गरिरहेका थिए । कतिले आफ्नो रचनात्मक क्षमता देखाइरहेका थिए । कतिका लागि भने यो कुलत जस्तै थियो । आखिर जे भएपनि मान्छेको जीवनशैलीसँग अभिन्न रूपमा जोडिएको थियो ।
यतिबेला नेपालमा फेसबुकलगायत कतिपय सामाजिक सञ्जाल बन्द हुँदैछन्÷भएका छन् । यसले मान्छेको जीवनशैलीमा के असर गर्छ त ?
१. सहज सञ्चारमा अवरोध
भौगोलिक रूपमा टाढा भएका परिवार, आफन्त, साथीभाइ जोड्ने सबैभन्दा सहज माध्याम थियो फेसबुक । को कहाँ छन्, के गर्दैछन्, कस्तो स्थितिमा छन् ? सबैकुरा साझेदार हुन्थ्यो । मान्छेहरूले आफ्नो विचार, मनको कुरा मात्र होइन फोटो–भिडियो पनि राख्ने गर्थे । यसले गर्दा मान्छेहरू टाढा भएपनि भावनात्मक रूपमा नजिक र एकाकार बनाउथ्यो । फेसबुक बन्द भएसँगै यसमा अवरोध पुग्नेछ ।
२. निःशुल्क संवादमा अवरोध
धेरैजसो मान्छे फेसबुक वा ह्वाटसएप जस्ता माध्यामबाटै कुराकानी गर्न अभ्यस्त भइसकेका थिए । यी माध्यमबाट कुरा गर्न कुनै पैसा नलाग्ने र असहज पनि नहुने भएकाले धेरैका लागि यो कुराकानीको राम्रो विकल्प थियो । यी माध्यामहरू बन्द हुँदा कतिपयलाई अरू विकल्प खोज्न गाह्रो हुन्छ र झन्झटिलो लाग्न सक्छ ।
३. आयआर्जनमा असर
साना उद्यम वा व्यवसाय गर्नेहरूका लागि प्रभावकारी प्लेटफर्म थियो फेसबुक जस्ता सामाजिक सञ्जाल । ठूला पसल थाप्नका लागि पूँजी नभएका, सटर भाडा तिर्न नसक्नेहरू पनि फेसबुककै माध्याम अपनाएर सानोतिनो उद्यम–व्यवसाय गरिरहेका थिए । कोही घरमै अचार बनाएर बेचिरहेका थिए, कोही आफ्नो कोठामै हस्तकला बनाएर बेचिरहेका थिए । यसले नयाँ पुस्ता र रचनात्मक क्षमता भएकाहरूलाई राम्रो सुविधा दिएको थियो । फेसबुक जस्ता सामाजिक सञ्जाल बन्द हुँदा उनीहरूको उद्यम, व्यवसाय पूर्णत प्रभावित हुनेछन् ।
४. सूचनाको पहुँचबाट टाढा
मान्छेले कहाँ के भइरहेको छ भन्ने जानकारी पाउन, समाचारहरू हेर्न पनि फेसबुक, एक्स जस्ता माध्याम प्रयोग गरिरहेका हुन्थे । कुनै ठाउँमा केही घटना भयो भने, कुनै नयाँ कुरा देखियो भने फेसबुक, एक्स जस्ता सञ्जालमा तुरुन्तै हाल्ने, लाइभ गर्ने बानी धेरैको थियो । यसले सूचना, जानकारीहरू प्रसारका लागि निकै ठूलो भूमिका खेलेको हुन्थ्यो ।
कहाँ के भइरहेको छ ? के हुनेछ ? इत्यादि जानकारी सामाजिक सञ्जालबाटै प्राप्त हुन्थ्यो । भोलि पानी पर्ने सम्भावना छकि छैन भन्नेदेखि सर्पदंशको उपचार फलानो ठाउँमा पाइन्छ भन्ने जस्ता आधारभूत जानकारी पनि फेसबुकबाट पाइरहेका थिए । यी कुराहरूका प्रयोगकर्ता वञ्चित हुनेछन् ।
५.छटपटी र एक्लोपनको महसुस
धेरै मान्छेका लागि एक्लोपनबाट मुक्त हुने राम्रो उपाय थियो, फेसबुक जस्ता सामाजिक सञ्जाल । अस्पतालको शैयामा उपचार पर्खिरहेका बिरामी, उसको कुरुवा, विमानस्थलमा पालो पर्खिरहेका यात्रुलाई पट्यारलाग्दो समय कटाउन फेसबुक जस्ता सामाजिक सञ्जालबाट उपयोगी हुन्थ्यो । आमाबुबाबाट टाढा रहेका छोराछोरी होस् वा कोठामा एक्लै बसिरहेकी गृहणी, सबैका लागि साथी जस्तै थियो फेसबुक जस्ता सामाजिक सञ्जाल । एक्लोपन वा मानसिक समस्याबाट छुटकारा दिलाउन यो राम्रो माध्याम थियो । फेसबुक जस्ता सामाजिक सञ्जाल बन्द हुँदा धेरैले एक किसिमको छटपटी महसुस गर्नेछन् ।
६. संस्कृतिक तथा रहनसहनको आदान-प्रदानमा कमी
मनोरञ्जन तथा सांस्कृतिक आदानप्रदानमा कमी हुनेछ । फेसबुक एक यस्तो माध्याम थियो, जसले दूरदराजको एकलासे गाउँमा बस्ने मान्छेलाई विश्वसँग एकाकार गराइरहेको हुन्थ्यो । कुन देश कस्तो छ, त्यहाँको रहनसहन कस्तो छ ? खानपान कस्तो छ ? इत्यादि कुराबारे मान्छेले यही माध्यामबाट बढी जानकारी हासिल गरिरहेका थिए । सामाजिक सञ्जाल बन्द भएपछि यसलाई पनि प्रभावित बनाउनेछ ।
प्रतिक्रिया 4