
२७ भदौ, काठमाडौं । संघीय संसद् सचिवालयका नासु रामप्रसाद सापकोटा मंगलबार दिउँसो घट्टेकुलोस्थित डेरामै बसेर बानेश्वरमा रहेको संसद् भवनमा आगो लागेको भिडियो हेरिरहेका थिए ।
दिउँसो ३ बजेतिर सिंहदरबारमा आगो लाग्नुअघि त्यहाँ भित्रका कार्यालयहरू सुनसान नै थिए ।
प्रदर्शनकारीहरूले सिंहदरबार पनि जलाउँछन् कि भन्ने सापकोटालाई लागेको थियो । उनी भन्छन्, ‘सिंहदरबार आए भने मैले काम गर्ने कार्यालय पनि जलाउँछन् भन्ने लाग्यो । कोठामा बस्नै सकिनँ र सके सम्झाउँछु भनेर साढे १ बजेतिर अफिस गएँ ।’
यस्तो भाव मनमा कसरी आयो त ?
सापकोटा प्रतिप्रश्न गर्छन्, ‘आफूले काम गर्ने अफिस जलेको कसरी हेरिरहनु त ? मन बेचैन भयो । अफिसमा अरू पनि होलान् भन्ने लाग्यो, अनि हिँडे ।’ अफिस पुगेपछि सापकोटाले संसद् सचिवालयकै सहसचिव इन्द्रविलास पौडेल र केही मर्यादापालक देखे ।
सापकोटा पछिल्लो समय राष्ट्रिय सभाको विधेयक शाखामा कार्यरत छन् । यसको कार्यालय संघीय संसद् सचिवालयको दुई नम्बर बिल्डिङमा छ । यो बिल्डिङमा विधेयक शाखाका साथै संसद् सचिवालयको पुस्तकालय छ । जहाँ संसद् सचिवालयकै काम-कारबाहीसँग सम्बन्धित र विधि निर्माणसँग सम्बन्धित महत्वपूर्ण पुस्तक र डकुमेन्टहरू छन् ।
संसदीय सुनुवाइ समितिको कार्यालय यही भवनमा छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय, जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालय, राष्ट्रिय सभा अध्यक्षको कार्यालय, संसद् सचिवालयका पत्रहरु यसमै रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतको चारवटै विषयगत समितिको सचिवालय पनि यसमै छ ।
यो भवन जोगाउन के गर्ने होला भनेर बेचैन हुँदै तल-माथि गर्दागर्दै प्रदर्शनकारीहरू सिंहदरबार छिरे । विभिन्न मन्त्रालय तोडफोड गर्दै अगाडि बढे । सिंहदरबार गेटबाट केही मिटर अगाडि रहेको संसद् सचिवालयको २ नम्बर बिल्डिङमा पनि पुगे ।
‘हेर्दाहेर्दै आई त हाले,’ सापकोटा सम्झन्छन्, ‘भवनको मूल गेट अगाडि बसेर हात जोडेर तोडफोड नगर्न भनिरहेँ । ‘ओलीको भरौटे’ के–के भनेर जवाफ फर्काए । तर शान्त भएर हात जोडिरहेँ । उनीहरूका हातमा रड थिए, लौरा थिए । तर हात जोडेको देखेर होला उग्र भएनन् ।’
‘तैपनि एउटालाई सम्झाएर नहुने, अर्को आउँछ, अर्को आउँछ,’ सापकोटा भन्छन्, ‘संसद् भवन गइसक्यो । यहाँ त्यस्तो नगरौं । जो आए पनि यो भवन चाहिन्छ भनिरहेँ ।’
उनका अनुसार ‘पहिलो हुल फर्किएपछि केही शान्त भयो । प्रदर्शनकारी मोडिए । तर अन्य मन्त्रालयमा दन्किएको आगो र ग्यास वा अन्य सामान पड्किएर आएको आवाजले सापकोटा कहाँ छु भन्ने नै भुल्ने अवस्था पुगिसकेका थिए ।
आगोको मुस्लोले तातिएको सिंहदरबार र धुवाँले बस्नै नसक्ने स्थिति बनिसकेको थियो । अब त आफ्नो कार्यालयतिर प्रदर्शनकारी आउँदैनन् होला सोचेर उनी साढे ४ बजेतिर निस्किए ।
डेरा पुगेपछि पनि उनी बेचैन भइरहे । उनी भन्छन्, ‘सोचेँ, यदि सिंहदरबारका कार्यालयहरूमा कर्मचारीहरू थिए भने क्षति कम हुने रहेछ ।’
सापकोटाको घर पर्वत हो । उनी संसद् सचिवालयमा विगत ६ वर्षदेखि नासु पदमा कार्यरत छन् ।
संसद्को डकुमेन्ट जोगाउने अर्का कर्मचारी हुन्– सहसचिव इन्द्रविलास पौडेल । उनी महिला तथा सामाजिक मामिला समितिमा सचिवको जिम्मेवारीमा छन् ।
उनी कार्यालय समयभित्रै अफिसको काम गर्ने भनेर गएका थिए । ‘रिपोर्टहरू बनाउनुपर्ने थियो । काम गर्दै थिएँ, संसद् भवन जल्यो भन्दै थिए,’ उनी भन्छन्, ‘म भने आन्दोलनकारी सिंहदरबार आउँदैनन् होला भन्नेमा थिएँ । केही गरी आए भने सके रोकौंला, नसके चौरमा बसौंला भनेर कार्यालयमै बसिरहेँ ।’
केही गरी आए भने आफैँमाथि पनि खतरा हुनसक्छ भन्ने लागेन ?
जवाफमा उनी भन्छन्, ‘मलाई ज्यान बचाउन भाग्नैपर्छ भन्ने लागेन । अफिसमा बस्न नसके चौर छँदैछ भन्ने थियो ।’
तर, सिंहदरबारमा प्रदर्शनकारी छिर्दैनन् वा छिर्न सक्दैनन् भन्ने सहसचिव इन्द्रविलासको बुझाइ गलत सावित भयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सिंहदरबार हेर्ने सुरक्षा निकाय सबैको घेरा तोडेर प्रदर्शनकारी छिरे ।
इन्द्रविलास सम्झिन्छन् ‘संसद्को २ नम्बर बिल्डिङ आउनु अगाडि शिक्षा मन्त्रालयमा तोडफोड गरे । म त्यहीँ पुगें, प्लिज सार्वजनिक क्षति नगरौं भनेर आग्रह गरेँ । मेरो अनुनयले काम गरेन । तोडफोड र आगजनी भयो, हामी हेरिरह्यौं ।’
शिक्षा मन्त्रालयपछि संसद्को भवनतिर प्रदर्शनकारी पुग्छन् भन्ने लागेपछि इन्द्रविलास त्यतैतिर हानिए । उनका अनुसार सुरुमा एक हुल तोडफोड गर्दै अगाडि बढ्दै थियो । पछिपछि अर्को हुल पेट्रोल खन्याएर आगो लगाउँदै थियो ।
उनी भन्छन्, ‘जहाँ तोडफोड भएको छ त्यहाँ आगो लगाउने नीति रहेछ क्यारे । छेउमा बसेर प्लिज भनिरहेँ । २ नम्बर बिल्डिङमा खासै तोडफोड भएन । आगो लगाउने हुल पनि आएन ।’
इन्द्रविलासका अनुसार उनी गृहमन्त्रालयसम्म पनि सम्झाउन सकिन्छ कि भनेर पुगेका थिए । उनी भन्छन्, ‘प्लिज साथी, म इन्द्रविलास पौडेल, गाउँमा बाख्रा चराएर हुर्केको मान्छे हो । म पनि तपाईंहरू जस्तै हो भनिरहेँ ।’
संघीय संसद् सचिवालयका अनुसार २ नम्बर बिल्डिङमा क्षति भएको छैन । बिल्डिङ अगाडि पार्किङमा रहेका २९ वटा चारप्राङ्ग्रे गाडी र १० वटा दुईप्राङ्ग्रे सवारी सग्लै छन् । केही सवारीमा तोडफोड भएको छ ।
ती सवारी साधनमा आगलागी भएको भए भवनमा आगो सल्किन सक्थ्यो । भुइँतलामै पुस्तकालय थियो । पुस्तकालयमा आगो लागेको भए सभामुख, उपसभामुखको कार्यकक्ष, राज्य व्यवस्था तथा सुशासन समितिलगायत रहेको काठघरसम्म पुग्न सक्थ्यो ।
सहसचिव रामविलास सिंहदरबारमा रहेको संसद्को डकुमेन्ट र संसद्का कार्यालयहरू क्षति हुनबाट जोगाउन सकिएको बताउँछन् । ‘हाम्रै कारणले जोगियो भनेर दाबी त गर्दैनौं । तर आफ्नो ठाउँबाट प्रयास गर्दा पनि केही त हुँदो रहेछ भन्ने पाठ आफैँले पनि सिकियो ।’
दशरथको एक्लो प्रयास
सिंहदरबार जलिरहँदा संसद्को १ नम्बर भवनमा थिए– कार्यालय सहयोगी (पाले) दशरथ भट्ट । संसद् सचिवालयमा दुईजना पाले छन् । अर्का त्यस दिन कार्यालयमा थिएनन् । दुवैजनाको जिम्मेवारी भट्ट एक्लैले सम्हालेका थिए ।
प्रदर्शनकारीहरू सिंहदरबार छिरेपछि भट्ट अन्डरग्राउन्डमा लुके । ‘म भिड्न सक्छु भन्नेमा थिइनँ । अन्डरग्राउन्डमा लुकेँ । सात बजेतिर प्रदर्शनकारी छैनन् भन्ने लाग्यो र निस्किएँ,’ उनी भन्छन्, ‘अहिले त्यो बेला कसरी निस्किन सकेँ जस्तो लाग्छ ।’
‘अन्डरग्राउन्डबाट निस्केर १ नम्बर बिल्डिङमै पुगेँ । एक छेउमा आगो लागिरहेको रहेछ । बिल्डिङ अगाडि राखिएका सवारीहरू तोडफोड भएका र आगो लागेको रहेछ,’ भट्टले सुनाए ।
भट्टले भवनको एक छेउमा आगो सल्किएको देखे । उनी भन्छन्, ‘भवनमा लागेको आगो निभाउन सक्छु भन्ने लाग्यो । ट्वाइलेटमा पानी आइरहेको थियो । बाल्टिनमा बोकेर खन्याएँ । आगो निभ्यो ।’
रातिको त्यो समय र त्यस्तो अवस्थामा कसरी पानी खन्याउने कुरा मनमा आयो ?
दशरथ जवाफ दिन्छन्, ‘त्यो मेरो जिम्मेवारीमा रहेको भवन हो नि त । जोगाउन सक्छु भन्ने पनि लाग्यो, ठूलो मुस्लो निस्किसकेको थिएन । केही ढिलो भएको भए नभ्याउने रहेछु, सानो भएकाले निभाएँ ।’
त्यसपछि भट्टले आफ्नो जिम्मेवारीमा रहेको कांग्रेस र एमालेको दलको कार्यालय नियाले । त्यो जोगाउन सक्ने अवस्था थिएन ।
भट्टका अनुसार १ नम्बर बिल्डिङमा आगो लाग्नबाट रोक्न सक्दा उक्त भवनमा रहेका दस्तावेजहरू त जोगिएका छन् नै त्यहाँबाट आगो फैलिएर काठघरसम्म पुग्न सक्ने खतरा पनि टर्यो ।
संसद् भवनको १ नम्बर बिल्डिङसँग महिला तथा सामाजिक मामिला समितिको कार्यालय र सभाकक्ष जोडिएको छ । समितिको कार्यकक्ष रहेको काठघरसँगै जोडिएर संसद् सचिवालयका महासचिव, संसद् सचिवालयका सचिवहरू, प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति लगायतको कार्यालय छ । दशरथको रातिको त्यो एक्लो प्रयासले सबै संरचना यथा अवस्थामा रहन सक्यो ।
भट्टका अनुसार भवनको आगो निभेपछि उनी फेरि अन्डरग्राउन्डमै गएर बसे । बुधबार पनि खासै बाहिर निस्किएनन् । बिहीबार त उनी बिरामी नै परे । ‘धुवाँको मुस्लो र लामो समय अन्डरग्राउन्डमा बसेकाले होला निमोनिया नै होला जस्तो भयो । बिहान मेडिकल गएँ र औषधि लिएँ ।’
पालेका लागि सिंहदरबारभित्रै बस्ने व्यवस्था छ । अहिले उनी त्यहीँ छन् । डडेलधुराका भट्ट करारका कर्मचारी हुन् । उनले संसद सचिवालयमा पालेको जागिर खान थालेको ८ वर्ष भयो ।
संसद सचिवालयको सवारी शाखाका प्रमुख प्रदीप नेपाल रामप्रसाद र दशरथको प्रयासले धेरै ठूलो क्षति हुनबाट रोकिएको बताउँछन् । उनका अनुसार एक नम्बर बिल्डिङ अगाडि रहेका १७ वटा गाडीमा क्षति भएको विवरण छ ।
दशरथसँगै रामप्रसाद र इन्द्रविलासले पनि प्रशंसा पाइरहेका छन् । संसद् सचिवालयका कर्मचारीहरूको ह्वाट्सएप ग्रुप छ । त्यहाँ सभामुखको कार्यालयमा कार्यरत एक कर्मचारीले लेखेका छन्, ‘सचिवालयलाई बढी क्षति हुनबाट जोगाउन भूमिका खेल्नुहुने सबै साथीहरूलाई धेरैधेरै धन्यवाद ।’
संसद् सचिवालयका अर्का कर्मचारीले लेखेका छन्, ‘उनीहरूले लाखौंको सम्पत्ति आगलागी हुनबाट बचाए । सचिवालय सञ्चालनपछि उनीहरूलाई उचित पुरस्कार दिन सचिवालय प्रशासनलाई अनुरोध गर्छु ।’
प्रतिक्रिया 4