+
+
Shares
सिंहदरबारमा कर्मचारीहरुको प्रश्न :

‘कुलिङ पिरियडका बेला दौडधुप गर्ने मुख्यसचिव र सचिवहरू सरकारी संरचना जल्दा कता हराए ?’

‘मुख्यसचिव लगायत सबै सचिवहरुले व्यक्तिगत प्रयास गरेको भए केही न केही जोगिन्थ्यो, तर उनीहरु भागेर हिडे’ ती उपसचिवले भने, ‘अहिले तीन दिनसम्म केही नगर्ने मुख्यसचिवले नयाँ सरकारलाई सघाउन तयार छु भनेर चाकडीको विज्ञप्ति निकालेका छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरवारका केही निजामती कर्मचारीहरुले प्रशासनिक नेतृत्वले जनधनको ठूलो क्षति हुँदा जिम्मेवारीबोध नगरेको भन्दै मुख्यसचिव लगायत सचिवहरुलाई बहिस्कार गर्ने अभियान थाल्ने योजना बनाएका छन्।
  • कर्मचारीहरुले मुख्यसचिव एकनारायण अर्याल र गृहसचिव गोकर्णमणि दुवाडीलाई बहिस्कार गर्दै हस्ताक्षर संकलन गरेर नयाँ सरकारलाई बुझाउने तयारी गरिरहेका छन्।
  • सिंहदरवारमा आगलागी हुँदा प्रशासनिक नेतृत्वले रोकथाममा कुनै पहल नगरेको र उनीहरुको राजिनामा वा बर्खास्तीको मागसहित हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ।

२७ भदौ, काठमाडौं । सिंहदरबारका केही निजामती कर्मचारीहरुले मुलुकको जनधनको ठूलो क्षति हुँदा समेत प्रशासनिक नेतृत्वले कुनै जिम्मेवारीबोध नगरेको भन्दै मुख्यसचिव लगायत केही महत्वपूर्ण मन्त्रालयका सचिवहरुलाई बहिस्कार गर्ने अभियान थाल्ने योजना बनाएका छन् ।

सिंहदरबारको प्रशासनिक नेतृत्व लिएर पनि राष्ट्रिय सम्पत्ति सुरक्षाका लागि कुनै पहल नगरेको, ठूलो जनधनको क्षति हुँदा समेत मुकदर्शक बनेको भन्दै उनीहरुले मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडी लगायतलाई बहिस्कार गर्ने अभियान सुरु गरेका हुन् ।

‘आज बिहानैदेखि हामीले सांकेतिक रुपमा विरोध गरिसकेका छौं’, मुख्यसचिवलाई भेट्ने सहसचिव र तल्ला तहका कर्मचारीहरुले सामान्य शिष्टाचार (नमस्कार) समेत गरेनौं’ एक उपसचिवले भने, ‘हामीले तत्काल हस्ताक्षर संकलन गरेर नयाँ गठन हुने सरकारलाई बुझाउने तयारी छ ।’

मुख्यसचिव एकनारायण अर्याल, संघीय संसदका महासचिव पदमराज पाण्डेय, कानून सचिव उदयराज सापकोटा लगायत अरु सचिवहरु निजामती विधेयकमा राखिएको कुलिङ पिरियडको विरोधको आफ्नो नियमित काम छाडेर संघीय संसदमा लबिइङ गर्न पुगेका थिए ।

तर सिंहदरवार जल्दा त्यसको रोकथामका लागि उनीहरु कसैले पनि प्रयास नगरेको भन्दै कर्मचारीहरुले नेतृत्वको आलोचना गरेका छन् । संघीय संसद सचिवालयको नासु रामप्रसाद सापकोटाले एक्लो प्रयासमा आन्दोलनकारीहरुलाई फर्काएर सिंहदरवारस्थित संसद सचिवालयका दुई दर्जनभन्दा बढी सवारीसाधन जोगाएका थिए ।

‘मुख्यसचिव लगायत सबै सचिवहरुले व्यक्तिगत प्रयास गरेको भए केही न केही जोगिन्थ्यो, तर उनीहरु भागेर हिँडे’ ती उपसचिवले भने, ‘अहिले तीन दिनसम्म केही नगर्ने मुख्यसचिवले नयाँ सरकारलाई सघाउन तयार छु भनेर चाकडीको विज्ञप्ति निकालेका छन् ।’

आगलागीको भोलिपल्ट सिंहदरबारमा आगोको मुस्लो थियो । दमकल झिकाउने, आगो निभाएर बचेका कागजात जोगाउने लगायतका काम हुन सकेनन् । सर्वोच्च अदालतमा मुख्यरजिष्ट्रार आफैं फिल्डमा खटेर खरानी उठाउँदा मुख्यसचिव भने गुपचुप बसिरहेको आरोप छ ।

‘हामी आफूले प्रयास गरेर जलेका मन्त्रालयहरुको सरसफाइ थालेको हो, यति हुँदा पनि मुख्यसचिव र अरु मन्त्रालयका सचिवहरुले सामूहिक आह्वान गर्नेदेखि अरु सक्रियता देखाउनुभएको छैन’ सिंहदरबारमा रहेको एक मन्त्रालयका सहसचिवले भने, ‘नयाँ सरकार बन्ने भएपछि त्यसको तयारी र चाकडीका लागि फेरि दौडधुप सुरु भयो, कर्मचारीतन्त्रको नेतृत्वमा मानवीयता देखिएन ।’

कर्मचारीहरुले मुख्यसचिव र जिम्मेवार निकायका सचिवहरुले राजिनामा दिनुपर्ने नभए, उनीहरुलाई बर्खास्त गर्नुपर्ने मागसहित हस्ताक्षर संकलन अभियान थालेका छन् । भर्चुअल र सामूहिक भेटघाटबाट छलफल गरिरहेका उनीहरुले त्यसको मस्यौदा तयार गरी नयाँ बन्ने प्रधानमन्त्रीलाई बुझाउने भनेका छन् ।

सामान्य प्रशासन मन्त्रालयका एक उपसचिवले भने, ‘राजनीतिक नेतृत्वको गलत क्रियाकलाप आफ्नो ठाउँमा होला, तर कर्मचारीतन्त्रको नेतृत्वको पनि कम भूमिका छैन, उनीहरुलाई पनि जवाफदेही बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?