
News Summary
Generated by OK AI. Editorially reviewed.- २४ भदौमा महाराजगञ्ज प्रहरी वृत्तमा आगो लागेर ४०/५० जना प्रहरी भवनभित्र फसेका थिए र पाँच जना प्रहरी मारिएका थिए।
- जेनजी आन्दोलनमा प्रहरी कार्यालयहरूमा व्यापक तोडफोड र आगजनी भएका कारण ७७ वटै जिल्लामा प्रहरी कार्यालयहरू क्षतिग्रस्त भएका छन्।
- प्रहरीका लुटिएका हतियारमध्ये नेपाली सेनाले २६८ थान बरामद गरेको र काभ्रे प्रहरीले ७३० राउण्ड गोलीसहित आठ जनालाई पक्राउ गरेको छ।
२९ भदौ, काठमाडौं । ‘भिक्टर वान, सर्कल वान जिरो सर ।’
प्रहरी वृत्त महाराजगञ्जको कल साइन नम्बरबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख (एआईजी, कल साइन भिक्टर वान) दानबहादुर कार्कीलाई फोन जान्छ ।
‘सर्लक वान जिरो’ भन्नु त- भिक्टर वानले भन्छन् ।
रोजर सर, म सर्कल वान जिरो महाराजगञ्जको तर्फबाट असई हिमबहादुर विक हो, सर– ‘४०/५० जना प्रहरी माथि छतमा फसेका छन् । आगो लागेर सबै नष्ट भइसक्यो । चार/पाँच जना पुलिस मरिसके । बाहिर रोडमा पनि पुलिस मरेको छ । कसरी हुन्छ बचाउनु पर्यो श्रीमान् ।’
असई विक सेटमा चिच्याउँदै कहालीलाग्दो अवस्थाबारे जानकारी गराउँछन् । ‘रोजर, रोजर त्यहाँ ल्याण्ड रुटबाट आउने सम्भावना कति छ बाहिर मास कति छ ?’ भिक्टर वान कार्कीले सेटमा बोलेको सुनिन्छ ।
‘रोजर, सकिन्छ, सर सकिन्छ । ल्याण्ड रुटबाट आउन सकिन्छ । हात हतियार बन्दोबस्ती बोकेर आउनु पर्यो, बचाउन सकिन्छ सर । बचाऔं श्रीमान्, कसरी हुन्छ बचाऔं । गण, गुल्मको पुलिसको के काम नत्र यति बेला । कसरी हुन्छ, हामीलाई बचाऔं श्रीमान्,’ एकै स्वरमा आत्तिदैँ असई विक चिच्याउँछन् ।
‘एकडेमी, ओस्कार, विपद्को टोली महाराजगञ्ज केन्द्रित हुन्’ भिक्टर वान कार्कीले निर्देशन दिन्छन् ।
त्यसपछि असई विकले फेरि भन्छन्- ‘भिक्टर कन्ट्रोलले पनि सुन्नुस्, किलो वान (काठमाडौंका एसएसपी)ले पनि सुन्नुस् । किलो फोर सरले पनि सुन्नुस् । पिटर वान (आईजीपी) सरले पनि सुन्नुस् । पुलिसका हाकिम सबैले सुन्नुस् । हामी मर्ने अवस्थामा छौं । हाम्रो अन्तिम आवाज सुन्नुस् । हामी ४०/५० जना छौं । तपाईंहरू आफूमात्रै सुरक्षित हुनुस्, हामी चाहिँ मर्ने अवस्थामा छौं । पाँच मिनेट भित्रै मर्ने अवस्थामा छौं । हाम्रो अन्तिम स्वर सुनाइदिनुस् । ए साथी हो भनौं सबैले हामी मर्ने हो ?’
त्यसपछि प्रहरीको सेटमै रुवाबासी सुनिन्छ– हामीलाई बचाउनुस्, बचाउनुस् ।
असई विकले भनेजस्तै साँच्चै सोच्न पनि नसकिने कहालीलाग्दो अवस्थामा थियो २४ भदौमा महाराजगञ्ज प्रहरी वृत्त ।
अवस्था यस्तो थियो, जहाँ सडकमा लडाएर कुटीकुटी प्रहरी जवानलाई मारियो । असई मारिए । सँगैका सहकर्मी मारिएका थिए । वृत्तमा दनदनी आगो लागेकाले भवनमा प्रहरी ठूलो संख्यामा फसेका थिए ।
बेलैमा सेटमा चिच्याउँदै असई विकले सञ्चार फ्लो नगरेको भए सायद अरु थुप्रै हताहती हुनसक्थ्यो ।
२४ भदौमा भएको जेनजीको प्रदर्शनमा वृत्त महाराजगञ्जका असई मिलन राय, जवान उत्तम थापा र प्रभाग कोटेश्वरका जवान अमृत गुरुङ मारिए ।
प्रहरी मारिएका यी दुवै ठाउँका निरीक्षण शनिबार मात्रै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले गरिन् ।
नागरिकको सुरक्षाका लागि खटिएका प्रहरी नै मारिएको ठाउँमा पुगेकी कार्कीले त्यहाँका प्रहरीलाई के ढाडस दिइन् वा उनीहरूको मनोबल उकास्न प्रहरीलाई के हौसला दिइन् भन्ने विषय भावी दिनहरूबाट खुल्दै जाला ।
तर सर्वश्व गुमाएको प्रहरीले कुन आशाले काम गर्ला ? यो प्रश्न अहिलेको मुख्य विषय हो ।
०००
माथिको करिब तीन मिनेटको वाकिटाकी संवाद जति दर्दनाक छ, सार्वजनिक भिडिओ र तस्बिरहरू नियाल्ने हो भने प्रहरीको अवस्था त्यो भन्दा कहालीलाग्दो छ ।
कतिपय प्रहरीहरूले तालिमदेखि अवकाश हुनेबेलासम्मका बर्दी र फुलीलाई फ्रेममै सजाएर राख्छन् । तर जेनजी आन्दोलनमा प्रहरीले पूजा गर्ने बर्दी र फुलीको असह्यै अपमान भएको छ । तिनै तस्बिर हेर्दै मन विचलित बनाउन बाहेक अहिले केही गर्न सक्ने अवस्थामा प्रहरी छैन ।
एउटा एसपीको बर्दी १५/१६ वर्षको किशोरले लगाउँदै सिट्टी फुकेका छन् । लुटेका बर्दी लगाएर कोही ट्राफिकको नाटक गरेका छन् । कोही त प्रहरीको कार्यकक्षमा बस्दै खुट्टा टेबलमा राखेर प्रहरी संस्थाकै अपमान गरेको भिडिओ, तस्बिर पनि देखिन्छ ।
यस्ता भिडिओ, तस्बिर सार्वजनिक भएपछि मन कस्तो हुँदो हो ? नेपाल प्रहरीका एक डीआईजी भन्छन्,‘हिजो म प्रहरी हुँ, एउटा जवान हुँ भन्दा जुन गर्व लाग्थ्यो । अहिले यस्ता तस्बिर देख्दा मन पोल्छ, पीडा हुन्छ, बर्दीको अपमान सहन साँच्चै गाह्रो हुने रैछ ।’
यति मात्रै होइन बर्दी फुकाल्न लगाएर प्रहरीलाई आत्मसर्मपण गर्न लगाएका दृश्यहरू पनि सार्वजनिक भएका छन् । बर्दी फुकालेर कुट्टु र गन्जी हात उठाउँदै लाइन लगाएर प्रहरीलाई आन्दोलनकारीहरूले हिँडाएको भिडिओ नै सार्वजनिक भएका छन् । खोलै खोला लखेट्दै अमानवीय व्यवहार गरेको पनि देखिन्छ ।
०००
जेनजी आन्दोलनमा प्रहरीले यति क्षति व्यहोर्यो कि त्यसको हिसाब अहिलेसम्म प्रहरी प्रधान कार्यालयले गर्न सकेको छैन । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरे भन्छन्, ‘भौतिक क्षति कल्पना गरेभन्दा बढी भएको छ । क्षति संकलनका लागि डेस्क स्थापना गरेर काम सुरु गरेका छौं ।’
तोडफोड र आगजनी भएको ५ दिन बित्दासम्म प्रहरीले क्षति संकलन गर्न सकेको छैन । काठमाडौंकै हकमा पनि उपत्यकाका तीन जिल्लामा रहेका डीएसपीले कमाण्ड गर्ने १८ वटा वृत्त मध्ये एउटा मालीगाउँ वृत्त मात्रै सग्लो छ । बाँकी १७ वटा वृत्तहरू ध्वस्त बनाइएका छन् ।
आन्दोलन दमन र गोली चलाउने काममा कुनै संलग्न नै भएका काठमाडौं उपयत्का ट्राफिक प्रहरी कार्यालय, उपत्यका अपराध अनुसन्धान कार्यालयसम्ममा आगजनी र तोडफोड भएको छ । एआईजी बस्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी पनि खरानी बनेको छ ।
यो त उपत्यकाको मात्रै भयो ७७ वटै जिल्लाहरूमा प्रहरीका कुनै न कुनै कार्यालयहरूमा तोडफोड र आगनी भएको प्रवक्ता घिमिरे बताउँछन् । यही क्षतिको विवरण संकलन गर्ने काम अहिले भइरहेको छ ।
योसँगै प्रहरीका हतियार र गोली गट्ठा पनि त्यति नै मात्रामा लुटिएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरीका कुनै पनि हातहतियार लुटिएका छैनन् । सेनाको पनि हातहतियार लुटिएको छैन । जसकारण प्रदर्शनकाहरूले लुटेका जति सबै हाहतियार प्रहरीका हुन् । कति हातहतियार लुटपाट भयो यसको यकिन प्रहरीले अहिलेसम्म गर्न सकेको छैन ।
प्रहरीका लुटिएका हतियार मध्ये शनिबारसम्म नेपाली सेनाले मात्रै २६८ थान बरामद गरेको थियो । आइतबार मात्रै काभ्रे प्रहरीले ७३० राउण्ड गोलीसहित ८ जनालाई पक्राउ गरेको छ । भौतिकका साथै हातहतियारको क्षति पनि ठूलो क्षति प्रहरीले ब्यहोरेको छ ।
०००
आजबाट सडकमा ड्युटी खटिएका केही ट्राफिकको पोशाक छैनन् । कसैको ट्राफिक क्याप छैन । कसैको फुक्ने सिट्टी छैन । गन्तव्यमा पुग्ने साधन त त्यसबेलै खरानी भए ।
प्रहरी बर्दी नै लुटपाट र जलेर नष्ट भएपछि एक जना पूर्वडीएसपीले ने आफूहरूले जुगाड गरेको बर्दी संकलन गरेर दिने अभियान नै सुरु गरे ।
पूर्वडीएसपी दीपेन्द्र शाहले फेसबुकमा आफ्नो बर्दी राख्दै लेख्दै भने, ‘प्रहरी अधिकृत आधारभूत तालिम ८८ औं टोलीका हामी पूर्वप्रहरी अधिकृतहरूले नेपाल प्रहरीलाई वितरण गर्न युनिफर्म लगायतका सामान संकलन गर्दैछौं । हजुरले नि ?’
लत्ताकपडा नै लुटेर र जलेर नष्ट भएपछि अहिले हेडक्वाटरबाट कपडा ल्याउँदै धमाधम सिलाउन सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारी बताउँछन् ।
अहिले ट्राफिकले टेन्टबाटै काम सुरु गरेको छ । रामशाहपथस्थित ट्राफिकको कार्यालय मात्रै जलेन त्यहाँ रहेका सम्पूर्ण सवारी सधान जलेर खरानी भए ।
०००
कार्यालयमा खरानी मात्रै छ । आफूले लगाउने पोसाक छैन, सुरक्षाका निम्ती हतियार छैन । कठबाँसका लट्ठी छैनन् । वाकीटकी छैन । मुद्दाका मिसिलहरू छैनन् । कतै दौडिहाल्नु पर्यो भने दुई खुट्टा बाहेक केही छैन, अर्थात सवारी साधन छैन । ‘म प्रहरी हुँ’ भनिहाल्न सक्ने अवस्था समेत छैन ।
यी सबै चिज गुमाएको प्रहरीसँग छ चाहिँ के ? अब प्रहरीसँगै एउटै चिज छ–फेरि उठ्नुको विकल्प छैन । प्रहरीसँग आशा छ, विश्वास छ–खरानी टकटकाएर फेरि उठ्नुको विकल्प छैन ।
यसका लागि प्रहरीको मनाबोल समुदायस्तबारै उकास्न जरुरी छ । त्यसका प्रहरी केही समुदायहरूबाट काम पनि सुरु भएका छन् । ललितपुरका स्थानीयहरूले ठाउँ ठाउँका प्रहरी कार्यालयहरूमा फूलमालासहित प्रहरीलाई स्वागत गरेका छन् । पोखरालगायत केही ठाउँहरूमा स्थानीय तथा व्यवसायीहरूको सक्रियतामा प्रहरी भवन निर्माणको काम पनि सुरु भएको छ ।
योसँगै सँगै प्रहरीको पोशाक तथा बर्दीको अपमान, दुरुपयोग गर्ने, हतियार लुट्नेदेखि कार्यालय र सवारी जलाउनेसम्मलाई कारबाहीको दायरामा नल्याएपछि प्रहरीले उच्च मनोबल भएर काम गर्न नसक्ने सुरक्षाका जानकारहरूको बुझाइ छ ।
०००
डढेको ‘मसानघाट’मा बसेर प्रहरीले उच्च मनोबलका साथ काम गर्न नसक्ने नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल बताउँछन् ।
‘डढेको भवन टुलटुल हेर्दै प्रहरीको मनोबल बढ्दैन । तत्काल भौतिक संचनाको पुनर्निर्माणदेखि बन्दोबस्तीका सामानहरू, लत्ताकपडा सबैले सम्पन्न पार्नुपर्छ’ पोखरेल भन्छन् ।
देशको अवस्था हेर्दा हिजोको दिनमा भन्दा भोलिका दिनमा प्रहरीको भूमिका झन् बढ्ने देखिएकोले जतिसक्दो चाँडो प्रहरीको मनोबल उकास्न राज्देखि समुदायसम्म लाग्नुपर्ने उनी बताउँछन् ।
आइतबार मात्रै प्रहरी प्रमुख तथा आईजीपी चन्द्रकुवेर खापुङले एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘प्रहरी कार्यालयहरू जलेर ध्वस्त भएका छन् । सवारी साधन, पोशाक जलेका छन् । हराएका छन् । नियमित काममा फर्कन कठिनाई भइरहेको छ । यो विषम घडीमा प्रहरीलाई कार्यालय फर्काउने अभियान ज्यादै नै प्रशंसनीय छ ।’
प्रहरीलाई विस्थापित गराउन खोज्नेहरू अपराधी मात्रै हुन् भन्ने कुरा समुदायको यी कामहरूले पुष्टि गरेको संगठनको बुझाइ छ ।
‘फुटेका सिसा, जलेका सामाग्री र चर्किएका हटाउन गाह्रो नमानी स्वफूर्त रुपमा योगदान सुरु भएको छ । प्रहरी हाम्रा लागि हो भन्ने भावना जागृत गराउने जसरी काम सुरु भएको,त्यसलाई नमन छ’ आईजीपी खापुङले भने ।
प्रतिक्रिया 4