+
+
Shares

सरकारी सम्पत्तिको बीमा नहुँदा कम्पनीलाई राहत, क्षतिजस्तो ठूलो छैन दायित्व

सरकारी सम्पत्तिको बीमा गर्ने प्रचलन नेपालको सन्दर्भमा अभ्यासमा छँदै छैन भन्दा फरक पर्दैन । जेनजी आन्दोलमा जलेका सरकारी सम्पत्तिको बीमा नभएकाले देखिए जस्तो डरलाग्दो दायित्व बीमा कम्पनीलाई पर्ने देखिँदैन ।

भुवन पौडेल भुवन पौडेल
२०८२ भदौ ३१ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनमा भएको सरकारी सम्पत्तिको क्षति ठूलो भए पनि बीमा नहुँदा बीमा कम्पनीले तिर्नुपर्ने दायित्व तुलनात्मक रूपमा कम हुने देखिएको छ।
  • बीमा कम्पनीहरूले बीमा गरिएका सम्पत्तिको मात्र दायित्व भुक्तानी गर्छन् र पुनर्बीमा कम्पनीमार्फत जोखिम हस्तान्तरण गर्ने प्रचलन छ।
  • निर्जीवन बीमक संघका अध्यक्ष विरेन्द्रबहादुर बैदवार क्षेत्रीले बीमा कम्पनीहरूलाई कुल नोक्सानीको १५ देखि २० प्रतिशत दायित्व व्यहोर्न पर्ने अनुमान व्यक्त गर्नुभयो।

३१ भदौ, काठमाडौं । सरकारी सम्पत्तिको बीमा नहुँदा जेनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिबापत बीमा कम्पनीले तिर्नुपर्ने दायित्व तुलनात्मक रूपमा कम नै हुने भएको छ ।

जेनजी युवाहरूले २३ र २४ भदौमा गरेको आन्दोलनका क्रममा भएको क्षति २०७२ सालको वैशाखको भूकम्पको भन्दा धेरै रहेको अनुमान गरिएको छ । तर, बीमा कम्पनीहरूमा पर्ने सम्भावना रहेको दाबी र बीमा गरेको सम्पत्तिलाई हेर्दा जति ठूलो क्षति भएको हो, त्यति ठूलो दायित्व सृजना नहुने देखिएको कम्पनीहरूले बताएका छन् ।

जेनजी आन्दोलनमा सबैभन्दा धेरै क्षति सरकारी सम्पत्तिको भएको छ । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित देशका धेरै सरकारी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको छ ।

साथै, धेरै सरकारी गाडीहरू पनि जलाएर खरानी बनाइएको छ । तर, बीमा कम्पनीहरूले पनि बीमा गरिएका सम्पत्तिको मात्र दायित्व भुक्तानी गर्छन् ।

सरकारी सम्पत्तिको बीमा गर्ने प्रचलन नेपालको सन्दर्भमा अभ्यासमा छँदै छैन भन्दा फरक पर्दैन । जेनजी आन्दोलमा जलेका सरकारी सम्पत्तिको बीमा नभएकाले देखिए जस्तो डरलाग्दो दायित्व बीमा कम्पनीलाई पर्ने देखिँदैन ।

सिंहदरबारसहितका सार्वजनिक र अन्य सम्पत्तिको पुनर्निर्माणमा लाग्नु पर्ने नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहणका क्रममा बताएका छन् । ‘सार्वजनिक सम्पत्तिको बीमा हुँदैन, त्यसो हुँदा धेरै खर्च सरकारले व्यहोर्नु पर्छ,’ उनले भने ।

जलिरहेको सिंहदरबार / फाइल तस्वीर

सरकारी ढुकुटी तथा राष्ट्र बैंकसँग जोडिएका, विद्युत् प्राधिकरण लगायत संवेदनशील क्षेत्र बाहेक सरकारी सम्पत्तिको बीमा नभएको निर्जीवन बीमक संघका अध्यक्ष विरेन्द्रबहादुर बैदवार क्षेत्रीले बताए ।

पुनर्बीमालाई दायित्व सारेका हुन्छन् बीमा कम्पनी

सरकारी सम्पत्तिको बीमा नभएकाले मात्रै नेपाली बीमा कम्पनीहरूलाई पर्ने दायित्व कम पर्ने होइन । बीमा व्यवसाय भनेको जोखिम हस्तान्तरण गर्दै जाने खालको व्यवसाय हो । नेपाली बीमा कम्पनीले कुनै पनि बीमा पोलिसी मार्फत इन्स्योर्ड गरेको सम्पत्ति क्षति भएको खण्डमा भुक्तानी हुने सम्पूर्ण दाबी नेपाली कम्पनीले गर्नुपर्ने होइन । उनीहरूले विभिन्न तहमा पुनर्बीमा कम्पनीहरूमा त्यस्तो जोखिम बाँडेर लिएका हुन्छन् । त्यसो हुँदा नेपालमा क्षति भएको सम्पत्तिको दाबी भुक्तानी विश्व बीमा बजारदेखि नै आउँछ ।

पोलिसी बिक्री गर्ने बीमा कम्पनीले कुनै पनि सम्पत्ति इन्स्योर्ड गर्दा पूरै जोखिम आफूसँग नराखी रिइन्स्योरेन्स कम्पनीहरूमा बिक्री गर्छ । त्यसैगरी पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय रिइन्स्योरेन्स कम्पनीहरूमा हस्तान्तरण गरेको हुन्छ । त्यसलाई पनि रेट्रोसेसन पनि भनिन्छ ।

निर्जीवन बीमक संघका अध्यक्ष क्षेत्रीका अनुसार जेनजी आन्दोलनका कारण ५० अर्बको क्षति भएको र त्यसको दायित्व बीमा कम्पनीमा आउने भन्ने कुरा केवल हाल्ला मात्रै हो ।

‘बीमा गरेको सम्पूर्ण रकम नेपाली बीमा कम्पनी आफैंले तिर्नु पर्ने हुदैन । पहिलो कुरा ५० अर्बको माग दाबी आउने सम्भावना नै छैन, आएको खण्डमा पनि पूरै रकम नेपाली बीमा कम्पनीले भुक्तानी दिनु पर्ने होइन,’ उनले भने ।

जेनजी आन्दोलनको क्षतिको सन्दर्भमा निर्जीवन बीमक संघ छलफल गरिरहेको क्षेत्रले बताए । साथै उनले बीमा प्राधिकरणसँग पनि निरन्तर छलफलमा रहेको जानकारी उनले दिए ।

उनका अनुसार आन्दोलका कारण बीमा कम्पनीहरूमा आउने दाबी कति होला भनेर अहिले नै आकलन सक्ने स्थिति छैन । केही माग दाबी आउन थालेको भए पनि त्यसको तथ्यांक एकीकृत नभइसकेको उनी बताउँछन । बीमा कम्पनीका कार्यालय खुलेको नै धेरै दिन नभएकाले अहिले केही ठूला दाबीहरू मात्रै आएको उनले बताए । आन्दोलनका कारण भएको क्षतिको दाबी भुक्तानी दिन आफूहरू सक्षम रहेको उनको दाबी छ ।

जोखिम हस्तान्तरण विषय प्राविधिक भएको बताउँदै क्षेत्रीले १० करोडसम्मको बीमामा औसत ३५ प्रतिशतको हाराहारीमा बीमा कम्पनी आफैंले जोखिम लिने गरेको जानकारी दिए । यो भन्दैमा अहिले स्वेदेशी बीमा कम्पनीले कुल नोक्सानीको ३५ प्रतिशत दायित्व व्यहोर्न पर्ने भन्ने नभएको उनी बताउँछन । साथै उनका अनुसार बाँकी ६५ प्रतिशत रिइन्स्योरेन्सहरूमा ट्रान्सफर गर्ने हो । अब ५० करोड भयो भने फेरी जोखिम आफैंमा राख्ने र हस्तान्तरण गर्ने गणना विधि फरक भएको उनको भनाइ छ ।

अहिलेको अवस्था हेर्दा कुल नोक्सानीमा १५ देखि २० प्रतिशतसम्ममा स्वदेशी बीमा कम्पनीहरूले व्यहोर्न पर्न सक्ने उनको विश्लेषण छ ।

‘जेनजी आन्दोलनको २० अर्ब रुपैयाँ आको रहेछ भने १५ प्रतिशतले पनि ३ अर्ब हुन आउँछ । ३ अर्ब भनेको १५ वटा कम्पनीमा औसत बाँड्दा २० करोड रुपैयाँको दायित्व पर्न आउछ । त्यो २० करोड रुपैयाँ अहिले ७०–८० करोड कमाएका कम्पनीका धेरै ठूलो होइन,’ उनले भने ।

त्यसले गर्दा पनि स्वदेशी बीमा कम्पनीहरूलाई अत्यधिक दायित्व पर्ने आकालन गरेर सशंकित हुनुपर्ने अवस्था नभएको उनको भनाइ छ । ‘पुनर्बीमाले पनि १०–१५ अर्ब रुपैयाँको जोखिम आफैँमा राखेको अवस्थामा ३–४ अर्ब रुपैयाँ बीमा कम्पनीले व्यहोर्दा २० अर्बसम्मका दाबी भुक्तानी चुनौतीपूर्ण छैन,’ उनले भने ।

सबै बीमा पोलिसीहरूमा कम्पनीहरूले राख्ने जोखिमको दर एउटै अनुपातमा हुन्छ ।  अर्बको क्षति भयो भने जम्मा साढे ३ करोड बीमा कम्पनीले बेहोर्छ, बाँकी सबै पुनर्बीमामा जान्छ । आन्दोलकारीले आगजनी गरेर नस्ट गरेको हिल्टनकै कुरा गर्दा पनि त्यसको बीमांक रकम कति छ, बीमा गरेकोमा १ करोड, ५ करोड, २० करोड, एक अर्ब छ वा ५ अर्ब त्यस विषयमा दाबी आएपछि बल्ल स्थानीय बीमा कम्पनीले कति र पुनर्बिमा कम्पनीले कति भाग पर्छ भनेर यकिन गर्न सकिन्छ ।

आगजनीबाट क्षतिग्रस्त हिल्टन होटल ।

‘अहिले अनुमानका आधारमा कसैले कुल २० अर्ब दाबी आउने भनेका छन् भने कसैले २५ भनेका छन् । भाटभटेनी, हिल्टन, एनसेल, चन्द्रागिरि केबुलकार, सीजी पार्क, थापथालीका गाडीका स्वरुम लगायत निजी क्षेत्रका ठूला नोक्सानी जसको बीमा भएको थियो, त्यसको दाबीबारे जानकारी आफूले पाएको उनले बताए ।

अझै पनि गाडीहरू, घरहरू, पसलहरू, सामान्य तोडफोड भएको, लुटपाट क्षतिको दावी आउन बाँकी रहेको क्षेत्रीको भनाइ छ । आगामी बिहीबार सम्म क्षतिको करिब ७५–८० प्रतिशतको हाराहारीमा दाबी आउने उनको अनुमान छ ।

‘२०७२ सालको वैशाखको भूकम्पमा पनि ध्वस्त हुने भयो, बीमा कम्पनी भाग्ने भयो भन्थे, कोभिडमा पनि त्यस्तै बुझाइ थियो, गत असोजको बाढीमा त्यस्तै हल्ला फैलाइएको थियो । तर, बीमा कम्पनी कोही भाग्या छ त ? कोही टाट पल्ट्या छ ? छैन नि,’ उनले भने ।

अहिले नेपालमा नेपाल रि र हिमालयन रि दुई वटा पुनर्बीमा कम्पनी छन् । स्थानीय बीमा कम्पनीले ती दुवै कम्पनीमा चार–चार प्रतिशत अनिवार्य रि इन्स्योरेन्स गर्नुपर्ने बीमा प्राधिकरणको व्यवस्था छ । त्यसपछि बाँकी रहेको बीमांकीय रकम बराबरका जोखिम अन्तर्राष्ट्रिय रिइन्स्योरेन्स कम्पनीहरूमा हस्तान्तर हुन्छ । एक अर्बको बिजनेस छ भनेदेखि त्यसको ४–४ प्रतिशत दुइटा कम्पनीलाई दिइसकेपछि ८ प्रतिशत गयो । त्यसपछि पुनर्बीमा कम्पनीले फुले लिने जोखिम तोकेपछि उनीहरुले अन्य रियन्स्योरेन्सको माध्यमबाट जोखिमलाई विश्व समुदायमा फिजाउँछन् ।

रिइन्स्योरेन्स कम्पनीले साढे तीनदेखि पाँच प्रतिशतसम्मको जोखिम आफैंले लिन सक्ने नेपाल रियन्स्योरेन्सको पूर्वप्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । ट्रिटीको लिमिटअनुसार कम्पनीले आफैंले राखेको र अनिवार्य गरिएको बाहेकको बीमांकीय रकमलाई १०० प्रतिशत मानेर रिइन्स्योरेन्स कम्पनीले पनि १५ एक कम्पनीलाई दिनुपर्ने हुन्छ । कुनै एक रिइन्स्योरेन्स कम्पनीले ८५ प्रतिशत जोखिम खरिद गरेको खण्डमा बाँकी १५ प्रतिशत अर्को कम्पनीलाई दिनुपर्ने बताउँदै भण्डारीले भने, ‘अब त्यो ८५ प्रतिशत लिनलाई पनि त्यो रिइन्स्योरेन्सको क्षमता छ कि छैन ? त्यसले पनि फेरि अर्को रिइन्स्योरेन्स कम्पनीलाई रेट्रोसेसन गर्छ । यसरी जोखिम हास्तान्तरण हुन्छ ।’

त्यसैले बीमा गरीएका सम्पत्तिको भएको क्षतिको असर कुनै एक देशका बीमा कम्पनीहरूलाई मात्रै नपर्ने भण्डारी बताउँछन । ‘जेनजी आन्दोलनको क्षति पनि नेपाली बीमा कम्पनीहरूलाई मात्र पर्दैन,’ भण्डारीले भने, ‘नेपालमा भएको रिइन्स्योरेन्स कम्पनी डुब्नुभन्दा अगाडि अन्तर्राष्ट्रिय बीमा बजारका कुन-कुन कम्पनीसँग रेट्रोसेसन गरेको छ, ती कम्पनीहरूको अवस्थामा भर पर्ने हुन्छ । त्यसैले सबै डुब्ने सम्भावना निकै न्यून हुन्छ । त्यसले गर्दा बीमितको सम्पत्तिको रक्षावरण बीमा कम्पनीहरूले तहगत रूपमा विश्व समुदायसम्म नै गर्ने भएकाले स्थानीय कम्पनीको क्षति सोचेजस्तो समान्य व्यक्तिले सोचेजस्तो हुँदैन ।’

चाबहिल चुच्चेपाटीमा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी ।

नेपालका बीमा कम्पनीले बहन गर्ने जोखिम भनेको तुलनात्मक रूपमा न्यून हुने भएकाले पनि दाबी भुक्तानीका लागि समस्या नहुने उनको बुझाइ छ । साथै नेपालमा सरकारी सम्पत्तिको बीमा गर्ने प्रचलन नभएकाले जेनजी आन्दोलनमा भएको सबै क्षतिमध्ये बीमा क्षेत्रले कभर गर्नु पर्ने निकै कम हुने उनको भनाइ छ ।

उदाहरणका लागि कुनै कम्पनीले एक अर्बको इन्स्योरेन्स गरेको थियो । त्यसमा स्थानीय  इन्स्योरेन्सलाई चार–चार प्रतिशत दिनु पर्‍यो । त्यसपछि कम्पनीले आफैंले राख्न सक्ने जोखिम चुक्ता पूँजीका आधारमा तोक्छ । त्यो राखिसकेपछि बाँकी रहेको बीमांकीय रकम इन्टरनेसनल मार्केटमा अथवा नेपालमै ट्रिटीमा पठाउनुपर्छ । त्यो ट्रिटीमा पठाउँदाखेरि कुन-कुन कम्पनीले कुन-कुन रिइन्स्योरेन्स कम्पनीले कति-कति प्रतिशत ट्रिटीमा लिन्छ त्यो अनुसार पठाउने हो । फेरि उनीहरूले अर्को रिइन्स्योरेन्समा पठाउँछन् । रिइन्स्योरेन्सलाई अर्को रिइन्स्योरेन्समा जानुलाई रेट्रोसेसन भनिन्छ । रेट्रोसेसन गर्दा आफैँले राख्ने रिस्क भनेको चार–पाँच प्रतिशत मात्रै हुन्छ । अरू इन्टरनेसनल मार्केटमा अथवा स्वदेश कै रिइन्स्योरेन्स कम्पनीलाई बाँड्छन ।

कसरी गर्छैनन् बीमा कम्पनीले भुक्तानी ?

बीमीतले आफ्नो क्षति भएको जानकारीसहित माग दावी गर्छन् । उक्त दाबी अनुसार बीमा कम्पनीहरूले भुक्तानी गरेको सबै विवरण पुलमा बुझाउँछन् । सो दाबीलाई प्राथमिकताका आधारमा राखेर भुक्तानी दिन्छन् । जेनजी आन्दोलनको सन्दर्भमा सानो तथा व्यक्तिगत सम्पत्तिको क्षेतिलाई भुक्तानी दिने योजना बनाएका छन् । अहिलेको परिस्थितिमा प्रहरी कार्यालयसमेत जलेको हुनाले बीमा दाबीका लागि कम्पनीहरूले प्रहरी मुचुल्का समेत अनिवार्य नगरी दाबी आवेदन स्वीकार गर्ने तथा भुक्तानीको प्रक्रियालाई अघि बढाएका छन् । त्यसपछि मात्र ठूला तथा व्यावसायिक दाबी लिने र त्यसपछि भुक्तानी हुनेछ । अहिलेको अवस्थाले सर्वासाधारणले बीमालाई थप महत्त्व दिने बीमकहरूको बुझाइ छ ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?