+
+
Shares

अमेरिकामा टिकटकको छुट्टै संस्करण, आफू अनुकूल चलाउने ट्रम्पको योजना

बाइटडान्सले अमेरिकी संस्करणको स्वामित्व बेचिहाले पनि बाँकी देशमा चल्ने ग्लोबल संस्करणको स्वामित्व भने उसैसँग रहनेछ । अमेरिकी प्रशासनले टिकटकको अमेरिकी प्रयोगकर्ता, सर्वर तथा सञ्चालनसम्बन्धी सम्पत्ति अमेरिकी लगानीकर्ताले स्वामित्व लिनुपर्ने अडान राखेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १४:२४

१० असोज, काठमाडौं । अमेरिकामा सामाजिक सञ्जाल टिकटकको स्वामित्व स्थानीय कम्पनीले खरिद गर्ने भएको छ ।

अमेरिकामा चल्ने टिकटकको स्वामित्व खरिद गर्न अनुमति दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन् ।

चीनको स्वामित्वमा रहेको टिकटकको अमेरिकी कारोबार त्यहीँको स्थानी कम्पनी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई बेच्ने निर्णयलाई कार्यान्वयन गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेका समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

ट्रम्पले चिनियाँ स्वामित्वको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको बताउँदै बन्द गर्ने चेतावनी दिँदै आएका थिए ।

पछिल्लो कदमले सन् २०२४ मा बनेको कानुनअनुसार तोकिएका राष्ट्रिय सुरक्षा आवश्यकताहरू पूरा गर्ने ट्रम्पको दाबी छ ।

बाइटडान्सले अमेरिकी संस्करणको स्वामित्व बेचिहाले पनि बाँकी देशमा चल्ने ग्लोबल संस्करणको स्वामित्व भने उसैसँग रहनेछ ।

अमेरिकी प्रशासनले टिकटकको अमेरिकी प्रयोगकर्ता, सर्वर तथा सञ्चालनसम्बन्धी सम्पत्ति अमेरिकी लगानीकर्ताले स्वामित्व लिनुपर्ने अडान राखेको हो ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न कम्पनीको मूल्य करिब १४ अर्ब डलर तोकिएको छ ।

जुन विश्लेषकहरूले अनुमान गरेको भन्दा निकै कम हो । हाल टिकटकको माउ कम्पनी बाइटडान्सले भने कम्पनीको मूल्य ३३० अर्ब डलरभन्दा बढी रहेको दाबी गर्दै आएको छ ।

यद्यपि ट्रम्पले बिहीबार सो कानुनको कार्यान्वयन जनवरी २० सम्म स्थगित गरेका छन् । अब पनि बाइटडान्सले टिकटकको अमेरिकी संस्करण नबेचेमा प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी छ ।

यसबीच टिकटकको अमेरिकी सम्पत्ति विश्वव्यापी प्लाटफर्मबाट अलग गर्ने, अमेरिकी तथा अन्य लगानीकर्तालाई भेला गर्ने र चिनियाँ सरकारको स्वीकृति लिने प्रयास भइरहेको छ । बिहीबार ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले टिकटकको अमेरिकी स्वामित्व बेच्न अनुमति दिएका दाबी गरेका थिए ।

तर, अमेरिकास्थित चिनियाँ दूतावासले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

आदेशअनुसार टिकटकको सिफारिस प्रणाली (एल्गोरिदम) अमेरिकी कम्पनीको नियन्त्रणमा हुनेछ । अमेरिकी संस्करणको टिकटक एपको एल्गोरिदमलाई पुन: तालिम दिइने र अमेरिकी सुरक्षा साझेदारले यसको निगरानी गर्ने समाचारमा उल्लेख छ ।

अमेरिकामा करिब १७० मिलियन टिकटक प्रयोगकर्ता छन् । ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा आफ्नो जितको श्रेय टिकटकलाई दिएका छन् ।

टिकटकमा ट्रम्पको व्यक्तिगत अकाउन्टमा डेढ करोड फलोवर्स छन् । हालै ह्वाइट हाउसले पनि टिकटकमा आफ्नो आधिकारिक अकाउन्ट खोलेको छ ।

टिकटकको अमेरिकी संस्करण खरिद गर्न डेल टेक्नोलोजीका संस्थापक माइकल डेल, सञ्चार व्यवसायी रूपर्ट मर्डोकसहित केही ठूला लगानीकर्ताको सहभागिता रहने जनाइएको छ ।

ओरेकल र सिल्भर लेक पार्टनर्सलगायतका अमेरिकी लगानीकर्ताले करिब ५० प्रतिशत हिस्सेदारी पाउनेछन् भने बाइटडान्सका हालका लगानीकर्ताले ३० प्रतिशतसम्म स्वामित्व पाउनेछन् । अमेरिका चल्ने टिकटकमा बाइटडान्सको हिस्सा भने २० प्रतिशतभन्दा कम हुने बताइएको छ ।

यद्यपि सम्झौताको विस्तृत विवरा अझै सार्वजनिक भइसकेको छैन । टिकटकको प्रमुख सम्पत्ति मानिने एल्गोरिदममा अझै बाइटडान्सकै प्रभाव रहने सक्नेमा अमेरिकी अधिकारीहरूको आशंका छ ।

चिनियाँ सञ्चारमाध्यमले बाइटडान्सले टिकटक अमेरिकी कारोबार पुन:संरचना गर्दै नयाँ कम्पनी स्थापना गर्ने र ई–कमर्स, ब्रान्डिङ तथा अन्तर्राष्ट्रिय कारोबारसँगको समन्वय गर्ने जिम्मेवारी पाउने दाबी गरेका छन् ।

यसबीच अमेरिकी रिपब्लिकन सांसदहरूले सम्झौताबारे प्रष्ट पार्न माग गरेका छन् । टिकटकसँगको नयाँ खरिद सम्झौताअनुसार चीनसँगको सम्बन्ध पूर्ण रूपमा तोडिएको सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

सम्झौताअनुसार नयाँ बोर्डमा सात सदस्य रहनेछन्, जसमा छ जना अमेरिकी र एक जना बाइटडान्सको प्रतिनिधि हुनेछन् ।

सन् २०२४ को कानुनअनुसार, यदि बाइटडान्सले अमेरिकी सम्पत्ति बिक्री नगरेमा जनवरी २०२५ सम्म टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लाग्नेछ । आफू अनुकूल चलाउ अमेरिकी प्रशासनले नयाँ सम्झौतामा माउ कम्पनी बाइटडान्सको भूमिकालाई सीमित पार्न खोजेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?